पश्चिमी सीमा नाकाबाट छ जना महिलाको उद्धार
असारमामात्रै ४६ जना बालबालिका तथा महिला बेचिनबाट राेकिए
महिला खबर
कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीबाट भारततर्फ जाँदै गरेका छ जना महिलाको शनिवार उद्धार गरिएको छ । माइती नेपाल कञ्चनपुर र प्रहरीको संयुक्त प्रयासमा सीमा नाका हुँदै भारततर्फ जान लागेका युवतीको उद्धार गरिएको हो ।
उनीहरूलाई नयाँदिल्ली पुर्याइदिने भन्दै युवतीसँगै जाँदै गरेका ५० वर्षीय माईबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
भारत हुँदै कुवेत र इराक जाने भन्दै हिँडेका धादिङका तीन, म्याग्दीका दुई र काठमाडौँका एक गरी छ जना महिलाको उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो । भारतीय नम्बरको जिपमा भारत जाँदै गरेका बेला जोखिममा पर्न सक्ने भन्दै उनीहरूलाई तत्काल उद्धार गरिएको उहाँले बताउनुभयो । उद्धार गरिएका महिला २० देखि ३० वर्ष उमेरका छन् । उनीहरू माइती नेपालको संरक्षणमा छन् ।
उनीहरूबाट काठमाडौँमा रहेका दलालले ७५ देखि ८० हजार रुपैयाँ लिएको उद्धार गरिएका महिलाले बताएका छन् । असार महिनामा मात्रै माइती नेपाल कञ्चनपुरले ४६ जना बालबालिका तथा युवतीको उद्धार गरेको जनाएको छ ।
Comment Here!