नुनुता राई
ललितपुर । ‘केटाहरू म रोयल इन्फिल्डमा स्टण्ट (बाइक कलात्मक तरिकाले गुडाउने खेल) गर्छु भन्दा नपत्याएर हाँस्छन् ।’ इन्दिरा गुरुङ अहिले बाईक स्टण्ट सिकिरहेकी छिन् । उनले स्टण्ट सिक्छु भन्दा स्कुटरमा सिक्न भनेपनि उनी मानिनन् ।
त्यसपछि बाइकमा सिकाउन थालिएको हो । उनी भन्छिन् ‘स्टण्ट सिक्छु भन्ने वित्तिकै केटाहरूलाई बाइकबाट नै सिकाइन्छ, तर केटीलाई चै स्कुटर दिन्छन् ।’ त्यसो त इन्दिराले मोटर साईकल चलाउन थालेको ११ वर्ष भएको छ । उनमा बाईक स्टण्ट गर्ने आत्मविश्वास छ । कलात्मक तरिकाले स्टण्ट गर्न गाह्रो भएकाले सिकिरहेको र केही महिनापछि निपूर्ण हुने उनले बताइन् ।
सामान्यतया महिलाले मोटरसाईकल चलाउन सक्दैनन् भन्ने धारणा आम पुरुषमा छ । यस्तो सोचलाई चूनौति दिन उनले रोयल इन्फिल्ड मोटरसाइकल चलाउन थालेकी हुन् । उनलाई धेरै पटक पुरुष बाईकरले र काठमाडौंमा माइक्रोबस चालकले केटी भनेर पेलेर ओभरटेक गरेका छन् । सकेसम्म उनी आफूलाई ओभरटेक गरेर जान दिन्नन् । तर ट्राफिक उल्लंघन हुने अवस्था आउँदा भने छोडिदिन्छिन् । भनिन् ‘केटी भन्ने थाहा पाएपछि हेपेर पेल्न खोजिहाल्छन्, कत्तिले अझ अगाडी जान नदिन अगाडी गएर स्लो गरेर छेक्न खोज्छन् ।’
सानैदेखि अरुभन्दा फरक हुने इच्छा लागेकोले उनी यस क्षेत्रमा आइपुगिन् । भनिन् ‘केटी मान्छे कमजोर हुन्छ, केटा जस्तो कहाँ हुन्छ, भन्ने केटा देखेर रिस उठ्थ्यो, त्यही भएर स्कुटर चलाउन मन लागेन ।’ नर्सिङ पास गरेपछि आमाले स्कुटर किनिदिने कुरा गरेपछि उनलाई बाइक कुदाउन मन लाग्यो । तर बाइक किन्न पैसा नपुगेपछि आमाले चुरा धरौटी राखेर बाईक किनिदिएकी हुन् ।
उनले ब्याचलर अफ नर्स पास गरेकी छन् । भनिन् ‘पढेको कुरा खेर जाँदैन भनेर प्रमाणपत्र राखेर फरक रुचीतिर लागेकी छु ।’ उनले स्टाफ नर्स भएर धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा साढे दुईवर्ष काम गरिन् । त्यसपछि उनी नर्सिङ विषयमा स्नातक गर्न काठमाडांै आएकी थिइन् । पढेर सकेपछि उनको मन गीत संगीततिर लाग्यो । उनका ३ वटा गीत बजारमा आइसकेको छ । अहिले उनी पद्मकन्या क्याम्पसमा गृहविज्ञानबाट स्नातकोत्तर गर्दैछिन् ।
धरै महिला आफ्नो रहर मारेर परिवारकै खुशीमा सर्मपित हुन्छन् । अहिले यो सोच परिवर्तन भएर धेरै महिला आफ्नो रुचीलाई प्राथमिकता दिन थालेका छन् । तिनै मध्येकी एक हुन् इन्दिरा । आफ्ना रहर सम्झौतामा बदल्न गरेको कारण महिलापछि परेको उनको ठहर छ । भनिन् ‘हामी महिलाले सँधै घर धन्दा सम्हाल्नु पर्ने अनि आफ्नो रुची मारेर पुरुष भन्दा कमजोर छु भनेर किन बस्ने ?’ पुरुषवादी सोचले महिलाको मस्तिष्कमा पनि म कमजोर छु भन्ने भ्रम छरेको उनको अनुभव छ । महिलालाई आत्मबल बढाउनको लागि परिवारको मुख्य भूमिका रहने उनी बताउँछिन् । भन्छिन् ‘परिवारले आफ्नो छोरीको दक्षता र रुचीमा विश्वास गरेमात्र पनि पुग्छ ।’ उनको हरेक उद्देश्य र रुचीमा परिवारले साथ दिएको छ । ‘परिवारले साथ दियो भने हिम्मत र शक्ति आउछ ।’ युनिफाइड राईडर्सकी टिम म्यानेजर मेरिना श्रेष्ठ पनि इन्दिराको भनाईमा सहमत छिन्् । भन्छिन् ‘महिला अगाडी आउँदैनन् भन्छन् मान्छेहरू, फेरि तिनैले आफ्ना छोरीलाई घर बाहिर निस्कन रोक लगाउँछन् ।’
श्रेष्ठका अनुसार महिला अगाडी आउन परिवार र समाजले आवश्यक स्वतन्त्रता दिनुपर्छ । महिला भावानात्मक हुने हुँदा आफ्नो परिवारविरुद्घ गएर केहीले मात्र आफ्नो रुची अथवा चाहाना पुरा गर्छन् । बाँकी रहर मारेर बस्छन् । मेरिनाको अनुभवमा अहिले धेरैमहिलाले परिवारको साथ पाएर पुरुषलाई चूनौति दिन सक्ने जोखिमपूर्ण क्षेत्रमा पनि संलग्न हुने गरेका छन् ।
बाईक स्टण्ट जोखिमपूर्ण र पुरुषलाई चूनौति दिन सक्ने खेल हो । उनी भन्छिन् ‘धेरै पुरुष समेत बाइक स्टन्ट गर्ने हिम्मत गर्दैनन्, तर अहिले महिलाको बढ्दो क्रेज छ, यो त सकारात्मक परिवर्तन हो नि !’
उनको संस्थामा पहिला बाइक स्टन्ट सिक्न आउने महिला धेरै जसो परिवारको आँखा छलेर आउने गर्थे । तर अहिले परिवारका सदस्यसँगै आउ“छन् । बद्लिँदो समय र परिस्थितिसँगै समाज र मान्छेको सोचमा परिवर्तन आईरहेको गुरुङ र श्रेष्ठको अनुभव छ । उनीहरू भन्छन् ‘महिलाका लागि परिवार शक्ति र उत्साह हो ।, हरेक काममा परिवारको सकारात्मक साथ र सहयोग अनिवार्य छ ।’
Comment Here!