बिदुर आचार्य
सिन्धुपाल्चोक । लोकतन्त्र, मानव अधिकार र हिंसा न्यूनिकरण गर्दै समतामुलक समाज निर्माणकालागि जिल्लामा प्रहरी मेरो साथी अभियान सञ्चालन भएको छ । जिल्ला सदरमुकाम चौतारामा एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी गोकर्णमणी दुवाडीले अभियानको सुरुवात गर्नुभयो ।
अभियानको औचित्य प्रष्ट पार्दै प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र के.सीले प्रहरीको रणनैतिक योजना अनुरुप निरपेक्ष भएर नागरिकको सेवा, अपराध तथा विभिन्न हिंसालाई निर्मुल पार्न अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । समतामुलक राष्ट्र निर्माणमा यो अभियान प्रहरीको पहिचान वन्न सफल हुने भन्दै उपरिक्षक केसीले हिंसा र अन्यायमा परेका नागरिकको प्रहरी समक्ष सहज पहुँच वढ्ने हुनाले न्यायिक पहुँच र आपराधिक मानसिकता समेत कमी ल्याउने र सभ्य समाज निर्माण गर्ने अभिप्राय रहेको जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी दुवाडीले प्रहरीलाई साथीको नजरले हेर्न अनुरोध गर्नुभयो । ‘प्रहरीलाई कस्तो वनाउने भन्ने दायित्व नागरिक कै हो,’ प्रजिअ दुवाडीले भन्नुभयो, ‘प्रहरी हाम्रै घर, टोल, छिमेकका नागरिक हुन्, प्रहरीलाई टाढाको नसम्झौँ ।’
Comment Here!