प्रकाश सिंह

काठमाडौं बस्ने बसुधा गुरुङले दिएको १० हजार रुपैयाँ बाह्रबिस स्वास्थ्य चौकीकी अनमी लक्ष्मी गिरीले विनिताका श्रीमान समिरलाई हस्तान्तरण गर्दै ।
बाजुरा । बाह्रबिस गाविस आन्द्रा बाहिर भएको जिवित बच्चा जन्माएकी बाह्रबिस ९ सिमलकोट बस्ने २४ वर्षीया विनिता सुनारको उपचारका लागि एक समाजसेवी महिलाले आर्थिक सहयोग गरेकी छन् ।
बाह्रबिस स्वास्थ्य चौकीले आमा र बच्चालाई थप उपचारका लागि अछामको बयलपाटा रिफर गरेपनि पैसा नभएर घरमा राखेको समाचार महिला खबर डट कममा प्रकाशित भएपछि कास्की भदौर घर भइ हाल काठमाडाैं बस्दै आएकी समाजसेवी बसुधा गुरुङ्गले १० हजार रुपैयाँ सहयोग गरेकी हुन् । आर्थिक अभावमा उपचार नभएको खबर पाएपछि आफ्नो सानो सहयोगबाट पनि महिलालाई सहयोग होला भन्ने उद्देश्यले पेसा दिएको गुरुङ्गले बताइन् ।
सोमवार बिहान बाह्रबिस स्वास्थ्य चौकीमा अनमीको सहयोगमा विनिताले छोरी जन्माएकी थिईन् । छोरीको भने ९ घण्टापछि मृत्यु भइसकेको श्रीमान समिर सुनारले वताएका छन् । विनितालाई रगतको अभाव देखिएको थियो । स्वास्थ्य चौकीबाट रिफर गर्यौं, तर पैसा नभएका कारण उनका श्रीमानले उनलाई घर लिएर गएको अनमी लक्ष्मी गिरीले वताइन् । काठमाडौंबाट समाजसेवी महिलाले पैसा दिएपछि एम्बुलेन्सको जोहो गरी बयलपाटा उपचारका लागि मंगलवार बिहान लगिएको गिरीले जानकारी दिइन् ।
छोरी त मरी हाली श्रीमतीलाई पनि उपचारको लागि अन्यत्र लैजान पैसा थिएन्, १० हजार रुपैयाँ सहयोगले आफूलाई ठुलो राहत भएको श्रीमान समिर सुनारले वताए । घरमा छाक टार्न समस्या भएको समिरको परिवारलाई उपचारको लागि सहयोगबाट ठुलो राहत भएको बाह्रबिस स्वास्थ्य चौकीका अहेब सतिस नेपालीले वताए । विपनालाई उपचारका लागि आर्थिक सहयोग गर्ने बसुधा गुरुङ महिला अधिकार, मानव अधिकार, खाद्य अधिकार, शुसासनलगायतका सवालमा काम गर्दै आएकी छन् ।

पैसा पाएपछि बयलपाटा अस्पतालको इर्मेजन्सी कक्षमा विनिताको उपचार गर्दै स्वास्थ्यकर्मी ।
पैसा पाएपछि विनिताको बयलपाटा अस्पतालको इर्मेजेन्सी कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ । बच्चाको उपचार भने काठमाडौं बाहेक अन्त सम्भब नहुने स्वास्थ्यकर्मीले वताईसकेका थिए । समाचार प्रकाशित भएपछि जिल्ला स्वास्थ्य कार्यालय बाजुराले पनि ५ हजार रुपैयाँ दिने बताएको थियो ।
आर्थिक अभावले विकटका महिलाले अकालमै ज्यान गुमाउँदै आएका छन् । एक साता अघिमात्र पैसा नभएर बाधु गाबिस एक गर्भवती महिलाको मृत्यु भएको थियो ।
दुर्गमका गर्भवती तथा सुत्केरी महिला भौगोलिक विकटता आर्थिक अभावले पीडा सहँदै र अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहँदै आएको छ । दुर्गममा नियमित गर्भजाँच गर्ने महिलाको संख्या समेत न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
थप समाचार…
Comment Here!