‘मेरो बच्चा बाबुविना हुर्किने छ । ठुलो भएपछि उसले म कहाँबाट आएँ भन्ने कुरा खोज्ने छ । यहि कारण म डराएकी छु । मैले उसका सवै प्रश्नको जवाफ दिनुपर्नेछ । म उसलाई इमान्दारीपुर्वक भन्ने छु तिमी जहाँबाट आएपनि खुसी र सुखी छौ ।’
दुर्गा कार्की
ललितपुर । उनी एक्ली थिइन्, तर आमा बन्न चाहन्थिन् । नेपालस्थित नर्वेजियन दुतावासकी प्रथम सचिव डाक्टर एलिन ग्रे जेन्सन त्यही चाहना बोकेर थुप्रै क्लिनिक चाहरिन् । प्लम्बर बाबु र नर्स आमाकी छोरी एलिनको यो सपना नेपालमा आएपछि पुरा भएको छ । उनी अहिले सात महिना की गर्भवती छन् । उनले नेपालको एउटा क्लिनिकमा वीर्य किनिन् र सिरिञ्जबाट पाठेघरमा पठाएर उनी गर्भवती भएकी हुन् ।
बेलायतबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेकी उनी यसअघि युगाण्डाका लागि नेर्वेली दुतावासमा काम गर्थिन् । त्यतिखेर गर्भधारण गर्न डेनमार्क आइन् । उनी भन्छिन् ‘क्लिनिकमा वीर्य किनेर मैले डेनमार्कमा गर्भधारण गर्ने प्रयास गरें, नर्वेमा क्लिनिकमा वीर्य किनेर बच्चा जन्माउन एकल महिलालाई अनुमति छैन । डेनमार्कमा भने यस्ता क्लिनिक धेरै छन् । त्यसैले म घर विदामा गएका बेला नर्वेकै छिमेकी देश डेनमार्कमा दुई पटक गएर क्लिनिकमा गर्भधारण गर्ने कोशीस गरेँ ।’ तर यी दुइवटै प्रयास सफल भएनन् ।
क्लिनिकमा गर्भधान गर्ने दुई तरिका हुन्छ । एउटा वीर्यलाई सिरिन्जमार्फत पाठेघरमा पठाउने र अर्को आइभीएफ (इनभिट्रो फर्टिलाइजेसन) । आफ्नो उमेरको कारणले हो कि आफू पहिलो पटक सफल नभएको उनले बताइन् । अहिले उनी ४२ वर्षकी भइन् । ‘अनि दोस्रो पटक पनि प्रयास गरें, निकै लामो उपचार भयो । यो निकै गाह्रो थियो । तर पनि मेरो गर्भ रहन सकेन’ उनी भन्छिन् ।
यसपछि उनी सरुवा भएर नेपालका लागि नर्वेजियन दुतावासमा काम गर्न आइन् । ‘भाग्यवश यहाँ पनि त्यस्तो क्लिनिक रहेछ । यहाँ यस्तो सेवा पनि दिईंदो रहेछ । म यहाँ आएको थोरै समयपछि नै मैले फेरी गर्भधानको प्रयास गरें । यो अन्तिम भनेर मैले यसको प्रक्रिया थालें । किनभने मेरो उमेर पनि धेरै भयो’ उनले भनिन् ।
उनी गर्भधान गर्ने यो प्रक्रियाबाट थाकेकी थिइन् । गर्भधान प्रक्रियाका लागि हुने उपचार निकै गाह्रो थियो । त्यसैले उनले अन्तिम पटक फेरी आमा बन्ने प्रयास गरिन् । भएन भने पनि अरु कुनै उपाय अपनाउने उनको योजना थियो । उनी नेपालको क्लिनिकमा गर्भधारण गर्न सफल भइन् । निकै खुशी छन् । भनिन् ‘म निकै उत्साहित छु, छिट्टै आमा बन्दै छु ।’
नर्वेमा आफ्ना थुप्रै साथीले यस्तो प्रयास गरेको तर केहीमात्र सफल भएको उनले बताइन् । ‘आमा बन्नका लागि मानसिक, शारिरीकरुपमा स्वस्थ हुनुपर्छ । भावनात्मक रुपमा खुशी हुनुसक्ने ठाउँ हुनुपर्छ । म नेपाल आएँ । यी सवैथोक नेपालमा प्राप्त भयो र म आमा बन्न सफल भएँ । त्यसैले म आफूलाई धेरै भाग्यमानी ठानीरहेकी छु’ एलिन भन्छिन् ।
यो प्रक्रिया नेपालमा निकै महगों लाग्यो उनलाई । ‘मैले आफ्नो बच्चा आफूजस्तै देखियोस भनेर युरोपीयन नागरिककै वीर्य ल्याउन भनें । यसले पनि मलाई महंगो पर्न गयो’ उनले भनिन् । सवै प्रक्रिया, उपचारलगायत गरेर आठ हजार डलर (आठ लाख रुपैयाँ) खर्च गरेको उनी बताउँछिन् ।
‘मलाइ एकल आमा बन्न रहर होइन’ गम्भीर हुँदै उनले भनिन्, ‘मलाईपनि मेरो बच्चाको बाबु भइदिओस भन्ने नै चाहना थियो, तर मेरो परिस्थिति त्यस्तो थिएन ।’ बेलायतमा पढ्दै गर्दा एलिनले आफैसँग पढ्ने एकजना वेलायती नागरिकसँग विहे गरेकी थिइन् । तर त्यो सम्बन्ध राम्रो नभएर सात वर्षपछि सम्बन्ध विच्छेद गरिन् ।
‘मेरो श्रीमान छैन र केटा साथी पनि छैन । तर मेरो उमेर जान लागसिकेको थियो त्यसैले यस्तो निर्णय गरें’ उनले भनिन् ।
उनी यो प्रक्रियाबाट पनि आफ्नो बच्चा हुन्छ भन्नेमा ढुक्क थिइनन् । भन्छिन् ‘बच्चाविना पनि जिन्दगी निकै रमाइलो छ, म स्वत्रन्त्र थिएँ, म जे चाहन्छु त्यो गर्न पाउँछु, जहाँ जान चाहन्छु जान सक्छु । आर्थिक रुपमा पनि म सक्षम छु त्यसैले धेरै रमाइलो थियो, तर व्यक्तिगत रुपमा मैले केही गुमाएजस्तो लागिरहेको थियो ।’
त्यसैले परिवार भैदिए हुन्थ्यो भन्ने उनको चाहना भयो । ‘कोही माया गर्ने मान्छे भैदियोस, आफूलाई वास्ता गर्ने कोही होस, आफूपनि कसैका लागि छु भन्ने अनुभव होस, यत्तिका लागि मैले आमा हुने निर्णय गरेकी हुँ’ एलिनले भनिन् ।
आफ्नो कोही हुनु अत्यन्तै रमाइलो हुन्छ । उनका विचारमा साथी, परिवार होलान्, तर आफ्नो हुनुजस्तो हुँदैन । कोही होस जसलाई केही दिन सकुँ, यो नै मुख्य कुरा हो । ‘कसैलाई माया दिन सकियो, कोही आफ्नो होस, परिवार होस यही कारण हो मेरो आमा बन्ने चाहना’ उनले थपिन् ।
एकल आमा बनेकोमा उनलाई केही समस्या छैन । नेपालमा जस्तो समस्या नर्वेमा हुनेछैन् । उनको बुझाइमा नेपालमा महिलालाई सम्मान दिईंदैन । तीन वर्षको अफ्रिकी मुलुक युगाण्डा बस्दा उनले के बुझिन् भने त्यहाँका महिलाले जति पनि नेपाली महिलाले सम्मान पाउन सकेका छैनन् । उनी भन्छिन् ‘युगाण्डामा एकल महिला, विधवा महिला र सम्बन्धविच्छेद भएका महिलालाई नेपालमा जस्तो अपहेलित गरिँदैन ।’ नर्वेको त कुरै छाडौं उनले भनिन् ‘मेरो परिवारले मेरो निर्णयमा मलाई पुर्ण सहयोग गरेको छ, मेरा साथीहरूले पनि, मेरा केही साथीले त म जस्तै आमा बन्ने चाहना गरेको छन् । त्यसैले म एक्ली छैन ।’
बच्चाको पालनपोषण र उसको उज्वल भविष्यका लागि आर्थिक रुपमा बलियो हुनुपर्छ भन्ने उनले बुझेकी छन् । यसमा पनि उनको आत्मविश्वास छ । ‘त्यसैले कसैले यस्तो गरेको मन नपराए पनि यो मेरो समस्या हैन । म ढुक्क छु यसलाई मैले व्यवस्थापन गर्न सक्छु । यो चूनौतिवाट म डराएकी छैन’ उनी निर्धक्क भन्छिन् ।
बच्चा जन्मेपछिको अवस्थाबाट भने उनी डराएकी छन् । त्यसपछि उनको जिवन ९० डिग्रीबाट १६० डिग्रीमा परिवर्तन हुने छ । ‘खुशी एकातिर छ, सँगसँगै चिन्ता’ उनले भनिन् ‘त्यसपछि मेरो आफ्नो लागि समय हुने छैन, किनकी मेरो श्रीमान छैन, मरो बच्चाको प्रत्येक दिन,सप्ताहन्त पुरै मेरो मात्र जिम्मेवारी हुने छ । यो सम्झँदा चैं अत्यास लाग्छ ।’
आफू क्लिनिकमा गर्भधारण गरेर आमा हुने निर्णय गरेपछि उनले सवै भन्दा पहिला आफ्ना बुवालाई फोन गरेको सुनाइन् । भनिन् ‘उहाँको पहिलो प्रश्न थियो, यो निकै महंगो छैन ? अनि मैले भनें— हो महंगो छ, तर म तिर्न तयार छु ।’ यसपछि उहाँले खुशी हुँदै ठिक छ भन्नुभयो । ‘मेरो बुवा निकै उत्साहित हुनुहुन्छ, त्यो भन्दा बढी मेरी आमा, उहाँले म गर्भवती भएदेखि नै मेरो बच्चाका लागि लुगा बुन्न सुरु गर्नु भएको छ’ एलिनले भनिन् । ‘मेरा वुवाआमा मैले विवाह गर्नुभन्दा बच्चा जन्माउन गरेको निर्णयबाट धेरै खुशी हुनुहुन्छ’ एलिनले थपिन् ।
एलिनले आफ्नो निर्णय साथीलाई पनि सुनाइन् । जुन साथीले निकै कठिनाइपुर्वक श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । उनीहरूका बच्चा पनि छन् । ती साथीले विवाह गरेर बच्चा जन्माउँन भन्दा यो निर्णय निकै राम्रो भएको प्रतिक्रिया दिएकी थिइन् ।कोही पनि उनको निर्णयप्रति नकारात्मक छैनन् । यसले उनी उत्साहित र आफू धेरै भाग्यमानी भएको ठानेकी छन् । भन्छिन् ‘मेरो वुवाआमा धेरै खुशी छन्, यसले मेरो जीवनमा धेरै अर्थ राख्छ, किनभने मेरा आफ्नाहरूको सहयोगविना यो निकै कठिन छ ।’
नर्वेमा नेपालमा जस्तो एकल आमालाई समस्या छैन । आर्थिक रुपमा धेरै सहयोगी नीति छन् । एकल वा जुनसुकै आमा भए पनि सुत्केरी हुँदा धेरै नै विदाको सुविधा छ । एक वर्षको सुत्केरी विदा लिए उनले पाउँदै आएको तलवको ८० प्रतिशत दिन्छ भने १० महिना लिए सवै सुविधा र तलव पाइन्छ । नर्वेमा बाबुलाई पनि १० हप्ता सुत्केरी विदा दिइन्छ । एलिन एकल आमा भएकाले बाबुले पाउने विदासमेत उनकोमा गाभिन्छ । त्यसैले उनी सुत्केरी हुँदा एकवर्ष १५ दिन बिदा पाउँछिन् । यो बाहेक उनी एकल आमा भएकै कारण बच्चा जन्मिसकेपछि पनि अन्य थप आर्थिक सहयोग पनि उनले पाउँछिन् । जहाँ काम गरेपनि कार्यालयले बच्चालाई दुध खुवाउन दिनमा एक घण्टा जान दिनुपर्ने कानुनी व्यवस्था छ ।
नर्वेमा नागरिकतामा विभेद छैन । बच्चाले आमाको नामबाट नागरिकता पाउने व्यवस्था छ । नामको पछाडी बाबुको जात राख्ने की आमाको त्यो बच्चाले छान्न पाउँछ । तर, नर्वेमा एकल आमाले अरुको बच्चा पाल्छु भनेर लिन चाहिँ पाउँदैन ।
अहिले एउटा चिन्ताले मात्र उनलाई खाएको छ । बच्चाले ठुलो भएर आफ्नो बाबुका बारेमा सोध्यो भने के जवाफ दिने ?
‘तिमीलाई यसरी जन्माएँ भनेर आफ्नो निर्णयका बारेमा बच्चालाई कसरी भन्ने ? मैले यसको उत्तर अहिलेसम्म पाएकी छैन । मसँग अझै केही वर्ष छ यसको उत्तर खोज्न, तर मैले निकै सावधानी हुनुपर्छ यसका लागि ।’
उनी अगाडी भन्छिन् ‘मेरो बच्चा बाबुविना हुर्किने छ, जव ठुलो हुन्छ उसले बाबु खोज्ने छ । ठुलो भएपछि उसले म कहाँबाट आएँ भन्ने कुरा खोज्ने छ ।
यहि कारण म डराएकी छु । मैले उसको सवै प्रश्नको जवाफ दिनुपर्नेछ । म दिन्छु ।
उसलाई इमान्दारीपुर्वक भन्ने छु कि तिमी जहाँबाट आएपनि खुसी र सुखी छौ ।’
‘मैले तिम्रो बाबु मरेको हो भनेर उसलाइ कदापी ढाँट्ने छैन’ गम्भीर हुँदै एलिनले भनिन्, भन्नेछु, तिमी धेरै भाग्यमानी हौ कि तिमीलाई नेपालको अस्पतालमा मैले मेरो गर्भमा ल्याएँ ।’
यी सवै कुरा कसरी लिन्छ यो बच्चामा पनि निर्धारित हुने उनको भनाइ छ । ‘जवाफका लागि म सँग ३ वर्ष छ, आशा छ मैले धेरै राम्रो उत्तर पाउने छु र उसलाई सहयोग गर्नेछु’ उनले भनिन् ।
नर्वेमा धेरै महिला एकल छन् । पुरुष पनि एकल छन् । समलिङ्गीहरू सम्बन्धमा छन्, त्यहाँ परम्परागत परिवार पनि छ । त्यहाँ धेरै विकल्पहरू छन् ।
त्यसैले उनी आफ्नो बच्चाले यी सवै कुरा बुझ्नेमा भने ढुक्क छिन् । भन्छिन् ‘यो यात्रामा म उसलाई गर्व गर्न लायक बनाउने छु’ उनको व्यक्तिगत कुरा गरिरहँदा उनले आफ्नो देशमा महिलाको अवस्था र अधिकारको कुरा पनि जोडिन् । नर्वेमा पनि महिलामाथि विभेद भइरहेको कुरा उप्काइन् । ‘हामी जव महिला अधिकारका कुरा गरिरहेका छौं भने महिला पुरुष बराबरी हुनुपर्छ, तर नर्वेमा पनि यो छैन, हामी सवै कुरामा धेरै अघि आइसकेको छौं, तर पनि विभेद कायमै छन्’ उनले भनिन् ।
उनका अनुसार नर्वेमा पनि समान ज्यालामा महिलालाई विभेद छ । महिलाले पुरुषले भन्दा २० प्रतिशत तलव कम पाउँछन् । उनले भनिन् ‘मैले मेरो पुरुष सहकर्मीको भन्दा २० प्रतिशत तलव कम पाइरहेकी छु ।’
तर नीजि क्षेत्रमा यस्तो विभेद निकै कम भएको उनले बताइन् । यसलाई उनले चूनौतिका रुपमा लिएकी छन् । ‘नर्वेमा पनि सरकारी उच्च ओहदामा महिला छैनन् । साथै महिला स्वयं पनि ती ओहदाका लागि आफूलाई अघि सार्दैनन् । किनकी महिलाले आफ्ना परिवारलाई समय दिनुपर्ने हुनाले त्यस्ता पदमा भन्दा महिलाले सजिलो काममा बढी रुचि राख्छन्’ उनले भनिन् ।
यति हुँदा पनि नर्वेलीहरू नेपालमा जस्तो सडकमा गएर आन्दोलन नगर्ने उनी बताउँछिन् । भन्छिन् ‘नेर्वेलीहरू खुशी छन्, हामीसँग आत्मविश्वास छ, लैंगिक सन्तुलन भएको समाज छ । थुप्रै सामाजिक सुरक्षाका लागि कार्यक्रम छन् ।’
Comment Here!