नुनुता राई
धादिङ । जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा जि.आइ.जेड. द्वारा निर्मित धादिङ मुरलीभञ्ज्याङ स्वास्थ्य चौकी मंगलबार एक कार्यक्रमका बिच धादिङका जिल्ला प्रमुख अधिकारी विश्व प्रकाश सुवेदीलाई हस्तान्तरण गरिएको छ ।
४५ लाख चौध हजार रुपैयाँमा बनेको उक्त भवनको साँचो जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोग प्रमुख ज्याकलिन ग्रोथले हस्तान्तरण गर्नु भएको थियो । स्थानीय जनताको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य चौकीको निर्माणलाई पहिलो प्राथमिकतामा राखेर भवन निर्माण गरिएको जानकारी दिँदै भन्नुभयो ‘हामीले यहाँको जनताको स्वास्थ्यलाई महत्व दिएर सहयोग गर्ने प्रयास गरेका छौं, यसलाई सम्हालेर प्रयोग गर्नुहोला ।’ गत बैशाख १२ को भूकम्पले धादिङ मुरलीभञ्ज्याङ स्वास्थ्य चौकी भत्किएपछि स्वास्थ्य सेवा पालमा दिँदै आएको थियो ।
प्रिफेव नव निर्मित मुरलीभञ्ज्याङ स्वास्थ्य चौकीमा ६ वटा अत्याधुनिक कोठाहरू रहेका छन् । भुकम्पप गर्भवतीको स्वास्थ्य जाँचमा समस्या परेको भन्दै नयाँ भवन निर्माणसँगै उनीहरूले विशेष राहत पाएको स्वास्थ्य चौकी प्रमुख कृष्ण पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘भूकम्पपछि पालमा गर्भ जाँच गर्न आउन गाह्रो मान्थे अब स्वास्थ्य चौकीको निर्माणसँगै समस्या समाधान भएको छ ।’
७ हजार ४ सय ७३ जना जम्मा जनसंख्या भएको उक्त गाविसमा महिलाको संख्या ४ हजार ६१ रहेको छ । ती मध्ये दुई सय १७ जना महिला गर्भवती रहेका छन् । धादिङका जिल्ला प्रमुख अधिकारी विश्व प्रकाश सुवेदी जर्मन सरकारप्रति आभार प्रकट गर्दै स्वास्थ्यचौकीलाई जिवित राख्न स्थानीय वासीको कर्तव्य रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘विदेशी सहयोग औषधी जस्तै हो ।, नियमित पोषण हामी आफैँ लिनुपर्छ । यसकोे अस्तित्व जोगाउनु हाम्रो जिम्मेवारी हो ।’
जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा जि.आइ.जेडले धादिङमा १६ वटा स्वास्थ्य चौकी निर्माण गरिरहेको पुनस्थापना कार्यक्रम नेपालका कार्यवाहक प्रमुख सन्तोष विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार मुरलीभञ्ज्याङपछि ढोला जाने कार्यक्रम बाटो खराबीको कारण जान नसेकेपछि ढोला स्वास्थ्यचौकीको साँचो पनि यही कार्यक्रममा हस्तान्तरण गरिएको बताउनुभयो ।
Comment Here!