सृजना अर्याल
चितवन । ‘मर्ने बेलामा भएपनि धेरै खुशीको दिन आयो जस्तो लाग्यो, खुशी लागेको छ , यी यो कार्ड छाता पाएँ ’मकवानपर कि ८५ वर्षीया तुलासा देवी पराजुलीले हातमा रहेको छाता र जेष्ठ नागरिक परिरचय पत्रको कार्ड देखाउँदै भनिन् । हँसिलो अनुहार, सेतो कपाल अनि गेरु रगंका चोलो सारी लगाएकी उनको विगत साह्रै कष्टकर थियो । ११ वर्षको उमेरमा विधवा भएकी उनी ९ वर्षदेखि देवघाटको रोटरी करुणालय वृद्धआश्रममा वस्दै आएकी छिन् । सोमवार ज्येष्ठ नागरिकलाई सम्मान गरौं भन्ने नारासहित चितवनका ८० वर्ष पार गरेका वृद्धवृद्धालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको थियो ।
सो कार्यक्रममा उनीसँगै ४३ जना ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक परिचयपत्र पाएका छन् । ज्येष्ठ नागरिक संघ चितवन र महिला तथा बालबालिका कार्यालय चितवनको संयुक्त आयोजनामा परिचयपत्र वितरण गरिएको थियो ।
परिचयपत्र पाएपछि खुशी साट्दै चितवन नगरपालिकाका ८३ वर्षीय मोतीलला ढकालले भने ‘परिचयपत्र बल्ल पाइयो, धेरै सजिलो हुन्छ अब, अस्पताल जाँदा ,गाडीमा चढ्दा छुट माग्न सजिलो हुने भयो ।’
जिल्ला विकास समिति चितवनले सहयोग गरेको कार्यक्रममा ९६ वर्ष उमेरका बखत बहादुर खड्कालाई परिचयपत्र वितरण गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि चितवनका स्थानीय विकास अधिकारी श्रवण कुमार पोखरेलले वृद्धवृद्धालाई जिल्ला विकास समिति चितवनले सहयोग गर्दै आएको र आगामी वर्षमा सहयोग दोब्बर गर्ने प्रतिवद्वता गरेका छन् । महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख शान्ता कुमारी पौडेलले वृद्धवृद्धालाई सबैले सम्मान गर्न आग्रह गरेकी छन् ।
नेपाल सरकारको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले परिचय पत्र वितरण गर्न सुरु गरेसँगै चितवनमा पनि वितरण कार्य सुरु भएको हो । चितवनबाट पहिलो चरणमा ३ सय जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिने जेष्ठ नागरिक संघ चितवनका उपाध्यक्ष धुव्रराज शर्मा अर्यालले जानकारी दिए ।
परिचय पत्रका आधारमा अस्पताल, यातयात सार्वजनिक निकायलगायतका क्षेत्रमा जेष्ठ नागरिकले सुविधा पाउन सक्ने अधिकारकर्मी विष्णु पाण्डेले बताइन्
Comment Here!