महिला खबर
पोखरा। पत्रकार तथा सञ्चारिका समूह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माद्वारा लिखित सशक्त आवाज पुस्तकको विमोचन गरिएको छ।
महिला सशक्तिकरण नेपाल तथा थ्री सिस्टर्स एड्भेन्चर टे्रकिङ प्रा.लि. ले आयोजना गरेको कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका प्रमुख लक्ष्मी जि.सी.ले विमोचन गर्नुभएको हो। पुस्तकमा विकट परिवेशमा संघर्षपूर्ण जीवनयापन गरिरहेका जो ज्ञान र सीपका माध्यमले सशक्त बनेका १० जना महिलाको आवाजलाई समावेश गरिएको छ।
पुस्तकको विमोचन गर्दै जि.सी.ले सशक्तिकरण भनेको चुनौति भएको जनाउँदै, जबसम्म चुनौतिहरुको सामना गर्न सक्दैन तबसम्म सशक्तिकरण सम्भव नहुने बताउनुभयो। जिसीले थ्री सिस्टर्स ति चुनौतिहरुको उदाहरण भएको बताउँदै, महिला सशक्तिकरणका लागि थ्री सिस्टर्सले चालेको कदम निरन्तर अगाडी बढिरहोस् भन्ने कामना गर्नुभएको थियो। संघर्ष गरेर आएका १० महिलाको जीवनी समेटेर पुस्तक लेखेकोमा जमुना वर्षा शर्माको कार्य प्रशंसनिय भएको बताउँदै उज्वल भविष्यको कामना गर्नुभयो।
कार्यक्रममा बोल्दै लेखिका शर्माले कष्टपूर्ण यात्रा गरेर आएका १० महिलाको पीडादायी अनुभव किताबमा उतार्दा आफू पनि समय समयमा भावुक बन्न पुगेको स्मरण गर्नुभयो। उहाँले छोटो समयमा सबैको जीवनी लगभग १ हजार शब्दमा समेट्नु सम्भव नभए पनि आफूले धेरै मिहिनेत र अध्ययन गरेर सबैको जीवनीलाई पुस्तकमा उर्तान प्रयास गरेको बताउनुभयो।
कार्यक्रममा जुलाई १६ तारिकदेखि २२ तारिखसम्म अमेरिकामा हुनलागेका नेतृत्व विकास सम्बन्धी अनुभव आदानप्रदान कार्यक्रममा सहभागी १० जना महिलालाई विदाई गरिएको थियो। उनीहरूलाई थ्री सिस्टर्स एड्भेन्चर टे्रकिङ प्रा.लि.का संस्थापक निर्देशक लक्की कार्की, महिला सशक्तिकरण नेपालका अध्यक्ष डिक्की कार्की र सञ्चारिका समूह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माले माला, खादा र टिका लगाएर विदाई गर्नुभएको थियो।
Comment Here!