महिला खबर
एजेन्सी। थेरेसा मे बेलायतको नयाँ प्रधानमन्त्री भएकी छन्। बेलायतको इतिहासमा आइरन लेडी भनेर चिनिने मार्गरेट थ्याचरपछि थेरेसा दोश्रो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् ।
निवर्तमान प्रधानमन्त्री डेभिड क्यामरुनले बकिङघम दरवारमा पुगेर महारानी एलिजाबेथ द्धितिय समक्ष राजीनामा दिएपछि मे प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । राजीनामा दिनुअघि क्यामरुनले एक समारोहबीच बुधवार साँझ थेरेसालाई शक्ति हस्तान्तरण गरेका हुन् । गत जुन २३ मा बेलायतमा सम्पन्न जनमत संग्रहले युरोपेली युनियनको सदस्यता त्याग्ने पक्षमा फैसला गरेपछि क्यामरुनले राजीनामा दिने घोषणा गरेका थिए। क्यामरुन २०१० मे महिनामा बेलायतको प्रधानमन्त्री बनेका थिए। यो उनको दोस्रो कार्यकाल हो ।
कन्जरभेटिभ पार्टीकै तर्फबाट अर्की नेता एन्ड्रिया लिडसमले प्रधानमन्त्रीबाट आफ्नो दाबी सोमबार फिर्ता गरेपछि थेरेसा मे सर्वसम्मत रुपमा प्रधानमन्त्री चुनिएकी हुन्। टेरेसा मे २०१० देखि गृहसचिव रहँदै आएकी छन् । युरोपेली युनियनमा रहने वा बाहिरिने विषयमा भएको जनमत संग्रहको प्रचार प्रसारबाट उनी टाढा रहिन्। उनीपनि बेलायत ईयुमै हुनपर्छ भन्ने पक्षमा रहँदै आएकी थिइन, तर उनले जनताले चाहे अनुरुप आफू अघि बढ्ने बाचा गरेकी छन् । बेलायतमा जनमत संग्रहको परिणाम अए लगत्तै बेलायतको पाउन्ड अमेरीकी डलर र यूरोको तुलनामा १५ प्रतिशतले झरेको थियो। त्यसैले अब मेले बेलायत ईयूबाट अलग्गिएपछि हुने प्रभावको सामना गर्नुपर्ने छ र यसका साथै कन्जरभेटिभ पार्टीमा आएको विभाजनलाई पनि समट्नुपर्ने छ।
दोस्रो मार्गरेट थ्याचरको उपमा पाएकी नवनियुक्त प्रधानमन्त्री थेरेसाले अक्सफोर्ड विश्वविद्यालयबाट ग्राज्युएसन गरेकी थिइन । ५९ वर्षीय थेरेसा प्रचारमा आउन नचाहने मध्येकी हुन् । सांसदहुनु अघि उनी बैंङ अफ इग्ल्यान्डमा काम गर्थिन्। थेरेसा सन् १९९७ मा पहिलो पटक कन्जरभेटिभ पार्टीका तर्फबाट सांसद बनेकी थिइन्।
प्रधानमन्त्री नियुक्त भए लगत्तै मेले बेलायतलाई अझ समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गर्दै सिमित वर्गका लागि मात्र नभई श्रमिकका लागि विशेष कार्यक्रम ल्याइने आश्वासन दिएकी छिन् । प्रधानमन्त्रीमा मे सुनिश्चित भएदेखि नै शेयर बजार र बेलायती मुद्राको बजार भाउमा सुधार आउन सुरु गरेको छ।
Comment Here!