सर्मिला बुढाथोकी
दोलखा । दोलखा जिल्लामा आत्महत्या गर्नेहरू मध्ये महिला भन्दा पुरुषको संख्या बढी रहेको जिल्ला प्रहरी कार्यालय तथ्याङ्कले देखाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको आत्महत्या न्युनिकरण कार्यक्रममा आर्थिक वर्ष २०७२/०७३ को तथ्याङ्क अनुुसार जिल्लामा ५३ जनाले आत्माहत्या गरेको प्रहरी नायव उपरिक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । जसमध्ये महिलाको संख्या २१ र पुरुषको संख्या २८ जना रहेको छ । जिल्लामा भूकम्पपछि विभिन्न कारणले आत्महत्याको संख्या बढेको बताइए पनि अध्ययनमा भूकम्पकै कारण आत्महत्या गरेको भने नपाईएको प्रहरी नायव उपरिक्षक पाण्डेको भनाई छ ।
अर्थिक बर्ष ०७०/०७१ मा ५३ जनाले आत्महत्या गरेकोमा आर्थिक वर्ष ०७१/०७२ मा यो संख्या ३८ रहेको थियो भने आर्थिक वर्ष ०७२/०७३ मा ४९ रहेको छ । तथ्याङ्क अनुसार आत्महत्या गर्नेमा दलितको संख्या अधिक रहेको देखिन्छ । यो वर्ष ४९ जनाले आत्महत्या गरेकोमा १४ जना दलित समुदायका छन् ।
गरिवी, बेरोजगारी, पारिवारीक बेमेल, मानसिक सन्तुलन नभएको, घरायसी झगडालगायतका समस्याले आत्माहत्या गर्ने गरेको पाईएको छ । मनोसामाजिक वा मानसिक समस्या भएकाहरूले आत्महत्या गर्ने भएपनि समाजले यसलाई स्वीकार्न नसकेको मानसिक रोग विशेषज्ञ डाक्टर पवन शर्माको भनाई छ ।
आत्महत्या गर्ने मनस्थितिमा पुगेका मानिसको कुरा सुन्ने र उनीहरूलाई बेलैमा सम्झाउन सकियो भने यस्तो घटना न्यूनिकरण गर्न सकिने डाक्टर शर्मा बताउनु हुन्छ ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला विकास समिति, जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिलगायतको सहभागिता थियो ।
Comment Here!