प्रकाश सिंह
बाजुरा । जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा पहिलो पटक शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालिएको छ । बडिमालिका नगरपालिका की ३५ वर्षीया हिरा बढुवालको शल्यक्रिया गरि जुम्ल्याहा बच्चा निकालिएको हो । बाजुरामा शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालिएको पहिलो भएको स्त्री तथा प्रसूति रोग बिशेषज्ञ डा. राजन न्यौपानेले बताउनुभयो ।
पेटमा दुबै बच्चा तेर्सो रहेका थिए । डा. न्यौपानेका अनुसार सामान्य तरिकाले बच्चा जन्माउन नसक्ने भएपछि हिराको शल्यक्रिया गरेर निकालएिको हो । पेटमा जुम्ल्याहा बच्चा छ, भन्ने थाहा भएपछि धनगढी लैजान लागेको तर डाक्टर यतै सकिन्छ भनेपछि जिल्लामै शल्यक्रिया गरिएको हिराका श्रीमान रमेश बहादुर बढुवालले वताउनुभयो ।
केही समय अघि जगन्नाथकी २२ वर्षीया बसन्ती बिष्टको पनि शल्यक्रियामार्फत बच्चा निकालिएको थियो । पाठेघरको मुख साँघुरो भएको र रगतको अभाव भएकाले उनलाई बच्चा जन्माउन निकै समस्या भएको थियो । अन्तिम अवस्थामा मात्र अस्पतालमा पुर्याइएकी बसन्तीलाई डा. न्यौपाने नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो
शल्यक्रियापछि बसन्ती बिष्टले भनिन् ‘बाँच्ने आश हराईसकेको थियो, डाक्टरले मलाई जीवनदान दिए ।’
दुईवर्षअघि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा आकस्मिक प्रसूति सेवा सञ्चालन भएको थियो । विकट जिल्लामा सञ्चालन भएको आकस्मिक प्रसूति सेवा प्रभावकारी बन्दै गएको जिल्ला स्वास्थ्य प्रमुख डा. मोहन नाथले बताउनुभयो । सेवा सरु भएपछि ५० जना भन्दा बढी महिलाको शल्यक्रिया मार्फत बच्चा निकालिएको छ । यो आर्थिक वर्षमामात्र २१ जना महिलाले शल्यक्रियामार्फत बच्चा जन्माएक छन् ।
आकस्मिक प्रसूति सेवा नहुँदा जिल्लामा वर्षेनी चार पाँच जना महिलाले ज्यान गुमाउँदै आएका थिए । यो सेवा सञ्चालनपछि सुत्केरी शुन नसकेकै कारण महिलाले ज्यान नगुमाएको जिल्ला स्वास्थ्य प्रमुख डा. मोहन नाथ बताउनुहुन्छ ।
Comment Here!