सन्दर्भः योगमाया स्मृति दिवस, साहित्य क्षेत्रले विर्सिएको योगमायाको योगदान


प्रकाशित मिति :2016-07-15 14:59:23

श्रृंगार रसमा ठेली ठेली समालोचना लखेर दिमाग खेर फाल्ने समालोचकहरूले योगमायाका वाणी तर्फ एक आखाँ पनि दिएनन् ।’  

सृजना अर्याल

हाँस्नु छैन कदापी नारीहरूले वेश्या हुने हाँस्दछन्
वेश्या नहुन तथापी घरको काम ती सबै नास्दछन्

yogmayaप्रस्तुत कविताका हरफ आदिकवि भानुभक्त आर्चायका हुन् । आचार्यले आफ्नो कृति बधुशिक्षामा यी हरफलाई संग्रह गरेका हुन् ।  महिलालाई  यसरी चित्रण गरिएका आचार्यका यस्ता सिर्जनाको महिमा गान वर्षैपिच्छे असार २९ गते गाउने गरिन्छ ।

साहित्यले समाजलाई प्रतिविम्बित गर्छ ।  उनको यो कविताको अंशले आजभन्दा २ सय वर्ष अगाडिको समाजमा महिलाको अवस्था कस्तो थियो होला सजिलै आकंलन गर्न सकिन्छ । उनका कविता पढ्दा  नेपाली महिलाप्रति उनको सिर्जनाले न्याय गरेन । महिलालाई शिक्षा दिएको बधुशिक्षामा उनले महिलालाई दास, चत्रिहिन र वेश्याको संज्ञा दिएका छन् ।

 बुहारी प्रति उनको हेराई झन अन्याय पूर्ण छ । भानुभक्तले बधु शिक्षामा श्रीमान, सासु, ससुराप्रति बुहारीले गर्नुपर्ने कर्तव्यको व्याख्या गरेका छन् । उनले बधुशिक्षामा महिलालाई पढ्नुपर्छ भन्ने कुरा गर्नुको सट्टा उनीहरूले परिवारलाई गर्नुपर्ने दायित्व  बारेका लेखेका छन् । बधुशिक्षामा उनले लेखेका छन् :

        सारै झोक उठयो मलाई र बधु शिक्षा बनाञाँ पनी
        यसले पत्नी, बुहारी, छोरीहरूको तालिम् गरौंला भनी ।

उनको बधु शिक्षाले त्यतिवेलाको समाजमा पितृसत्ता कतिसम्म  हावी  थियो भन्ने देखिन्छ । त्यसैले आम महिला प्रति उनको सिर्जनाले  न्याय गर्न सकेको देखिँदैन । भानुभक्तका यी श्लोक भन्दै महिलाको उपेक्षा गर्ने आज पनि छन् ।

आदिकविले नेपाली भाष र साहित्यमा दिएको योगदानको कदर हुनुपर्छ तथापि उनले लेखेका यस्ता कृतिको बारेमा पनि अव व्यापक छलफल र वहस हुन जरुरी छ । उनको कृतिले समाजमा के कस्तो असर पारेको छ त्यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्नैपर्छ ।
प्रसङ्ग  भानुभक्तको जुट्यो । प्राय नेपाली साहित्य महिलामैत्री छैन । लैंगिक दृष्टिकोणबाट  धेरै असम्बेदनशील पाइन्छ ।

लेखन र कृतिमामात्रै होइन यसक्षेत्रमा जति नै योगदान पुर्‍याएपनि ती महिलालाई सम्झिने गरिएको छैन ।

भोजपुर जिल्लाको मघजा  सिम्लेमा १९२५ (विद्रोही नारी योगमाया नामक डा गोविन्दमान सिंह कार्कीले लेख्नुभएको लेखमा योगमायाको जन्म विं.स १९२५ मा भएको उल्लेख छ )  मा जन्मिएकी योगमायाको  तिथी अनुसार हरिशयनी एकादशीका दिन ७५ औं स्मृति दिवस हो । उनले समाजमा व्याप्त अन्यायविरुद्ध विं.स १९९८ को हरिसयनी एकादशीका ६७ जना अनुयायीसहित अरुण नदिमा जलसमाधी लिएकी थिइन् ।

उनी समाजिक आन्दोलनको अगुवा सँगसँगै सामाजिक  विकृतिविरुद्ध साहित्यिक रचना गर्ने शसक्त साहित्यकार पनि हुन् ।  भानुभक्त भन्दा केहीपछि जन्मिएकी कवि तथा सामाजिक आन्दोलनकी योद्धा योगमायाले गरेको  सामाजिक आन्दोलनलाई छोडेर, साहित्यक पाटोमात्र केलाउने हो भने उनको कवित्व विशिष्ठ देखिन्छ ।

हाम्रो सर्वोच्च हिमालले पानी पिलाउछ
अरुण बरुणको शान त्यहीँबाट आउँछ ……।
ब्राह्मण भई सबै चिजको विक्री गरेको
मालिक भई दुःखीहरूको बृति हरेको

सामाजिक वस्तुस्थितिका बारेमा साहित्य सिर्जना  गर्ने योगमायालाई न राज्यले न साहित्यिक क्षेत्रले सम्झने गरेको छ । महिला भएकै कारण उनलाई सम्झिन कन्जुस्याई गरिएको हो त ? उनी निरक्षर थिइन्, तर धारा प्रवाह उनले कविता भन्न सक्थिन् । उनले तत्कालिन राणा सरकारको दमन, शोषण, भष्टचार अन्यायविरुद्ध जनता जाग्ने कविता भन्ने गर्थिन् । निरंकुश राणा शासनले समाज रुपान्तरणमा चासो नदिएको भन्दै यसको अन्त्य, निर्दोष जनताको हत्या गरेको भन्दै यस्तो अन्याय नरोकिए आफ्नो ज्यान दिनपनि पछि नर्पर्ने चेतावनी तत्कालीन शासकलाई दिएकी थिइन् ।

उनले शोषण र अन्यायविरुद्ध तत्कालीन राणा सरकारलाई  दिएको  मागको कुनै सुनाई नभएपछि आफ्ना समर्थकका साथ सरकारको विरोध स्वरुप जीवन आहुती दिएकी थिइन् । यस्ती स्रष्टालाई कसैले किन सम्झिदैन ?

मिति अनुसार वि.स १९९८ असार २२ गते उनले तत्कालिन राणा शासनविरुद्ध अरुण नदिमा हाम फालेर जीवन बलिदान गरेकी थिइन् ।  अन्यायविरुद्ध आफ्नो ज्यानै दिने उनी त विश्व इतिहास कै अमर स्रष्टा हुनपर्ने हो, तर नेपाली साहित्य क्षेत्र र राज्यले नै  उनको योगदानको कदर गरेको छैन् । योगमायाको सम्झनामा भन्नेहरू भेटिएका छैनन् ।  उनी जस्तो प्रजातन्त्र र समाज रुपान्तरणकै लागि लड्ने योद्धा सायदै कोही छन् ।

 स्रष्टा  कुनै जाति, वर्ग वा समुदायकोमात्रै  हुँदैन भन्ने गरिन्छ । तर महिला भएकै कारण योगमायाको सामाजिक र साहित्यक क्षेत्रको योगदानको सम्झनामात्र पनि हुन सकेको छैन ।

योगमायाको योगदान आझेलमा पारिएको भन्दै साहित्यकार पारिजातको  भनेकी छन्, ‘यो देशका इतिहासले महत्वपुर्ण कुराहरूलाई पोखराले सेती लुकाए जस्तै गरि लुकादिएको छ त कतै उडन्ते गन्थनहरू जतासुकै प्रर्दशित भएका छन ।’

योगमाया कै वारेमा लेखिएका लेखहरुको संग्रह बहुमुखी व्यक्तित्वको धनी योगमाया नामक पुस्तकमा पारिजातले अमेरिकी लेखक बार्बारा निम्री अजिजको नाउँमा लेखेको पत्र छापिएको छ  । उक्त पत्रमा योगमायाका  वारेमा पारिजातले यस्तो लेखेकी छन् ‘सामन्तवादभित्र योगमायाको विद्रोह स्वतःस्फुर्त थियो, भक्तिधारामा नभएको भए उनको विद्रोहका आवाज र चूनौतिहरूलाई तत्कालिन राणा सरकारले दमनको पाइताला मुनी कुल्चेर के पारिसक्थयो कुन्नी ।’

उनले योगमायाका कविताका बारेमा लेख्छिन् ‘उनले सामन्तवादी नीति, राणा शासन, शोषण नीति, जाली फट्याइँ, प्रशासनिक दमन, महिला प्रतिको शोषण, जाली तमसुक, बाहुनवाद , भारतीय मुद्दाले विस्तारै निल्दै लगेको नेपालीको मुल्यसमेतकोविरुद्धमा कविता भनेर गएकी थिइन् । मलाई अनौठो लाग्छ श्रृंगार रसमा ठेली ठेली समालोचना लखेर दिमाग खेर फाल्ने समालोचकहरूले योगवाणी तर्फ एक आखाँ पनि दिएनन् ।’

योगमायाका रचना यस्ता छन् :

अन्त्यकालमा त्यो घुसले फुटाउला धाँजा
बढो कष्ट मिली जाला त्यो घुस  निस्कि जाला
ऐेलेमात्र पचेको छ भरे पच्ने छैन
सम्झी राख सत्य वचन झुटो हुने छैन ।

विं.स २०७० असारमा प्रकाशित योगमायाका बारेमा लेखिएका लेखहरूको संग्रह बहुमुखि व्यक्तित्वकी धनी योगमाया नामक पुस्तकमै प्रकाशित ‘शक्ति योगमाया संर्घषशील नेपालीको एक परम्परा’ शिर्षक लेखमा बार्बारा निम्री अजिज लेख्छिन् ‘२० औं शताब्दीको शुरु शुरुमा पूर्वी नेपालमा एउटा असाधारण विद्रोह  छेडिएको थियो । यस विद्रोहको नेतृत्व एक जना अत्यन्तै संघर्षशील महिलाले गरेकी थिइ्न, त्यस विद्रोहले राणा शासन र ब्राम्हणको हाता भित्र  रहेको शक्ति संरचनालाई सिधै चूनौति दियो । तर त्यस प्रकारको असाधरण विद्रोह र त्यसको नेतृत्व गर्ने व्यक्तिलाई नेपाली इतिहासमा कुनै स्थान नदिएर पूर्ण रुपले विस्मृतिको अन्धकारमा छोडिएको छ, अनि इतिहासमा स्मरणसम्म पनि गरिएको छैन ।’

नेपाली महिलाले आज पनि धर्म संस्कृति, परम्पराका नाममा पुरुषवाद सहन बाध्य छन् । यी सबै विभेद र  परम्पराका रचनाकार पितृसत्ता हो भन्ने कुरा भानुभक्तका कविताबाट पनि छर्लङ्ग हुन्छ ।  स्रष्टा, सपुतहरू सवैका हुन् । उनीहरू चाहे महिला वा पुरुष  राष्ट्रका गरिमा हुन् । त्यसैले विभेद नगरिकन  उनीहरूको योगदानको बराबर सम्मान र स्मरण गरिनुपर्छ  ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: