चीना थापा
विराटनगर । उद्योग संगठन मोरङको ५० वर्षको इतिहासमा पहिलोपटक कार्यसमितिमा एक जना महिला आएकी छन् । नयाँ कार्यसमितिमा एक जना महिलालाई मनोनित गरिएको हो । संगठनमा महिला उद्यमी प्रतिभा रिजाल पहिलोपटक कार्यसमितिमा मनोनयन भएकी हुन । १७ सदस्यीय कार्यसमितिमा रिजाल एकमात्र महिला सदस्य हुन् । रिजाल यसअघि महिला उद्यम समितिकी सचिव थिइन् । रिजाल एमएनएम नुडल्सकी संचालक हुन् । महिला उद्यमी समितिले महिलालाई उद्योग संगठनको कार्यसमितिमा नराखेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।
नयाँ कार्य समितिका लागि निर्वाचन हुने हल्ला चलाएर झुक्याएको आरोप महिला उद्यमीले लगाएका छन् । कोठाभित्र छलफल गरेर कार्यसमिति चयन गरेको उनीहरूको भनाइ छ । संविधानमा महिलाको अधिकारको बारेमा लेखिएको कुरा बोकेर जाँदा पनि महिला सहभागिता गराउनमा संगठन राजी नभएको देख्दा दुःख लागेको महिला उद्यमी रीमा श्रेष्ठले बताउनुभयो ।
महिलालाई फलानोको श्रीमती, छोरी, बुहारी भनेर पछाडि पार्ने काम भएको उहाँको भनाई छ । संगठनमा क्षमतावान महिला उद्यमीहरू हुँदाहुँदै पनि कार्यसमितिमा आउन नसक्नु दुःखद पक्ष रहेको बताउँदै श्रेष्ठले पुरुष उद्यमीहरूको हेपाहा प्रबृत्तिका कारण महिलालाई अगाडि आउन समस्या परेको बताउनुभयो ।
उद्योग संगठन मोरङ र व्यापार संघ मोरङको कार्यसमितिमा महिलाको सहभागिता छैन । आफूहरूलाई अपहेलना गरेको भन्दै महिलाहरू संगठनको कार्यक्रम नसकिँदै बाहिरिएका थिए ।
Comment Here!