धारापँधेरामा हुने झगडा पनि मेलमिलाप केन्द्रमा
लोकप्रिय बन्दै मेलमिलाप पद्दती
विदुर आचार्य
सिन्धुपाल्चोक । पानी थाप्न जाँदा वढेको विवादले वोलचान समेत वन्द हुन पुगेको बाँसखर्क गाँउ विकास समितीकी रमला श्रेष्ठ र कमला श्रेष्ठको विवाद सामुदायिक मेलमिलाप केन्द्रले मिलाईदिएपछि रमला र कमला दुवै खुसी छन् । उनीहरूको विवाद मेलमिलाप केन्द्रका महिला मेलमिलापकर्ताले मिलाएका हुन् । ‘झगडाको विषय ठुलो थिएन । दुवैजना पानी थाप्न गएका थिए, कस्ले पहिले थाप्ने भन्ने विषयमा हानथाप हुँदा विवाद बढेको थियो’ कमलाले भनिन् ।
सँधै हतारो हुने, साझा धारो प्रयोग गर्दा यस्तो विवाद धेरै पर्ने गरेको कमलाको अनुभव छ । ‘कोही त्यत्तिकै सेलाँउछ त कोही विवादले सम्वन्धमा समेत असर गर्छ, तर समुदायमा सँगै वसेपछि यस्ता विषयमा विवाद वढाउनुहुन्न भन्ने वल्ल थाहा भयो’ कमला भन्छिन्, ‘हामीले मेलमिलापको महत्व वुझेका रहेनछौ, अव यस्तो विषयमा फेरी विवाद कहिल्यै वढ्दैन ।’
मेलमिलाप केन्द्रमा आफ्नै गाँउका महिला मेलमिलापकर्ता भएकाले पनि आफ्नो कुरा सजिलै राख्न र समस्या समाधान सहज भएको कमलाको तर्क छ ।
हाल जिल्लाका दुई नगरपालिका सँगै सवै गाउँ विकास समितिमा सामुदायिक मेलमिलाप केन्द्र छन् । विं.स २०६८ सालमा मा वनेको मेलमिलाप सम्वन्धी ऐन र ०७० मा वनेको नियमावलीले जिल्ला तह देखि गाविससम्म केन्द्र रहने व्यवस्था गरेको छ । ऐनमा जिल्ला अदालतमा फौजदारी वाहेकका देवानी मुद्दा फैसला हुनुअघिसम्म मुद्दा दर्ता गर्ने पक्षको सहमतिमा मेलमिलाप गर्न सकिने व्यवस्था छ ।
घर, परिवार, समुदायमा अधिकांश विवाद, झगडा र द्वन्द्वले महिला पीडित हुन्छन् । महिलाका पीडा सुन्न र समाधानको उपाय निकाल्न महिला मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहने गरेको भोटसिपाकी महिला मेलमिलापकर्ता ईन्दिरा नेपालको तर्क छ । द्वन्द्वरत पक्षबीच मेलमिलाप गराई सम्वन्धलाई सुमधुर बनाउन, पीडितलाई न्याय दिलाउन र न्यायिक पहुँच अभिवृद्धि गर्न महिला मेलमिलाप कर्ताको भूमिका महत्वपूर्ण हुने नेपालको भनाइ ।
सरकारवादी मुद्दा भने मेलमिलाप गर्न नसकिने नेपाल वार एसोसिएसनका सचिव तथा कानुनी सहयोग तथा परामर्श केन्द्र मार्फत महिला तथा वालवालिका कार्यालय रहेको कानुनी सहायता कक्षका सम्पर्क व्यक्ति चन्द्रकुमार वस्नेत बताउँछन् । ‘राज्यले अपराधिक भनेर छुट्टयाएका मुद्दा मेलमिलाप गर्न सकिन्न, यदि गरियो भने त्यहाँ अपराध लुक्छ, यसले समाजको हित हुदैन’ उनी भन्छन् । राज्यले दण्ड तोकेको वाहेकका सामान्य घटना मेलमिलापले टुङ्याउन सकिने उनी बताउँछन ।
मेलमिलाप केन्द्रमा महिला मेलमिलापकर्ता सक्रिय रहेकाले महिला माथि हुने हिंसामा कमी आएको प्राकृतिक स्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्रका संयोजक उद्धवप्रसाद अधिकारी वताउँछन् । उनी भन्छन् ‘समाजमा महिला मेलमिलापकर्ता रहेकै कारण हिंसा गर्नेमाथि खवरदारी भएको छ । यसवाट हिंसा गरी वेइज्जत हुने भन्दा सामाजमा प्रतिष्ठित जीवन जीउने तर्फ आम नागरिक अग्रसर हुने छन् ।’
Comment Here!