योग्य बुहारीलाई गाउँमै अवसर


प्रकाशित मिति :2016-07-21 10:46:32

गाउँमा बैंक, सहकारी, विद्यालय, गैरसरकारी संस्थाको विस्तार हुँदा ‘स्थानीयलाई प्राथमिकता’ भन्ने धारणाले छोरी–बुहारीका लागि रोजगारीको अवसर बढाएको छ । तर, यसका लागि चाहिने एउटै योग्यता हो शिक्षा ।

कुमार लुइँटेल
मोरङ । तराई–मधेसमा विवाहपछि बुहारीले उच्च शिक्षा पूरा गर्नेबारे सोच्न पनि सक्दैनन् । पिछडिएको र सीमान्तकृत समुदायमा त छोरी पढाउने पनि निकै थोरै छन् । बुहारीले बाँकी रहेको पढाइ पूरा गर्नु र जागिर खानु ‘कोरा कल्पना’ जस्तै हो । बुहारीले घरमै बस्ने, बालबच्चा हुर्काउने, सासूससुराको सेवा गर्ने हो भन्ने मान्यता कायमै छ ।

अब आएर परिवर्तनका सङ्केतहरू देखिन थालेका छन् । मधेसी दलित जातिमा सूचीकृत समुदायकी सकुन्तला सरदार यस्ती बुहारी हुन्, जसकोे उच्च शिक्षा र जागिरको वातावरण विवाहपछि नै बनेको हो । श्रीमानका परिवारका सदस्यले उचित अवसर प्रदान गरिदिँदा सकुन्तलाको ‘भाग्य’ चम्कियो । मोरङ झोराहाटकी सरदार भन्छिन्, ‘विवाह भएर श्रीमानको घर आएपछि पढाइ पनि पूरा भयो । जागिर पनि खाइयो ।’ सकुन्तला भन्छिन्, ‘अहिले सबैले सम्मानको नजरले हेर्छन् । समाजमा पिछडिएको समुदायका बुहारीले पनि घरबाहिर आएर काम गर्दा हुनेरहेछ भन्ने परेको छ ।’

ससुरा र श्रीमानले दिएकोे अवसर नै सकुन्तलाको ‘भाग्य चम्काउने’ आधार बनिदियो । ग्रामीण विकास बैंकमा वरिष्ठ फिल्ड सहायक पदमा जागिरे सरदारले केही समय रेडक्रसमा पनि काम गरेकी थिइन् । ‘बुबाको घरमा पढ्न नपाएका र विवाह भई श्रीमानको घर गएका बुहारीलाई पढ्ने अवसर दिइनुपर्छ,’ सकुन्तलाले भनिन्, ‘शिक्षित भए बुहारीका लागि अवसर गाउँगाउँसम्म आइसकेको छ । जागिर खान बाहिर जानैपर्दैन ।’

सरदार समुदायका महिलाको पहुँच सरकारी जागिरमा नगन्य छ । सरिता सरदार पनि बुहारी नै हुन् । श्रीमानको घर आएर गाउँकै उमाविमा पढेपछि सरिताले विद्यालयमा पढाउने अवसर पाइन् । पहिले घरबाट विद्यालय जाँदा कतिले खिसी पनि गर्थे । मोरङको भौँडाहास्थित रामजानकी निमाविकी यी शिक्षिका भन्छिन्, ‘घरधन्दा र मेलापात भनेर घरमै कुँजिएर बस्यो भने बुहारीको जीवन नर्क बन्छ । मिहिनेत र लगनशील भए अवसर प्रसस्तै पाइने रहेछ ।’ आफूले परिवारको हौसलाका कारण सरकारी विद्यालयमा जागिर पाएको सरदार बताउँछिन् । अवसरको पहुँचसम्म पुग्न शिक्षा अनिवार्य भएको उनको बुझाइ छ ।

विराटनगर– १३ की स्वस्तिका पोखरेलले जागिरका लागि कतै भौँतारिनुपरेन । उल्टै अवसर उनकै दैलोसम्म आइदियो । उच्च शिक्षा पूरा नभई पोखरेलको विवाह भएको थियो । माइतीबाट घरमा आएपछि पढाइलाई कसरी निरन्तरता दिने भन्ने उनलाई पिरलो थियो । ‘परिवारको सहयोगले मैले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरँे, जागिर पनि खाएँ,’ पोखरेल भन्छिन्, ‘परिवारबाट सहयोग भए विवाहपछि पढाइलाई निरन्तरता दिएर योग्य बन्न बुहारीहरू पनि पछि पर्दैनन् । उनीहरूले आफ्नो र घरपरिवारका लागि आर्थिक उपार्जन गर्न पनि सघाउँछन् ।’

विराटनगरको पुरानो गैरसरकारी संस्था नारी विकास सङ्घमा जागिरे पोखरेल अहिले महिला अधिकारका क्षेत्रमा सक्रिय छिन् । किशोरी शिक्षा र चेतनाका लागि सक्रिय उनी गाउँमा उच्च शिक्षाको अवसर खुल्दा बुहारीले पनि पढ्ने अवसर प्राप्त गरेको बताउँछिन् । पोखरेल भन्छिन्, ‘पढाइ पूरा नभई विवाह गरेर आएका धेरै बुहारीले उच्च शिक्षा लिएर जागिर खाइरहेका छन् । शिक्षाले बुहारीलाई अवसरको ढोका खोल्दै छ ।’

विवाह गरेर गएका धेरै छोरीको पढाइ बीचैमा रोकिन्छ । पढ्ने आकाङ्क्षा मनमा पालेर बस्नेको फेहरिस्त निकै लामो पनि हुन्छ । तर, गर्न चाहने र पढाइ पूरा गर्ने इच्छाशक्ति भएकाले सहरमा र गाउँमा पनि गरेकै छन् । विराटनगर– १० की शान्ता न्यौपाने तिनैमध्येकी एक हुन् । विवाह हुँदा एसएलसी मात्र पूरा गरेकी उनले विवाहपछि नै स्नातकसम्मको पढाइ पूरा गरिन् । न्यौपाने भन्छिन्, ‘आफूले पनि इच्छाशक्ति देखाए परिवारबाट सहयोग मिल्छ । शिक्षाको स्तर बढ्न सके रोजगार बन्न कठिन हुँदैन ।’ गाउँमा बैंक, सहकारी, विद्यालय, गैरसरकारी संस्था विस्तार हुँदा ‘स्थानीयलाई प्राथमिकता’ भन्ने धारणाले रोजगारीको अवसर बढाएको न्यौपाने बताउँछिन् ।

महिला अधिकारको क्षेत्रमा कार्यरत सरिता अधिकारी शिक्षा नै अवसरको प्रमुख ढोका भएकाले बदलिँदो परिवेशमा महिलालाई व्यावहारिक शिक्षामा संलग्न गराउनुपर्ने सुझाव दिन्छिन् । ‘व्यावहारिक शिक्षामा महिला सहभागी भए विवाहअघि र पछि पनि रोजगारी पाउन कठिन हुँदैन,’ अधिकारीले भनिन्, ‘विवाहपछि ग्रामीण भेगमा पुग्ने छोरीहरूलाई त शिक्षाको अझ धेरै आवश्यकता छ ।’

(संचारिका फिचर सेवा)
(कुमार, मोरङका पत्रकार हुन् ।)         
 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: