छोरीको सम्मान परिवारको सान


प्रकाशित मिति :2016-07-23 10:00:50

‘भ्रूण पहिचान गरेर छोरी भए गर्भपतन गर्ने प्रवृत्ति मौलाउनुमा फितलो कानुन जिम्मेवार छ । कानुनमा कडाइ र अनुगमन तीव्र गराउने हो भने यसलाई घटाउन सकिन्छ ।’

सन्तोष शर्मा

पोखरा । ‘दुई–दुईवटा सन्तान भए, अब नजन्माए हुँदैन ?’
‘हुन्न, छोरा नभए गाउँलेले हेप्छन् ।’

अरूलाई शिक्षा दिने एक शिक्षकले आफ्ना भाइलाई दिएको जवाफ हो यो । धन्न उनको चौथो सन्तानचाहिँ छोरो भयो । अहिले उनलाई चार–चार सन्तानको लालनपालन प्रलय भएको छ । आफ्नो ढल्कँदो उमेरको ख्याल नगरी काममा रातोदिन मरिमेट्न बाध्य छन् उनी ।

अर्को एउटा परिवारको कथा । जसका घरमूली शिक्षक नै हुन् । उनले पनि छोराको आसमा चार छोरी जन्माए । त्यसपछि छोरो जन्मियो । अनि बल्ल रोकियो सन्तान जन्माउने काम । पाँच सन्तानको शिक्षा र विवाहमा उनले सानो सकस भोगेनन् ।

अर्को उदाहरण छ । एक आमा जसले छोराको आसमा ६ छोरी जन्माएकी थिइन् । अन्तमा उनले छोरो पाइन् । उनका मान्यताअनुसार ‘मुख अँध्यारो भएकीले छोरी पाउँछे, उज्यालो भएकीले छोरा ।’ अर्थात् छोरा र छोरी जन्मनुअघि नै उज्यालो–अँध्यारोको प्रतिनिधित्व गरेर जन्मन्छन् । छोरा पाउनेको जिउ हलुको–छिटोछरितो हुन्छ । छोरी पाउनेको अलि लोसे–अल्छ्याहा किसिमको हुन्छ भन्ने उनको मान्यता छ । यसले पनि जन्मनुअघि नै कसलाई छरितो र कोही लोसे बनाइसकेको छ ।

सामान्यतया बच्चा गर्भमा बसेपछि उसको स्वास्थ्य अवस्थाबारे अद्यावधिक भइरहन चिकित्सकले तीन–चारपटकसम्म अल्ट्रासाउन्ड गर्न लगाउँछन् । आफ्ना सन्तानको अङ्ग, मस्तिष्क, मुटुको चाल आदि ठीक भए–नभएको हेर्ने यो प्रविधि आफैँमा खराब होइन । तर, यसकै आडमा गर्भमा रहेकी छोरीको हत्या गर्ने प्रवृत्ति समाजमा बढ्दो छ । कानुनअध्येता सुमन आचार्यका अनुसार गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गर्नु अपराध हो । यसरी पहिचान गर्न खोज्ने व्यक्ति र गराउने चिकित्सक दुवैलाई कारबाही हुन्छ ।

भ्रूणको लिङ्ग पहिचान गराउनेलाई तीन महिनादेखि ६ महिनासम्म कैद र पहिचान गरी गर्भपतन गर्नेलाई ६ महिनादेखि तीन वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । व्यवहारमा सहरका धेरै अस्पताल वा क्लिनिकमा त्यस्तो सेवा उपलब्ध छ ।

विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई ‘छोराको चाहना राख्ने संस्कृति भएको’ मुलुकको सूचीमा राखेको छ । सन् २००९ को एक अध्ययनमा अधिकांश महिलाले पहिलो सन्तान जे भए पनि हुने बताएका थिए । तर, पहिलो बच्चा छोरी भएका ८१ प्रतिशत महिलाले दोस्रो बच्चा छोरा होस् भन्ने चाहेका थिए ।

छिमेकी देश भारतमा पछिल्ला दुई दशकमा एक करोड २० लाख छोरीको भ्रूणहत्या भएको तथ्याङ्क बाहिर आएको छ । त्यहाँ विवाहमा धेरै दाइजो दिनुपर्ने भएकाले छोरीको भ्रूणहत्या हुने विश्वास गरिन्छ । यही कारण भारतका कतिपय प्रान्तमा विवाह गर्न केटी पाइन छोडेको खबर पढ्न पाइन्छ ।

उता, एक सन्तान नीतिले चीनमा पनि छोरा नै रोज्ने प्रवृत्ति थियो । त्यही कारण त्यहाँ भ्रूणहत्या ह्वात्तै बढेको थियो । भ्रूणहत्याले छोराछोरीको अनुपात नमिल्दा बिहे गर्न केटी नपाइने समस्या चर्केपछि केही समयअघि मात्र चीनमा दुई सन्तान नीति ल्याइएको छ ।

सरकारी तथ्याङ्कअनुसार नेपालमा सुरक्षित गर्भपतन सेवाले कानुनी मान्यता पाएको दश वर्षमा करिब सात लाख र पछिल्लो पाँच वर्षमा चार लाख ३९ हजार ७४ महिलाले गर्भपतन गराएका छन् । कास्कीमा मात्रै आर्थिक वर्ष ०६९÷७० मा चार हजार ६ सय ६२, ०७०÷७१ मा ६ हजार ९४ र ०७१÷७२ मा पाँच हजार आठ सय १७ जनाले सुरक्षित गर्भपतन गराएको तथ्याङ्क छ ।

गर्भमै लिङ्ग पहिचान गरी गर्भपतन गर्ने प्रवृत्ति बढेसँगै नवजात शिशुमध्ये बालिकाको सङ्ख्या घट्दै गएको छ । ०६८ को जनगणनाअनुसार महिलाको जनसङ्ख्या ५१ प्रतिशतभन्दा बढी भए पनि १० वर्षमुनिका बालिकाको सङ्ख्या बालकको भन्दा २.३ प्रतिशत कम छ । ०६८ को जनगणनाअनुसार सहरी क्षेत्रमा एकदेखि १० वर्ष उमेर समूहका बालिकाको सङ्ख्या बालकभन्दा ५.७ प्रतिशत कम छ ।

ग्रामीण क्षेत्रमा भने बालिकाको सङ्ख्या बालकको तुलनामा १.७९ प्रतिशतले कम देखिएको छ । तथ्याङ्कका आधारमा एक दशकमा जन्मने शिशुमध्ये बालिकाको सङ्ख्या घट्दो छ । एक दशकअघि ११ सय ५० शिशुमा बालिका नौ सय ६ र एक दशकयता एक हजारमा सात सय जन्मने गरेको पाइएको छ ।

पत्रकार विजय कुमारले आफ्नो पुस्तक ‘खुसी’मा छोरी जन्मँदा आफूले अस्पतालमा सबैलाई मिठाई बाँडेको उल्लेख गरेका छन् । त्यसरी मिठाई बाँड्दा ‘झन् छोरा नै जन्मेको भए के पो गर्दो होला !’ भनेको पुस्तकमा उल्लेख छ । छोरीले गरेका प्रगति र तिनले आफूलाई दिएको सन्तुष्टिलाई उनले खुलेर लेखेका छन् ।

अध्ययनको सिलसिलामा नेपाल आएकी अमेरिकी विद्यार्थी फेबी बोइडियार्टोले दुई वर्षअघि काठमाडौंमा ‘छोरीशक्ति’ शीर्षकमा फोटोग्राफी गरेकी थिइन् । लिङ्गका आधारमा गर्भपतन प्रवृत्ति चर्किरहेको समाजमा आफूले गरेको फोटोग्राफीमा उनले एघार जोडा बाबुछोरी समेटेकी थिइन् । उनको फोटोकथा ‘नेपाली टाइम्स’ अङ्ग्रेजी साप्ताहिकले छापेको थियो । बोइडियार्टोले भनेकी छिन्, ‘आफ्ना छोरीप्रति गहिरो प्रेम र आशा बोकेका बाबुहरू देख्दा म साँच्चै धन्य भएकी छु ।’

फोटोकथामा कतिपय बाबुले छोरीलाई ‘लक्ष्मीको रूप’ भनेका छन् । छोरीबिना घरमा कुनै सौन्दर्य नहुने धारणा पनि तिनले व्यक्त गरेका छन् । छोरीहरू बुझकी हुने र तिनले छोराले जत्तिको सबै काम गर्न सक्ने ती बाबुहरूको विश्वास छ । फोटोकथामा ‘तपाईं आफ्नी छोरीप्रति किन गर्व गर्नुहुन्छ ?’ भन्ने साझा प्रश्नमा गायक अमृत गुरुङले भनेका छन्, ‘मेरी छोरीले मलाई पिता भूमिकामा सम्मान दिएकी छन् । अनि म पनि उनको रुचि र समस्यामा सघाउन प्रतिबद्ध छु ।’ सोही फोटोकथामा समेटिएका पत्रकार नारायण वाग्लेले त्यसताका ट्विट गरेका थिए, ‘यसपालि म छोरीका कारण अखबारमा छाएको छु ।’

हाम्रो समाजमा एक मात्र सन्तान (छोरी) जन्माएर बस्ने कैयन् अभिभावक देखिन्छन् । त्यस्तै, दुई छोरीलाई आँखाका दुई नानी ठानेर स्नेह वर्षाउने अनेक अभिभावक पनि हाम्रै वरिपरि छन् । राज्यले यस्ता अभिभावकलाई प्रोत्साहन पुरस्कार वा भत्ताको व्यवस्था गरे छोरीप्रतिको विभेदमा कमी आउन मद्दत पुग्थ्यो भन्छिन् महिला आयोगकी निवर्तमान सदस्य मनु हुमागाईं । ‘राज्यका विद्यमान कानुन पालनामा कडाइ र अभिभावकलाई प्रोत्साहनको वातावरण बनाउन सक्नुपर्छ,’ हुमागाईंले भनिन्, ‘अनि मात्र छोरीप्रतिको विभेद कम हुन थाल्नेछ ।’

जनस्वास्थ्य विशेषज्ञ डा. रवीन्द्र पाण्डे पनि भ्रूणहत्या मौलाउनुमा फितलो कानुनलाई दोष दिन्छन् । पाण्डे भन्छन्, ‘कानुनमा कडाइ र अनुगमन तीव्र गराउने हो भने यसलाई घटाउन सकिन्छ ।’

(संचारिका फिचर सेवा)
(सन्तोष, नागरिक दैनिकका पत्रकार हुन् ।) 

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: