मोबाइल फोनको प्रयोगले बढायो बेचविखन


प्रकाशित मिति :2016-07-24 16:08:18

हिजोआज प्रविधिका कारण बेचविखनमा विचौलीयाको भूमिका कम हुँदै गएको छ । महिला सिधै दलालको पोल्टोमा पर्न थाले ।

खेमा बस्नेत

maitiकैलाली । पछिल्लो समय सञ्चारका साधनको सहजता  धेरै छ । तर, त्यही साधनको सदुपयोग हुन नसकेर सोझासाझा महिलाले दुःख पाएका छन् । मोबाइल फोनकै भरमा मानव वेचविखन  बढेको सरोकारवालाको निष्कर्ष छ ।

चेलीवेटी वेचविखनविरुद्ध सरकारी र गैरसरकारी निकायहरू सक्रिय भएसँगै दलालहरूले आफ्नो शैली पनि फेरेका हुन् । हिजोसम्म भौतिक उपस्थितिमै ललाई फकाई महिला वेच्ने गिरोह अहिले मोवाइल फोनबाटै महिलालाई लोभ्याएर विदेश पुर्‍याउने गरेको रहस्य खुलेको हो ।

‘चेलिबेटी बेचविखनमा सक्रिय दलालले पछिल्ला वर्षमा आफ्नो शैली फेर्दै आएका छन्’ माइती नेपाल कैलालीका कार्यालय प्रमुख शिवचरण चौधरीले भने ‘उनीहरूले  पछिल्लो समय मोवाइल फोनको प्रयोग बढाउँदै छन् ।’

दलालले फोनमा देखाएको प्रलोभनले ग्रामिण सोझा,अशिक्षत महिलामात्रै नभई सचेत महिला पनि फस्ने गरेको उनको बुझाई छ ।
दलालले वर्षेनी फोन मार्फत फकाएर चेलिबेटीलाई भारतीयबाटो हुँदै तेस्रो मुलुकसम्म पु¥याउने गरेको उनले बताए । दलालले फोन मार्फत महिला वेच्ने शैली अपनाएपछि यसको रोकथाममा पनि चूनौति थपिएको उनको भनाइ छ ।  अहिले दलालहरू भारतीय शहरमा बसेर नेपालबाट महिलालाई बोलाउने गरेको कार्यालय प्रमुख चौधरी बताउँछन् ।

‘विगतमा महिला बालबालिका बेचविखनमा संलग्न मुख्य नाइके फेला नपरेपनि विचौलियाहरू पक्राउ पर्ने गरेका थिए । अहिले फोनकै भरमा  महिलालाई भारत ओसार्न थालेपछि  नियन्त्रणमा समेत चूनौति थपियो’ उनले भने ।

फोन, फेसबुक जस्ता सामाजिक सञ्जालको माध्यमले महिला तथा बालबालिकालाई सजिलै आफ्नो जालमा पार्न सफल भएपछि दलालहरू हाैँ सिएको समेत उनले बताए । ‘प्रविधिका कारण विचौलीयाको भूमिका कम हुँदै गएको छ । महिला सिधै दलालको पोल्टोमा पर्न थाले’ चौधरीले भने ।

यसवर्ष महिला वेचविखनका घटनामध्ये धेरैजसो प्रविधिको दुरुपयोग गररे भएको उनी बताउँछन् । त्यतिमात्रै नभई फोनमा भएको कुराकानीको भरमा प्रलोभनमा पारी नेपाली महिलालाई दलालले भारत हुँदै कुवेत, साउदी अरब, इराक, बंगलादेश, अफगानिस्तानलगायत देशहरू पुर्‍याएको उनले बताए ।

उनका अनुसार द्वन्द्वग्रस्त देशमा पनि थुप्रै नेपाली महिला बेचविखन भइरहेको छ । प्रत्येक वर्ष चेलिबेटी बेचविखनको दर पनि बढ्दै गएको छ ।

आफन्तबाट खोजविनका लागि आर्थिक वर्ष २०७२/०७३ मा १ सय २५ निवेदन माइती नेपालमा परेका थिए । जसमध्ये ९१ जनालाई उद्धार गरिएको छ । बेचविखनमा संलग्न भएका चार जनाविरुद्ध मुद्दा दायर भएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७१/७२ मा माइती नेपाल कैलालीले जोखिममा परेका ९४ महिला तथा बालबालिकाको सीमाबाट उद्धार गरेको कार्यालय प्रमुख चौधरीले जानकारी दिए ।

सोही वर्ष खोजतलासका लागि १ सय ११ जनाले उजुरी दिएका थिए । उनका अनुसार यी मध्ये एकजना महिलाको वेचविखन गर्ने  क्रममा बलात्कारमा परेको  उजुरी समेत परेको  थियो ।

जिल्लामा खोजतलासका लागि निवेदन दिने र फेला पर्नेको संख्या धेरै भएपनि तुलनात्मक रुपमा मुद्दा भने कम पर्ने गरेका छन् । पर्याप्त प्रमाणको अभाव र पीडितले नचाहेका कारण धेरैलाई मुद्दा चलाउन नसकिने अवस्था रहेको चौधरीको भनाइ छ ।

‘उजुरी पर्ने र फेला पर्ने संख्या धेरै छ । कतिपय आफन्तबाटै छुट गराउने कारणले र कतिपय प्रमाण अभावले मुद्दा चलाउन सकिँदैन’ उनले भने ।

उद्धार गरिएका महिला तथा बालबालिकाको पुर्नस्थापना गर्न समेत समस्या भइरहेको चौधरीले गुनासो गरे । वेचिएका वा वेचिनबाट जोगिएका महिलाको उद्धारपछि धेरैजसोले घर फर्कन चाहेपनि समाज र घर परिवारले सहजै नस्वीकार्दा समस्या भएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले पनि पछिल्लो समयमा मानव वेचविखनको घटनामा मोवाइल तथा सामाजिक सञ्जालको प्रयोग बढिरहेको स्वीकारे ।

‘अहिले पहिले जस्तो छैन । फोनबाट प्रत्यक्ष सम्पर्क हुन्छ । फोनकै भरमा विदेश पुग्छन् र त्यहाँ वेचिन्छन्’ उपरिक्षक विष्टले भने ।
यसरी सञ्चारका साधनको दुरुपयोगबाट हुने अपराधिक गतिविधि नियन्त्रण गर्न कठिनाई भइरहेको विष्ट बताउँछन् ।

‘फोनबाट दलालले सबै कुरा सिकाएका हुन्छन् । त्यसैका आधारमा महिला दलालसम्म पुग्ने भएकाले सोधपुछले मात्रै वेचिएको भन्ने पत्ता लाग्दैन’ प्रहरी उपरिक्षक विष्टले भने ।

समय र परिवेश अनुसार दलालले पनि आफ्ना बेचविखनका तौरतरिकामा परिवर्तन गर्दै आएको बताउँदै प्रहरी उपरीक्षक विष्टले यसको नियन्त्रणको लागि मानिसको पहिचान गरी मात्रै आफूले निर्णय लिनुपर्ने बताए । साथै यसरी वेचिनेहरूमा गरीब तथा अशिक्षित परिवारका महिला तथा बालबालिका रहेको उनको भनाई छ ।

महिला तथा बालबालिकाको वेचविखन नियन्त्रण गर्न प्रहरीले आफ्नो अनुसन्धान त्यस तर्फपनि बढाएको एसपी विष्ट बताउँछन् । जिल्ला प्रहरी कार्यालय कैलालीका २०७३र ७४ को असार १५ गतेसम्म  महिला वेचविखनका ६ वटा उजुरी दर्ता भएका छन् ।त्यसैगरी जिप्रका कैलालीले पाँचवर्षमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध २२ वटा उजुरी परेको जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: