सर्मिला बुढाथोकी
दोलखा । खानपान तथा सरसफाईको अभावले दोलखामा धेरैजसो गर्भवती तथा सुत्केरी महिलामा कुपोषणको समस्या देखिएको छ । २०७३ जेठ र असार महिनामा दोलखाका ४८ वटा गाउँ विकास समिति र २ नगरपालिकामा १ हजार ५ सय ४८ जना गर्भवती तथा सुत्केरीको जाँच गरिएकोमा ४ सय ४३ जना गर्भवती तथा सुत्केरी महिलामा कुपोषणको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य निरीक्षक कुमार दहालले जानकारी दिनुभयो । ती गर्भवती तथा सुत्केरी महिलाको पाखुराको नाप २ सय ३० मिलिमिटर भन्दा कम रहेकाले उनीहरूलाई मध्यम र सिघ्र कुपोषण देखिएको जनस्वास्थ्य निरिक्षक दाहालको भनाई छ ।
उहाँका अनुसार भूकम्पपछि जिल्लामा कुपोषणको समस्या बढ्न सक्ने भन्दै बिभिन्न संघसंस्थाले जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरेर पोषणको क्षेत्रमा काम गर्दै आएका छन् । सुत्केरी हुने वित्तिकै काम गर्न सुरु गर्नु, गर्भवती तथा सुत्केरी अवस्थामा खानपानमा ध्यान नदिनु, पौष्टिक आहाराको कमी, आर्थिक अभाव, चेतनाको कमिलगायतले गर्दा महिलामा कुपोषणको समस्या देखिएको सामाजिक विकास प्रबद्र्धन केन्द्रकी स्टाफ नर्स रेहना प्रविणको भनाई छ ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार फागुन महिनासम्ममा ३० जना बालबालिकालाई कडा कुपोषण देखिएको थियो । अहिलेपनि प्रस्तावित चरिकोट अस्पतालमा ४ जना बालबालिकालाई कडा सिघ्र कुपोषण सहित थप समस्या देखिएर उपचार गराईरहेको प्रविणले जानकारी दिनुभयो ।
कुपोषण जो सुकैलाई हुन सक्छ, तर गर्भवती महिलालाई कुपोषण भयो भने गर्भमा रहेको बच्चालाई समेत असर गर्ने र कुपोषित आमाले स्तनपान गराउँदा बच्चाको स्वास्थ्यलाई पनि असर गर्ने भएकाले विशेष निगरानी गर्नुपर्ने स्वास्थ्यकर्मीको भनाई छ । आमा र बच्चा दुबैलाई कुपोषणबाट बचाउन गर्भवती र सुत्केरी अवस्थाका महिलाको हेरचाहमा अभिभावकले ध्यान दिनुपर्ने एनट्याग नामक संस्थाका पोषण अधिकृत शुदेस चौधरी बताउनु हुन्छ ।
अहिले कुपोषणको समस्या देखिने वित्तिकै सुत्केरी गर्भवती महिला तथा बालबालिकाहरूलाई लक्षित थप खाना वितरण केन्द्रबाट पोषण युक्त खाना वितरण साथै परामर्श र उपचार गरिँदै आएको छ । यो सेवा जिल्लाको प्राथामिक स्वास्थ्य केन्द्र चरिकोट र सुरी, जिल्ला अस्पताल जिरी तथा बोँच,मागापौवा,फस्कु,झुले,नाम्दु,मेलुङ,लादुक, लामाबगर र खोपाचाँगुस्वास्थ्य केन्द्र गरी १४ ओटा स्वास्थ्य संस्थामा सञ्चालनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
Comment Here!