यमुना खनाल

अधिकारकर्मी देब कुमारी महरा
सिराह । बालविवाह रोकेपछि परिवारसहित आफूलाई ज्यान मार्ने धम्की र गालीगलौज गर्नेविरुद्ध महिला मानव अधिकार रक्षक संजाल सिरहाकी अध्यक्ष देब कुमारी महराले सार्वजनिक अपराधको मुद्दा दायर गर्नुभएको छ ।
सिरहाको अर्नामा प्र पि गाविसका ४० वर्षीय राम आशिष महराले अर्नामा गाविसकी १२ वर्षीया बालिकासँग असार ३० गते विवाह गर्ने तयारी गरेका थिए । बालिकाको विवाह बारे थाहा पाएपछि महिला अधिकारकर्मी र प्रहरी विवाहस्थलमा पुगेर विवाह रोकेका थिए । महराले ३० गते विवाहको दिन तोकेपनि अधिकारकर्मी र प्रहरीलाई छल्नका लागि २९ गते नै विवाह गर्ने तयारी गरेका थिए ।
अधिकाकर्मी देव कुमारी महराको अगुवाईमा विवाह रोकिएपछि विवाह गर्न नदिएको भन्दै आक्रोसित भएका बेहुलाले श्रीमान् र छोराछोरीको हत्या गरी उखु बारीमा लास फाली दिन्छु भन्दै धम्की दिएको देव कुमारीले बताउनुभयो ।
प्रत्येक दिन अपशब्द प्रयोग गरी फोनबाट पटक पटक गालीगलौज गरेपनि महराले सम्झाई बुझाई गर्न लाग्दा दिनहुँ थप गाली बेईज्जती गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दर्ता गरेको अधिकारकर्मी महराले बताउनुभयो ।
तीन वर्षकी नातिनीसहित तीन छोरीका बाबु महराले छोरा नभएको भन्दै १२ वर्षीया बालिकासँंग विवाहको तयारी गरेको उनकी श्रीमतीले बताईन् । विवाह गर्न नदिएको, छोरा नजन्माएको भन्दै पटक पटक मानसिक यातना दिने, कुटपीट गर्ने तथा गालीगलौज गर्ने गरेको दुखेसो उनकी श्रीमतीको छ ।
महिला अधिकारकर्मीलाई विवाहबारे बताएर विवाह गर्न नदिएको भन्दै छोरी र श्रीमतीलाई समेत मरणासन्न हुने गरी महराले कुटपीट गरेपछि उनकी श्रीमतीले पनि उजुरी दिएको ईलाका प्रहरी कार्यलय बिष्नपुरले जनाएको छ ।
बालिकाका बाबु आमाले भने छोरी धेरै भएको र दहेज दिने सम्पत्ति आफूसँग नभएकाले छोरीको सानै उमेरमा विवाह गरिदिन लागेको बताए ।
Comment Here!