यमुना खनाल
सिराह । चार दिनदेखि लगातार परेको अविरल वर्षाका कारण सप्तरीका दुई दर्जन बढी गाविस डुवानमा पर्दा तीन हजार परिवार समस्यामा परेका छन् ।
डुवानका कारण महिला, बालबालिका, गर्भवती, बृद्धबृद्धा ,सुत्केरी महिलाहरुलाई थप समस्या भएको छ । जोखिममा परेका महिलाबालबालिकालाई सुरक्षित स्थानमा बस्न सप्तरी प्रशासनले आग्रह गरेको छ । जिल्ला विपद ब्यवस्थापन समिति सप्तरीको सोमबार सम्पन्न बैठकले बाढीका कारण सस्यामा परेका महिला बालबालिका,गर्भवती, बृद्धबृद्धासहितको तथ्याङ्ग र अवस्था संकलन गरी उनीहरूलाई चाडै उद्धार राहातका कार्यक्रम पु¥याउने निर्णय गरेको छ ।
सप्तरीकोको बरसाईन गाविसस्थित कुशहा टोलको खाँडो नदीमा आएकोे बाढीमा डुबेर एक युवक बेपत्ता भएका छन् ।
फेसवार्ड गैसस हनुमाननगर शाखाका कर्मचारी मोरङ्गको जतुवा निवासी अन्दाजी २३ वर्षीय सुदिप यादव किस्ता लिन जाँदै गरेको अवस्थामा अचानक बाढीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बाढीको कारण सकरपुरा गाविसका ५ सय, बिषहरिया गाविसका २ सय ५०, लौनियाका २ सय, तिलाँठीका ३ सय, लोखरमका २ सय, रम्पुरा मल्हनियाका ७ सय घर जलमग्न भएको दैवी प्रकोप उद्धार समिति सप्तरीले जनाएको छ ।
को. बरसाईनका २ सय, कोईलाडीका १ सय, तोपाका १ सय, महदेवा, भगवतपुर र बथनाहाका एक–एक सय, भारदहका १ सय ५०, पोर्ताहाका १ सय, बैरबाका ५०, सप्तकोसी नगरपालिकाको फतेपुरका १ सय, पकरीका ६० घर डुबानमा परेका छन् ।
यस्तै दिघवाका १ सय २५, राजविराज नगरपालिका १० का २ सय, देउरी भरुवाका ५० घर डुबानमा परेको छ । यता आइतबार महुली खोलाको तटबन्ध भत्किँदा सप्तरीको मैनाकडेरी गाविसमा पानी पसेको छ ।
जिल्ला विपद व्यवस्थापन समिति सप्तरीको सोमबार सम्पन्न बैठकले स्थानीय प्रहरी समेतको सहयोगमा तीन दिन भित्र बाढी प्रभावितको संख्या र क्षतिको विवरण संकलन गर्नेलगायतको निर्णय गरेको छ ।
त्यस्तै सो बैठकले जिल्लाका १० हजार भन्दा बढी बाढी प्रभावित जनताको खाद्यान्न उपलब्ध गराउनका लागि विश्व खाद्य कार्यक्रमलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । त्यस्तै तत्काल राहतका लागि स्थानीय स्तरका विभिन्न संघ संसथालार्ई अनुरोध गरिेको छ ।
यस्तै बैठकले बाढी प्रभावित क्षेत्रको पहिचान गरी त्यहाँका सर्वसाधारणहरुलाई सजग रहन अनुरोध गर्ने तथा सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा रहन अनुरोध गर्ने निणर्य गरेको छ ।
यसैगरी बाढीका कारण डुवानमा परेको अन्न बालीको क्षति सम्बन्धि जिल्ला कृषि विकास कार्यालयले तथ्याङ्क संकलन गर्ने तथा प्रभावित क्षेत्रमा फैलिन सक्ने महामारीको रोकथामका लागि स्वास्थ्य संस्थालाई सक्रिय रहन र अपुग औषधिको लागि स्वास्थय संस्थाले निर्णय गरी युनिसेफ लगायत सम्बन्धित निकायमा माग गरी आपुर्ति गर्ने एवं स्वच्छ पिउने पानीको व्यवस्थापनको लागि जिल्ला खानेपानी तथा सरसफाई संस्थालाई सक्रिय अवस्थामा राख्ने निर्णय गरेको छ ।
यस्तै पुनःनिर्माण तथा मर्मत सम्भारका लागि तत्काल गर्नुपर्ने बाँध, पुल पुलेसा, बाटो लगायतका संरचनाको पहिचान गरी सम्बन्धित निकायलाई संचालन गर्ने निर्णय गरेको छ ।
यसैबीच लगातारको अविरल वर्षाका कारण बाढीले वगाएर सोमबार उदयपुरमा एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको पूर्वी गाविस रामपुर ठोक्सिला स्थित खहरे खोलामा आएको बाढीले सोही गाविस खोरिया टोलकी ४० वर्षीया कालिमाया राईको मृत्यु भएको हो । घरायसी सामान किनमेल गर्न रामपुर बजार जानेक्रममा राईलाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरीक्षक अमतलाल माझीले बताउनु भएको छ । यसैगरी बाढीले रामपुर ठोक्सिलाको डुड खोलाले जगत बहादुर राईसहितको तीन वटा घर बगाएको स्थानीय रोयल आचार्यले जानकारी दिनु भएको छ । बाढीले घरमा रहेको अन्नपात तथा दुईवटा सुँगुर समेत बगाएको आचार्यले जानकारी दिनु भएको छ । रातिबाट लगातार परेको बर्षाले स्थानीय खहरे खोला उर्लिएका छन् ।
Comment Here!