चुरापोते र मेहन्दीको आडम्बर


प्रकाशित मिति :2016-07-27 11:37:14

पितृसत्तालाई पक्षपोषण गर्ने यस्तो कुसंस्कृती हामीले आफै वरिष्कार गर्न सक्नुपर्छ । साउनमा हरियो पहिरन र चुरापोते, व्रत र मेहन्दी  पितृसत्ताकै प्रतीक हुन् ।

यशोदा अधिकारी
11
‘सँगै पढ्ने रजनीले साउनमा सँधै हरियो चुरा लगाउँथी । उसले पोहोर राम्रो केटा पाएर विहे गरी । त्यसैले मैले पनि लगाएकी हुँ ।’ नेपाल मानविकी क्याम्पसमा विए दोस्रो वर्षमा अध्ययनरत रचनाले हातभरी  हरियो चुरा लगाउनुको रहस्य खोलिन्  । उनी मात्र होइन राम्रो जीवन साथी पाउने आशामा यसरी महिनाभरी चुरा लगाउनेको संख्या बढ्दो छ ।

महिला मेहन्दी, हरियो, पहेँलो चुरा र हरियो कपडा लगाएर साउन महिनाभरि विभिन्न मन्दिर धाउने गर्छन्  । परापूर्व कालमा पार्वतीले कठोर व्रत बसेर महादेव पति पाएको भन्ने मिथकलाई २१ औंं शताव्दीका महिलाले समेत पछ्याइरहेका छन् । साउनको हरेक सोमबार व्रत बसेपछि अविवाहितले राम्रो पति पाउने विश्वास छ भने विवाहितले  व्रत बस्दा पतिको लामो आयु हुने विश्वास छ । यो अवधीमा महत्वपूर्ण काम छोडेर महिला विभिन्न मन्दिर धाउने गर्छन् । तर यो मान्यता आडम्बर मात्र हो ।  विगत केही वर्षयदेखि तडकभडकका साथ सुरु भएको यो संस्कृतिले पछिल्लो समयमा विकृति फैलाएको प्रष्टै देखिन्छ ।

हरेक संस्कृति एउटा रौनक लिएर आउँछ र विकृतिमा पुगेर टुंगिन्छ  । अनी लामो समयसम्म त्यही विकृतीले संस्कृतिको नाममा निरन्तरता पाइरहन्छ ।  हरियो पहिरन, पोते, चुरा र मेहन्दी यसैका प्रतीक हुन् । गतवर्षहरू जस्तै यस वर्षको साउन लाग्ना साथै धेरै महिलाका हातमा हरियो र पहेँलो मिसिएको चुरा र गलामा पोते  देखिए । कतिपयलाई सोध्दा कसैले जवाफ दिन्छन् ‘मन लाग्यो लगाएँ ।’

त्रिभुवन विश्वविद्यालयकी  रेक्टर प्राध्यापक डाक्टर सुधा त्रिपाठी यो परम्परालाई देखासिकीको संज्ञा दिन्छिन्  ।  उनी भन्छिन् ‘ केही समय अगाडिदेखि मात्रै सहरमा यस्तो दृश्य देखिन थालेको हो । एउटाले लगाएको देखेर अर्कोले लगाइरहेका छन् । पितृसत्तालाई पक्षपोषण गर्ने यस्तो कुसंस्कृती हामीले आफै वरिष्कार गर्न सक्नुपर्छ । साउनमा हरियो पहिरन र चुरापोते, व्रत र मेहन्दी  पितृसत्ताकै प्रतीक हुन् ।’
13820632_10210584085144984_687928152_n
मन लाग्छ वा राम्रो देखिन लगाउने हो भने साउनमै किन लगाउनु प¥यो ? प्रश्नको जवाफ छैन । हाम्रो समाजका महिलामा यस्तो कुसंस्कारले जरो गाडेको छ । यतिसम्म की,  देशको मूल कानून बनाउन अग्रसर  कतिपय महिला सांसदको गलामा पनि हरियो पोते र नाडीमा हरियो चुरा देखिन्छ । यसबाट रहेक महिलामाथि हुने गरेको विभिन्न प्रकारका हिंसाविरुद्ध आवाज बुलन्द बनाउन गएका ती महिलाको महिलामूखी कानून बनाउन कस्तो भूमिका रहन्छ ?

त्यस्तो सामन्तवादी संस्कृतिको आ–आफ्नै उत्पतिका इतिहास पनि छन् ।  सन्दर्भ हरियो पहेंलो चुरा पोते र मेहन्दीको मात्रै होइन । तीज, कृष्ण अष्टमीलगायतका चाडवाडमा पनि महिलाले विना संकोच व्रत बस्ने, मठमन्दिर धाउने र पूजापाठ गर्ने गर्छन् । साउनमा हरियो चुरा पोते मेहन्दी महिना भरि लगाउने चलन कस्ले कहाँबाट चलायो त्यसको बारेमा सबैमा अन्यौल नै छ । अन्यौलमै महिला  पैसा र समय खर्चिरहेका छन्  । यसबाट व्यापारीलाई कमाउने मौका त मिलेको छ  नै । महिलाको आर्थिक अवस्था कमजोर बनाइदिएको छ । खाइ नखाइ दुःख गरेर उत्पादन गरेको दुध बेचेको पैसाले रक्सी खाएर श्रीमती कुट्ने श्रीमानको आयु लम्ब्याउन व्यस्त महिला घरबाट निस्केर आर्थिक रुपले आत्मनिर्भर कहिले होलान् ?

हरियो चुरासँगै पहेँलो चुरा र हरियो पोतेसँग पहेलो पोते मिसाएर लगाएकी डिल्लीबजार कन्या क्याम्पसकी जमुनका अनुसार हरियो श्रीमानका लागि र पहेँलो भगवान शिवका लागि हो ।  तर उनलाई त्यसबारेमा अरु केही पनि थाहाँ छैन । उनी सबैले लगाएरको देखेर आफूले पनि लगाएको बताउँछिन् । समाजमा जसले जे हल्ला चलायो त्यसैको पछि दौडने संस्कार छ  ।  हरियो, पहेलो चुरा पोतेको मात्र होइन साउनमा हातमा मेहन्दी लगाउने चलनले त झन् बच्चादेखि वृद्धासम्म जरो गाडिसकेको छ । हातमा मेहन्दी लगाएमा वर्षभरि निरोगी बनिन्छ भन्ने मिथ्या कथनबाट प्रभावित भएर मेहन्दी लगाउने बढेका छन् । चुरा, पोतेसँगै मेहन्दीमा समेत ती महिलाले पैसा खर्चिरहेका छन् । भारतीय संस्कृति अनुसार मेहन्दी विवाहका दिन दुलहीले शृङ्गारको रुपमा प्रयोग  गर्छन् । त्यही चलनको देखासिकी  गरेर नेपालका बालबच्चा, तन्नेरी वृद्धा सबै बेहुली बनिरहेका छन् ।

चुरापोते र मेहन्दी  यसै पनि सामन्ती संस्कारका प्रतीक हुन्  । एक डोरो पोते र एउटा चुराले  आम नेपाली महिलाले कति पीडा खेप्नुपरेको छ भन्ने उदाहरण खोज्न टाढा जानुपर्दैन । परम्परावादी संस्कृतिमा महिलालाई विवाहको दिन श्रीमाने सिउँदोमा राखिदिएको सिन्दुर, लगनका बेला लगाइ दिएको पोते र चुराले  जीवन भरि बन्धनमा  राख्छ ।

एउटी नारी विहे गरेदेखि श्रीमानको लामो आयुका लागि चुरा र पोतेमा सजिएर बस्नु पर्ने  परम्परा लोकतन्त्रमा पनि कायमै छ ।  सदियौँ देखि पितृसत्तात्मक समाजमा रहेको यस प्रकारको कुरीति लोकतन्त्रमा आउँदासम्म पनि हट्न नसक्नुले राजनीतिक परिवर्तन भए पनि सामन्तवादको जरो नउखेलिएको यस्ता  संस्कृतिले प्रष्ट्याउँछन्  ।

उहिले उहिलेका महिला शिक्षा र चेतनाका अभावमा पितृसत्ताले सिर्जना गरेका यस्ता कुपरम्परा अंगाल्न बाध्य थिए भने अहिलेका  शिक्षित महिलालाई रहर भएको छ । चार पाँच वर्ष देखि शुरु भएको हरियो र पँहेलो चुरा, पोते रातो हरियो पहिरन र मेहन्दीको लहरले त्यस्तै संस्कृतिलाइ सघाउ पुर्‍याएको  छ । जवसम्म यस्ता आडम्बर संस्कारबाट माथि उठ्न सकिँदैन तवसम्म समान हक र अधिकारको उपयोगबाट टाढै रहिनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: