सर्मिला बुढाथोकी
दोलखा । जिल्ला मालपोत कार्यालय दोलखा परिसरमा चरिकोटकी म्याडोना श्रेष्ठ निक्कै व्यस्त छिन् । कार्यालय समयमा जग्गा रोक्का,फुकुवा,नामसारीलगायतका काम लिएर जिल्ला मालपोतमा दैनिक सरदर ६०/७० को हाराहरीमा मानिस आउने गर्छन् । उनीहरूको काम छिटो सक्नका लागि म्याडोना एक दशकदेखि सघाइरहेकी छन् लेखापढी व्यवसायी बनेर ।
सहयोगसँगै उनको रोजीरोटी पनि यही व्यवसायले जुटाइदिएको छ । लेखापढी व्यवसायबाट निकै आत्मसन्तुष्टि मिलेको म्याडोना बताउँछिन् । ‘शुरुमा रहर लागेर लेख्न सिकें, अहिले लेखापढी व्यवसाय मेरो रोजगारी भएको छ’ म्याडोना भन्छिन् ।
दोलखा लापिलाङ् गाविसकी अरुणा थापा पनि नेपाली कागजका लिखत र जग्गा पासको ठेली बोकेर सेवाग्राहीसँग मालपोत कार्यालयको बिभिन्न फाँटमा दौडिरहेको भेटिन्छिन् । कामसँगै सेवाग्राहीले खुशीले दिने दामबाट घर खर्च टरेको बताउने थापा जिल्लावासीको सेवा गर्न पाउनु अवसर समेत भएको ठान्दछिन् ।
दोलखा मालपोत कार्यालयमा लेखापढी व्यवसायमा म्याडोना र अरुणा जस्तै ११ जना महिला सक्रिय छन् । कार्यालय समय सुरु भएदेखि अन्त्य नभएसम्म सेवाग्राहीका कागजात बोकेर दौडधुप गरिरहने महिला लेखापढी व्यवसायीले सबैलाई सन्तुष्ट पार्न सकेका छन् र आफूहरू पनि सन्तुष्ट देखिन्छन् । यो व्यवसायमा संलग्न सबैले दैनिक गुजारा र परिवारको लागि केही भरथेग गर्न सकेको म्याडोनाको भनाई छ । कामको क्रममा सेवाग्राहीलेमात्र हैन पुरुष सहकर्मीले समेत सहयोग गर्ने गरेको म्याडोना बताउँछिन् ।
पुरुष सहकर्मीहरू पनि महिला लेखापढी व्यवसायीको कामबाट पूर्ण सन्तुष्ट देखिन्छन् । आफ्नो काममा पुरुष भन्दा महिला बढी लगनशील, ईमान्दार र मेहेनती हुने भएकाले आफ्नो समूहमा धेरै महिला रहने गरेको लेखापढी व्यवसायी नविन श्रेष्ठले बताए ।
लेखापढी व्यवसायबाट मासिक १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताउने श्रेष्ठ सेवाग्राहीलाई सहज र सरल रुपले सेवा प्रवाह गर्न सके आम्दानी हुँदैन की भन्ने चिन्ता नरहने बताउछन् । श्रेष्ठले महिला सहकर्मीले सेवाग्राहीलाई बढी सन्तुष्ट बनाउन सकेको र आम्दानी समेत राम्रो गर्ने गरेको प्रतिक्रिया दिए ।
Comment Here!