महिला खबर
काठमाडौं । राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) ले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले पूर्वाञ्चललाई १० रनले पराजित गर्दै उपाधि जितेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले एक विकेट गुमाएर ६४ रन बनायो । एपिएफका लागि सीता राना मगरले अविजित २९ र सरिता मगरले अविजित २२ रनको योगदान दिए । ६५ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको पूर्वाञ्चलले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ५४ रन मात्र बनाउन सक्यो । पूर्वाञ्चलका लागि रुबिना क्षेत्रीले अविजित १६ रन बनाइन् ।
वर्षाका कारण खेल प्रभावित भएपछि निर्धारित २० ओभरको खेललाई १० ओभरमा छोट्याइएको थियो । उपाधिसँगै एपिएफले एक लाख रुपैयाँ प्राप्त गर्यो । त्यस्तै उपविजेता पूर्वाञ्चलले ५० हजार रुपैयाँ पायो । प्रतियोगितामा ‘प्लेयर अफ दी टुर्नामेन्ट’ एपिएफकी सरिता मगर भइन् । उनले १० हजार रुपैयाँ पाइन् ।
त्यसैगरी पूर्वाञ्चलका सबनम राई उत्कृष्ट फिल्डर, मध्यपश्चिमाञ्चलकी लक्ष्मी चौधरी उत्कृष्ट ब्याट्सवुमन र पूर्वाञ्चलकी सन्तोषी चौधरी उत्कृष्ट बलर घोषित भइन् । उनीहरूले जनही र पाँच हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने २४ खेलाडी नेपाली राष्ट्रिय महिला टोलीमा समावेश हुन पाउनेछन् । राष्ट्रिय महिला टोलीले यसै वर्ष हङकङमा हुने आइसिसी महिला विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगिता खेल्नेछन् ।
Comment Here!