पढाईमा बाधा बन्दै महिनावारी


प्रकाशित मिति :2016-07-28 13:11:29

नुनुता राई
Periodललितपुर । ‘एक गतेदेखि परिक्षा छ, महिनावारी पनि त्यँही समयमा हुन्छ, कसरी परिक्षा दिने हो, ठूलो चिन्ता छ  ।’ कमला चौधरी आगामी भदौ १ गतेदेखि हुने स्नातकोत्तर पहिलो सेमेस्टरको परिक्षाको तयारीमा जुटेकी छिन् । उनी तयारी गरिरहँदा परिक्षासँगै हुने महिनावारीको पीरले थप चिन्तामा परेकी छन् । महिनावारी हुँदा उनलाई तल्लो पेट दुख्ने, वान्ता हुने, पखाला लाग्ने, रिंगटा लाग्ने, शरीरको आधी भाग चलाउनै गाह्रो हुन्छ । पीडा सहन नसकेर रुँदै सुत्छिन् कमला ।

उनी भन्छन् ‘महिला हुनुको पीडा यत्तिबेला लाग्छ, महिला हुनु कै कारण सहन पर्ने यस्ता समस्या पनि प्रगतिको बाधक मध्ये एक हो ।’ उनी पटक–पटक जँचाउन अस्पताल गएकी छिन् । उनलाई जाँच्ने डाक्टरले ‘यो सामान्य हो, विहे गरेपछि निको हुन्छ’ भन्ने जवाफ दिने गरेका छन् । उनले पीडा सहन गाह्रो हुने बताएपछि डाक्टरले ‘मेप्टल’ भन्ने दुखाई कम गर्ने औषधी दिएका छन् । उनी आजभोली महिनावारी भएको समयमा दिनको एउटा गोली सेवन गर्ने गरेकी छिन् । उनले यही समस्याको कारण धेरै पढाई छुटाउनु परेको छ । यो त उदाहरण मात्र हो । यस्ता समस्या भोग्ने किशोरी धेरै छन् ।

तिनै मध्येकी एक हुन् ज्ञानु विष्ट । ज्ञानु पीडा सहन नसकेर बेहोस भई बाथरुममा धेरैपटक ढलेकी छन् । उनलाई अस्पतालको आकस्मिक कक्षमा समेत भर्ना गर्नुपरेको छ । दुखाई कम गर्ने औषधीले समेत कम नभएपछि सुई नै लाउनुपरेका अनुभव उनी सुनाउँछिन् । भन्छिन् ‘महिनावारी हुने समय नजिकिँदै गर्दा मनमा एक किसिमको डर उत्पन्न भईरहेको हुन्छ ।, अब कसरी सहने भनेर ।’  काम गर्ने संस्थामा महिनावारी भयो भनेर विदा माग्नपनि अप्ठ्यारो लाग्ने उनी बताउँछिन् । भन्छिन् ‘महिनामा तीन दिन त अनिवार्य विदा लिनैपर्ने अवस्था आउँछ, तर संयोग मानौ कि भाग्य महिनावारी अधिकांश शुक्रबार हुने कारण विदा लिनु परेको छैन । कहिले काहीँ औषधी खाएर पनि आउँछु ।’

सहनै नसक्ने पीडाले छटपटिरहेको बेला डाक्टरले यो नियमित र सामान्य प्रकृया हो भनेर जवाफ दिने गरेका छन् । चित्तै नबुझने जवाफ पाउँदा थप पीडा भएको अनुभव उनको छ । यस्तो बेलामा परिवारको पनि थप माया र साथको जरुरी पर्छ । अवस्था देखेर अत्तालिएका परिवार पनि कारण थाहा पाएपछि वास्ता गर्न छोड्छन् । उनी भन्छिन् ‘वास्ता गर्नुको साटो महिनावारी भएर हो भनेर थाहा पाएपछि त –ए अघि नै कारण भन्नुपर्दैन हामी त अरु नै के भएछ भनेर कस्तो डराको भनेर हकार्न थाल्छन् । अनि महिनावारीले भएको पीडा चैँ समस्या नै हैन जसो गर्छन् ।’

सुनिता चौधरी जागिरे छिन्  । उनको महिनावारीको समय भएको छ । सँगै उनलाई कार्यालयको कामले जिल्ला जानुपर्ने भएपछि थप समस्यामा परेकी छिन् । महिनावारी हुने दिन र कार्यालयले दिने तालिमको शुरुवात एकै दिन छ । भनिन् ‘कामना गर्दैछु दुखाई कम होस् भनेर । अरु उपाय छैन ।’ महिनावारी भएको बेला हुने समस्या कमला र ज्ञानुको भन्दा सुनिताको अलि फरक रहेको छ । उनको ढाड र स्तन दुखेर हिँड्न, बस्न गाह्रो हुन्छ । सहन नसकेपछि दुखाई कम गर्ने औषधी खाने गरेकी छिन् उनले । सीमा यादवको महिनावारी भएको बेला तल्लो पेट दुख्छ । दुखेपछि शौचालय जान पनि सक्दिनन् । कानुनकी विद्यार्थी सीमाको एउटै मात्र कामना परिक्षाको बेला महिनावारी  नहोस भन्ने हुन्छ । उनी दुखाई कम गर्ने ‘एसिनिल’ नामको औषधी खाने गरेकी छिन् । उनलाई यो कुनै डाक्टरले दिएको औषधी त होइन, तर साथीको दाई डाक्टर छन् र साथीलाई यही औषधी खानु दुखाई कम हुन्छ भनेपछि उनले पनि साथीको सल्लाहमा यो औषधी प्रयोग गरिरहेकी छिन् । यो औषधीले असर नगर्नेमा उनी ढुक्क छिन् ।

टिका गौतमले महिनावारी हुँदा हुने दुखाई सहन नसकेर अस्पताल जाँदा डाक्टरले विवाहपछि निको हुने सुझाव पाइन् । उनले ३ वर्ष अघि विवाह गरिन् । अहिले उनको डेढ वर्षकी छोरी छिन् । आजभोली महिनावारी हुँदा झन धेरै दुखाई हुने गरेको छ । अहिले जाँच गर्न जाँदा सहनुको विकल्प नरहेको डाक्टरहरू सुझाउँछन् । उनी भन्छिन् ‘समस्या त छ, तर यसको अध्ययन नगरेका होलान नभए नियमित प्रकृयामा किन यस्तो धेरै पीडा हुन्छ ?’

स्त्रीरोग विशेषज्ञ डाक्टर सरोजा पाण्डे यो समस्या समाधानको उपाय औषधीमात्र  भएको बताउँछिन् । डाक्टर पाण्डे भन्छिन् ‘यो बच्चा जन्मनेबेला जसरी पाठेघर खुम्चिने र फुलिने प्रकृया हो, त्यस्तै महिनावारीको समयमा पनि हुने हुँदा कसैको बढी दुख्ने हुन्छ ।’

उनका अनुसार यो समस्या औषधीले नै कम गर्ने हो । भनिन् ‘विदेशतिर शल्यक्रियाबाट नसा काट्ने विधि अपनाउन थालिएपनि नेपालमा भित्रिएको छैन ।’ डाक्टर पाण्डेको भनाई अनुसार यो हार्मोनको कारण कसैमा बढी र कम पीडा हुने गरेको हो । यदि कसैलाई बढी नै दुख्छ वा दैनिक कार्यलाई नै असर गर्छ भने अलिकति रगत देखिनासाथ दुखाई कम गर्ने औषधी प्रयोग गर्न सकिने सुझाव उनी दिन्छिन् । कतिपय महिलामा बढी दुखाई भएमा बच्चा नहुने भ्रम हुने गरेकोले त्यस्तो भ्रममा नपर्न उनको आग्रह छ । नियमित चेकजाँचको लागि भने डाक्टरसँग स्वास्थ्य जाँच्न डाक्टर पाण्डेको सुझाव छ । डाक्टर पाण्डेको अनुसार महिनावारी भएको शुरुदेखि नै दुखाई हुँदा सामान्य मान्नुपर्छ यदि पछिदेखि हो भने तुरुन्तै जचाउँनुपर्ने हुन्छ ।

जनस्वास्थ्य डाक्टर अरुणा उप्रेती यो समस्या बढ्नु खानपानको एउटा प्रमुख कारण रहेको बताउँछिन् । भन्छिन् ‘अहिलेको जीवनशैली र खानपान मुख्य कारक हो ।’ अमिलो–पिरो, गुलियो, नुनिलो, चाउचाउ जस्ता खानेकुरा कम खाने र नियमित योग गरे यो समस्या आधा कम हुने उनको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: