सर्मिला बुढाथोकी
दोलखा । दोलखा भीमेश्वर नगरपालिकाकी बिष्णुकुमारी सापकोटाले महिला स्वास्थ्य स्वयमसेवीको रुपमा काम गर्न लागेको २८ वर्ष वितिसक्यो । उनले गरेको सेवाका कारण धेरै सुत्केरी महिलाको ज्यान जोगिएको छ, धेरै बालबालिकाले पुर्नजिवन पाएका छन् ।
आफूले गरेको सेवाका कारण धेरैको घर परिवारमा खुशी छाएको छ, जसको कारण आफ्नो काममा गर्व लाग्छ तर आफू स्वयमले भोग्नु परेको पीडा र समस्याले भने निराश बनाउने गरेको छ – भीमेश्वर नगरपालिकाकी महिला स्वयमसेवी बिष्णुकुमारीले दुखेसो गरिन । वर्षको २/४ हजारले गाउँ गाउँमा गएर सेवा गर्नुपर्छ, न झरीको विश्राम, न परिश्रमको मूल्याङ्कन कहिलेकाहीँ त निक्कै दुख लाग्छ – सापकोटाले भनिन् ।
सुष्पाक्षमावतीकी कमला थामीले पनि महिला स्वयमसेविका भएर काम गरेको निक्कै समय वितिसकेको छ । उनको सेवाले पनि धेरैको परिवारमा खुशी ल्याएको छ । तर उनको पनि गुनासो बिष्णुकुमारीको भन्दा फरक छैन । ‘हामी स्वयमसेविका हौं, धेरै अपेक्षा हाम्रो छैन, तर सामान्य गुजारा हुने गरी सुत्केरी जाँच, पोषण जाँच जस्ता कामको लागि थप सेवा सुविधा दिनु पर्यो’ कमलाले भनिन् । मासिक तलबको आस नगरेपनि सरकारले दिन्छु भनेको मोवाईल फोनको सुविधा, बैठक भत्ता र पोशाक खर्च बढाईदिनुपर्ने कमलाको माग छ ।
सुष्पाक्षमावतीकै अर्की महिलास्वयमसेवी गोमा थामी गाविसमा महिलाको लागि आउने बजेट अन्यत्र खर्च हुने गरेको गुनासो गर्दै त्यो बजेट महिलाको स्वास्थ्य सेवामा खर्च गरिनुपर्ने र स्वयमसेविकालाई गाविसले खाजा खर्च दिनु पर्ने बताउँछिन् ।
उनी भन्छिन् ‘विशेषगरी दुर्गम गाविसहरूमा महिला स्वास्थ्य स्वयमसेविकाले पुर्याउँदै आएको सेवाका लागि सबैले धन्यवाद दिने गरेका छन् । सरकारले पनि उनीहरूको कामको प्रशंसा गर्दै ग्रामीण क्षेत्रको स्वास्थ्य सुधारमा महिला स्वयमसेविको भूमिका महत्वपूर्ण रहेको बताउँदै आएको छ । तर सेवा सुविधा भने कामको तुलनामा अत्यन्त कम रहेको सबैले स्वीकार गरेका छन् ।’
दोलखा जिल्लाका २ नगरपालिका र ४८ गाविसमा १२ सय ५६ जना महिला स्वयमसेविका कार्यरत छन् । उनीहरूका लागि सरकारले अहिले पोशाक भत्ता बापत बार्षिक ६ हजार रुपैयाँ उपलब्ध गराएको छ । त्यस बाहेक गाविसको स्वविवेकले खाजा भत्ता, बैठक भत्ताबापत केही रकम दिने गरेका छन् । खाजा र बैठक भत्ता भने सबै गाविसले नदिएको महिला स्वयमसेविकाहरूको भनाई छ ।
महिला स्वयमसेवी कमला थामी सरकारले नै नीति बनाएर हरेक गाविसले समान रुपमा खाजा तथा बैठक भत्ताको व्यवस्था गरिदिनु पर्ने बताउँछिन् । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका परिवार नियोजन अधिकृत उत्तम कोईराला गाउँ गाउँमा रहेर सेवा गर्ने महिला स्वयमसेविकाहरूका कारण स्वास्थ्य क्षेत्रमा निक्कै टेवा पुगेको भन्दै उनीहरूको कामको तुलनामा सेवा सुविधा दिन नसकिएको स्वीकार गर्नुहुन्छ ।
‘उहाँहरूको नामनै स्वयमसेवी छ त्यसैले तलब सुविधा हुने कुरा भएन, अन्य सुविधा दिन पनि उल्लेख्य बजेट नहुने भएकोले समस्या हुने गरेको छ’ – अधिकृत कोईरालाले भन्नुभयो ।
Comment Here!