महिला खबर
ललितपुर । नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ विजयी हुनुभएको छ । संचारिका समूहकी पूर्व उपाध्यक्ष श्रेष्ठ समाजको पहिलो महिला अध्यक्ष हुनुहुन्छ । उहाँले प्रत्यासी राजु केसीलाई पराजित गर्नुभएको हो । नेपालको पहिलो महिला चलचित्र निर्देशक श्रेष्ठ समाजको सातौं अध्यक्ष हुनुहुन्छ ।
उहाँले नेपाली कथानक चलचित्र अभियुक्त, खै कस्को र प्रेमयुद्घको निर्देशन गर्नुभएको छ । त्यसैगरी आफ्नै कथामा ‘अकल्पित’ र ‘स्मृति’ नामक टेलिसिरियलमा मुख्य सहायक निर्देशन गर्नुका साथै साहारा, समर्पण, संकल्प जस्ता टेलिसिरियलको लेखन तथा निर्देशन गर्नुभएको छ ।
नयाँ जिम्मेवारीपछि नेपाली चलचित्र क्षेत्रमा महिला निर्देशकको संख्या बढाउन विभिन्न कार्यक्रम गर्ने योजना रहेको उहाँले बताउनुभएको छ । उहाँले नेपालको हरेक क्षेत्रमा सकारात्मक परिवर्तनले चलचित्र निर्देशक समाजमा पनि प्रभाव परेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो ‘समाजमा तीन जना महिलाको उच्च तहमा विजयी नै पहिलो परिवर्तन हो, अब कामले सकारात्मक परिवर्तन गर्नेछौं ।’
त्यस्तै समाजको उपाध्यक्षमा रक्षासिंह राणा र दिपम खाँड बिजयी भएका छन् । महासचिवमा गोपालचन्द्र लामिछाने निर्विरोध चयन हुनुभयो । सचिव पदमा शेखर खनाल, कोषाध्यक्षमा विश्वमणी घिमिरे, सहकोषाध्यक्षमा राजु अधिकारी निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा अरुणकुमार प्रधान, समुन्द्र भट्ट, अजित अधिकारी, सानु शाक्य, रञ्जित राना र आरविके शरद विजयी भएका छन् ।
Comment Here!