पोखरा उद्योग वाणिज्य संघमा अध्यक्षसहित सात महिला आकांक्षी


प्रकाशित मिति :2016-08-01 11:21:35

महिला खबर
पोखरा । पोखराकै जेठो संस्था पोखरा उद्योग वाणिज्यसंघको ३१ आैं अधिवेशन नजिकिँदै गर्दा पोखराका महिला उद्यमी नेतृत्व हाँक्ने आत्मविश्वासका साथ चुनावी मैदानमा उत्रिने तयारीमा जुटेका छन् ।

२०११ सालमा स्थापना भएको उद्योगी व्यवसायीको छाता संस्था संघले ६२ वर्षको यात्रा तय गर्दैछ । यो अवधिमा पहिलो पटक अध्यक्षमा महिलाको उम्मेदवारी पर्दैछ । संघमा ३० वटा कार्यसमिति फेरिएका छन् । संस्थापक अध्यक्ष अमृत प्रसाद शेरचनसहित अहिलेसम्म २१ जनाले अध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् ।

 संघको २२ औं अध्यक्षकालागि वर्तमान कार्यसमिति सदस्य हिरा भट्टराई उत्रिँदै छन् । प्रतिष्पर्धामा पाँच पुरुष अध्यक्षका आकांक्षीको भीडमा भट्टराईसहित प्रथम उपाध्यक्ष देव क्षेत्री, कार्यसमिति सदस्यहरू, ईश्वर कर्माचार्य नारायण कोइराला , विश्वशंकर पालिख र धनिराम वराल देखिएका छन् ।

हिरा भट्टराई

हिरा भट्टराई

स्थापनाको लामो समयपछि २०५९ सालमा आएर मात्रै संघमा महिला सदस्यको प्रवेश  भएको थियो । तत्कालिन रमेश कर्माचार्यको कार्यसमितिमा पहिलो निर्वाचित महिला सदस्यका रुपमा संघमा महिला उद्यमी गंगा कुँवर आइन् । निर्वाचित सदस्यका रुपमा एक कार्यकाल विताएपछि उनले संघमा निरन्तरता दिन सकिनन् । त्यसपछिको एक कार्यकाल संघ महिला सदस्यविहिन भयो ।  पुनः २०६३ सालमा दिपक श्रेष्ठ अध्यक्ष भएका बेला दुई जना महिला कार्यसमितिमा प्रवेश गरे । विन्दु कोईराला कार्यसमिति सदस्यमा निर्वाचित भईन् । सोही कार्यसमितिका एक सदस्य विदेश पलायन भएपछि महिला उद्यमी हिरा भट्टराईलाई सदस्यमा मनोनित गरिएको थियो । त्यसयता कोईराला र भट्टराई निरन्तर रुपमा संघमा आवद्ध छन्  भने वर्तमान कार्यसमितिमा अर्की एक महिला थपिईन् । विन्दु कुमार थापा अध्यक्ष रहेको हालको कार्यसमितिमा सीता गुरुङ निवार्चित भएसँगै वर्तमान कार्यसमितिमा महिलाको संख्या तीन रहेको छ ।

एक दशक अघिसम्म ६० जना महिला उद्यमी संघको मतदाता रहेकोमा अहिले ४६७ मतदाता रहेका छन् । जम्मा सदस्यको संख्या करिब तीन हजार रहेको संघले जनाएको छ  ।  संघको आसन्न ३१ औं अधिवेशनका लागि वर्तमान कार्यसमितिका तीन र नयाँ चार जना महिला आगामी अधिवेशनमा चुनावी मैदानमा उत्रने तयारीमा जुटेका छन् ।

 विन्दु कोईराला

विन्दु कोईराला

१० वर्ष संघका विभिन्न पदमा रहेर जिम्मेवारी वहन गरिसकेकी महिला उद्यमी हिरा भट्टराइ आसन्न अधिवेशनमा  अध्यक्ष पदका लागि गृहकार्यमा जुटेकी छन्  ।  हाल कार्यसमिति सदस्यमा रहेका तीन जना पदाधिकारीमा इच्छुक देखिएका छन् भने कार्यसमितिको नयाँ सदस्यमा चिनु गुरुङ, सीता वराल, मुना वास्तोला र गीता तिवारी आकांक्षी देखिएका छन् ।

२०६३ सालमा मनोनित सदस्यमा छिरेर लगातार कार्यसमिति सदस्य र महिला संयोजक हुँदै २०६९ सालमा पदाधिकारीमा पहिलो महिला उप महासचिव बनेर जिम्मेवारी पुरा गरिसकेकी भट्टराई पद्मावति हस्तकला उद्योगका प्रोपाइटर तथा रेडियो जननी ९०.६ की अध्यक्ष समेत हुन् । समृद्ध र वृहत् पोखराको योजनालाई सफल पार्न र व्यवसायीहरूको हक हितका लागि आफ्नो उम्मेदावारी रहेको बताउने भट्टराई यतिबेला आफ्नो पक्षमा वातावरण बनाउन घरदैलो अभियानमा व्यस्त छन् ।

सीता गुरुङ

सीता गुरुङ

त्यस्तै २०६३ देखि निरन्तर संघमा आबद्ध विन्दु कोईराला आगामी अधिवेशन मार्फत उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारीमा छिन् । लामो समय कार्यसमितिमा रहेको हासिल गरेको अनुभवले आफू उपाध्यक्षकोलागि योग्य उम्मेदवार रहेको कोइरालाको दावी छ । हालको कार्यसमिति सदस्य सीता गुरुङ पनि उप महासचिवमा भिड्ने तयारी गर्दैछिन् ।

नयाँ सदस्यमा देखिएका  चेरिष्मा इम्पोरियम एण्ड बुटिककी संचालक सीता बराल पनि व्यवसायमा सफल र स्थापित महिला हुन् । सौैन्दर्य क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल चिनु गुरुङ्ग, गुरुङ ब्यूटि एकेडेमि इन्स्टिच्युटकी संचालक हुन् । मुना बाँस्तोला न्यू गण्डकी डेण्टल क्लिनिक संचालक हुन् भने गीता तिवारी रोश्नी फेन्सी र बुद्ध वातावरणमैत्री फेब्रिक व्याग उद्योगकी संचालक एवं प्रोपाइटर हुन् ।

व्यवसाय सँगसँगै विभिन्न संघसंस्था र सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय यी महिलाको उम्मेदवारीले अव नीति निर्माणको तहमा सहभागी हुनुपर्छ भन्ने चेतना बढेको देखाउँछ भने यी मध्ये केही महिला कार्यसमितिमा आएपनि संघमा विगतमा भन्दा  महिलाको राम्रो प्रतिनिधित्व हुने आंकलन गर्न थालिएको छ  ।

अधिवेशनको मिति टुङ्गो नलागेकाले आकांक्षीहरू अनौपचारिक भेटघाट र छलफलमा व्यस्त छन् । ‘मिति तय भएपछि औपचारिक उम्मेदवारी घोषणासहित चुनावी वातावरण तयार गर्न लाग्नेछु यतिबेला केही आन्तरिक गृहकार्य र योजना तर्जुमामा व्यस्त छु’ अध्यक्षकी आकांक्षी उम्मेदवार हिरा भट्टराइले भनिन्  । संघको अब बस्ने बोर्ड बैंठकले अधिवेशनको मिति तय गर्ने अध्यक्ष विन्दु कुमार थापाले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: