महिला खबर
दोलखा। दोलखा प्रहरीले पहिलो पटक पोलिग्राफ परिक्षण गरी एक बृद्ध महिलाको हत्यारा पत्ता लगाएको छ। दोलखा लापिलाङ गाविसकी ८१ वर्षीया मानशोभा खड्काको गत साउन १० गते हत्या भएको थियो। हत्या आशंकामा प्रहरीले मृतकको माईलो छोरा रेशम खड्कालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो। तर रेशमले हत्या गरेको कुरा अस्वीकार गर्दै आएका थिए।
प्रहरीलाई अनुसन्धानमा समस्या भएपछि रेशमको पोलिग्राफ परिक्षण गर्दा उनले नै हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिनुभयो। मृतक मानशोभाको नाक, मुख र टाउकोमा खुकुरी प्रहार गरी हत्या गरिएको थियो। रेशमले आमासँग पैसा मागेको र नदिएपछि हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
मृतक बृद्धा एक्लै बस्दै आएकी थिइन्। पोलिग्राफ परिक्षणले हत्या रेशमले नै गरेको देखिएपछि थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक सुनुवारले बताउनु भयो।
Comment Here!