मेरा कवितालाई ‘अकविता’ र ‘कोरा नारा’ उपाधि दिएर ‘बुलिइङ’ गरियोःसरिता तिवारी


प्रकाशित मिति :2016-08-02 15:49:40

सबेरै उठेर

उघार्नु छ घरका ढोका

बढार्नु छ कसिंगर र धुलो

पुछ्नु छ भुईं

चमक्क चम्किएको भुईं हेर्दै

मुस्कुराउनु छ गृहिणी मुस्कान

सजाउनु छ बैठक

मिलाउनु छ शयनकक्ष

र ओलम्पिकको स्वर्णपदक जित्ने दौडजस्तो

दौडनु छ भान्साको भूगोलमाथि विहानभर

(‘दैनिकी’ – ‘प्रश्नहरूको कारखाना’-सरिता तिवारी )

मदन पुरस्कार गुठीले यो वर्ष उत्कृष्ट सातको रुपमा छनौट गरेका कृतिमध्ये दुईजना महिला साहित्यकारका पुस्तक परेका छन् – आख्यानकार नीलम कार्की ‘निहारिका’को उपन्यास ‘चीरहरण’ र सरिता तिवारीको कविता संग्रह ‘प्रश्नहरूको कारखाना’ । मनोनित हुनुअघि नै दुवै कृतिले विषयवस्तु र विचार प्रधानताका कारण ‘निकै बलिया’ भनेर चर्चा कमाइसकेका थिए ।

मदन पुरस्कार पाउनेमा कविताका कृति निकै कम रहेका कारण पनि कवि तिवारीको कवितासंग्रह उत्कृष्ट सातमा पर्नुले धेरैको ध्यान खिंचेको छ । यसबाहेक संस्थापनको विपक्षमा उभिने भनेर चिनिएको लेखनधार प्रगतिशील लेखनकै प्रतिनिधित्व गर्ने तिवारीको मनोनयन त्यस अर्थमा पनि उल्लेखनीय मानिएको छ ।  प्रस्तुत छ – प्रगतिशील लेखक संघकी केन्द्रीय सचिव समेत रहेकी सरिता तिवारीसँग उनको लेखन र पुरस्कारसँग सम्बन्धित रहेर महिलाखबर डट कमले गरेको कुराकानी ।

मदन पुरस्कारका लागि छानिएका उत्कष्ट सातमा यहाँको कवितासंग्रह ‘प्रश्नहरूको कारखाना’ पनि परेको छ । कस्तो लागेको छ ? कस्तो प्रतिक्रिया पाईराख्नुभएको छ ?

म ट्विटर खासै चलाउदिनँ । पत्रकार शोभा शर्माले मलाई ट्याग गरेर ट्विटरबाट फेसबुकमा शेयर गरेकी रहिछन् । देख्नासाथ शुरुमा त होइन जस्तो लाग्यो, कसैले मजाक पो गरेको हो कि जस्तो पनि । मदन पुरस्कार गुठीले यसपालीबाट उत्कृष्ट दश पुस्तकको सूची सार्वजनिक गर्ने भनेको रहेछ र त्यसै अनुसार सूची प्रकाशित गरिएको रहेछ । मैले खासै चासो राखेको थिइन ।

आफ्नो किताब यो सूचीमा परेको देखेर म तीन छकमात्र होइन तीनसय छक परें । यो मेरा लागि सोच्नु न सम्झनुको खबर थियो । प्रकाशकमणि शर्मालाई फोन गरेर ‘प्रश्नहरूको कारखाना पनि मदन पुरस्कारको सूचीमा परेछ नि’ भनेको त उनी पनि उसैगरी जिल्लिए । ‘यस्तो कुरो त शेयर गरिहाल्नुपर्छ नि’ भनेर सुझाए । त्यसपछि समाचार शेयर गरें । बधाई र शुभकामना आउन थालिहाले । अधिकांश प्रतिक्रियाहरू औसत नै छन् । लौ बधाई ! शुभकामना !! यस्तै ।

प्रश्नहरूको कारखानाकी लेखक सरिता तिवारी

प्रश्नहरूको कारखानाकी लेखक सरिता तिवारी

किताब निकाल्नु अघि कुनै सज्जनले भनेका थिए, ‘तिमीसँग मुद्दा छ, तर मुद्दाले मात्र पुग्दैन स्पष्ट दृष्टि र खरो बोध पनि चाहिन्छ । आफ्नो दृष्टिलाई तिखार, बोधलाई निखार । निर्भीक भएर लेख । कसैसँग नडराऊ । आफैंसँग पनि नडराऊ । पुरस्कार र प्रतिष्ठाको बारे त सोच्दै नसोच । यस्ता आकांक्षाहरूले मान्छेलाई कमजोर बनाउँछन् ।’ आदि । मलाई किताबमा आफैँले लेख्ने भूमिका लामो पार्न सुझाउने पनि उनै थिए । यी कुरालाई गाँठो पारेरै राखेकी थिएँ । कसो कसो भावुक भइहालेछु ।

अरु सबै कुरा भन्दा पहिले आमालाई सम्झिएँ । कुनै बेला कास्कीको एक दुख्याहा गाउँबाट नाङ्गा खुट्टाले अदुवाको डोको र परालको भारी बोकेर रातदिन पोखरा बजार ओहोरदोहोर गर्ने आमाका संकल्पका दिन सम्झें । आमाले आफ्नो चप्पलसम्मको खाँचो मारी मारी हाम्रा लागि देखेका सपना सम्झें । हामीलाई पढाइलेखाइ गराएर ‘मान्छे’ बनाउन आमाले सहेका काला बादल भन्दा दुःखदायी घटना सम्झें । एउटी बिधवाको अमर्खमाथि सधैं खिसी र कटाक्षका तीर फ्याँक्ने छरछिमेक र इष्टमित्रका दुष्ट आँखाहरू सम्झें । मलाई यो मनोनयन मेरो किताबको होइन मेरी आमाको सपनाको हो भन्ने लाग्यो

मैले आजसम्म आमालाई केही दिन सकेकी छैन । पोखरा फोन गरेर खबर सुनाउँदा आमाले भन्नु भो ‘लौ कान्छा (मलाई आमा, दाइदिदी सबैले ‘कान्छा’ भन्नुहुन्छ), मेरो दूधको मान राखिस् !’ अक्षरसम्म खुट्याएर पढ्न जान्ने आमाले यो संसार चाहिँ राम्रै पढ्नुभएको छ । जिन्दगी कति निर्मम छ बुझ्नुहुन्छ । सितिमिति खुशी हुनुहुन्न । सालाखाला सफलताले उत्तेजित पनि हुनुहुन्न । यसपाली आमा खुशी हुनुभयो । मलाई यही पर्याप्त लागेको छ । बरु मेरै आफ्नै लेखनमार्गका सहयात्री अर्थात प्रगतिशील तप्काका कतिपय साथीहरू भने धेरै दिनसम्म चुप लाग्नुभयो । एकाधले त मैले समाचार किन शेयर गरेको भनेर समेत सोध्नु भयो ।

मदन पुरस्कारका लागि आफ्नो मनोनयनबारे तपाईंको आफ्नो धारणा चाहिं ?

यो सरकारी होइन निजीस्तरको गुठी हो । कसलाई पुरस्कृत गर्ने वा नगर्ने उसको कुरा हो । तर वर्षौंदेखि जनमानसमा यसले आफूलाई मानकीकृत चाहिं गरेको छ । मदन पुरस्कार प्राप्त कृति एकाएक धेरै बिक्री हुनु , विभिन्नस्तरका सार्वजनिक पुस्तकालयमा तिनै किताब राख्न जोड गरिनु र पत्रपत्रिका, स्कुल, युनिभर्सिटीलगायतका ज्ञाननिर्माणका वृत्तमा यिनैको बारम्बार चर्चा हुनु यही मानकीकरणका दृष्टान्त हुन् । मदन पुरस्कार प्राप्त भएको कृति एक्कासी मानिसको नजरमा पर्ने गरेको छ ।

यसबारे मेरो उत्पात अपेक्षा र आग्रह र दुराग्रह पनि छैन । मैले पुरस्कारकै लागि भनेर त लेखिन नि । मेरो लागि लेख्नु भनेको आफ्नो कुरा भन्नु हो । मैले भनेको खरो, खस्रो कुराले पनि बौद्दिक जगतको ध्यान खिचेको छ । म यसलाई आफूले उठाएका उत्पीडित, सीमान्तकृत, महिला, थारू र अल्पसङ्ख्यकहरूको मुद्दालाई ‘नोटिस’ गरिएको रुपमा लिन रुचाउँछु ।

मदन पुरस्कारका लागि यो वर्ष उत्कृष्ट सातमा परेको कृति

मदन पुरस्कारका लागि यो वर्ष उत्कृष्ट सातमा परेको कृति

किताबले पुरस्कार पाओस नपाओस, तर यी इस्युहरू स्थापित हुने क्रममा छन् भन्ने संकेतको रुपमा पनि मैले बुझेकी छु । समकालीन धारणा निर्माणको एउटा ठूलो संस्थापन संस्थाले नै त्यसको सांस्कृतिक अनुमोदन गरिदिएपछि मानिसहरू प्रतिरोधी विचार समेत पढ्न प्रेरित रहेछन् । व्यक्तिगत रुपले यसलाई म खुशी नहुनुपर्ने कुरा ठान्दिनँ । मेरो किताब नपढिकनै ध्वस्तै गाली गर्नेले पनि अहिले आएर किनेर पढेका छन् । प्रतिक्रिया दिएका छन् । यसपाली सार्वजनिक गरिएका सबै पुस्तकको सूची हेर्दा यो समावेशी र प्रतिनिधित्वमूलक पनि लाग्दैछ ।

एकातिर कविता पढिंदैनन्, कविताका किताब बिक्दैनन् भन्ने प्रचलित भनाई छ, अर्कातिर कविताकै कृतिमा यहाँ मदन पुरस्कारका लागि मनोनयनमा पर्नुभएको छ, यसबारे के भन्नुहुन्छ ?

कविता पढिँदैनन् होइन कम पढिन्छन् भन्नु ठीक होला । सामान्यतयाः कविता पढ्ने भनेको आभ्यासिक र स्थापित कविहरूले नै हो । अथवा सारै सानो र पारखी बौद्धिक सर्कलले हो । तर साहित्यका सबै बिधामा यसको गहिरो प्रभाव परेको हुन्छ । एउटा प्रबन्धात्मक गैरआख्यान लेख्ने लेखक पनि कविताबाट उत्तिकै प्रभावित हुन सक्छ जति काव्य ,निबन्ध र आख्यान  लेख्नेहरू प्रभावित भएका हुन्छन् ।

कविताको पठनले भाषालाई कलात्मक र ओजिलो बनाउने भएरै अन्य विधाका लेखक पनि कविता रुचिपूर्वक पढ्छन् । कविताको मूल्य कम छँदै छैन । आज पनि ‘मुनामदन’ , ‘आमाको सपना’ वा ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ नै लगातार सबैभन्दा बढी रुचिले पढिएका किताब हुन् । सबैभन्दा बढी बिक्रिको रेकर्ड पनि यिनै कृतिसँग छँदै छ । जहाँसम्म मदन पुरस्कारको प्रसङ्ग छ, यसअघि निकै कममात्र कविता कृतिहरूले यो पुरस्कार पाए ।

थालनी भने संभवतः कविताबाटै भएको हो, गोपालप्रसाद रिमालको ‘आमाको सपना’  बाट । मोदनाथ प्रश्रित, मुकुन्दशरण उपाध्याय र दिनेश अधिकारीका कृति पनि परेका हुन् । तर नेपाली कविले उपन्यासकार वा गैरआख्यान लेखकले भन्दा कमजोर किताब लेखेका अवश्य होइन । अहिलेका कैयौं उपन्यासभन्दा हाम्रा अग्रज कविका कविता सयौं गुणा उपल्लो कोटीका छन् ।

विमल निभा, बेञ्जु शर्मा, वानिरा गिरी, श्यामल,  कुन्ता शर्मा,  भूपाल राई, आहुति,  श्रवण मुकारुङ जस्ता कवि कम्ती बलिया छन र ? पुरस्कार नपाएरै कुनै बिधा टाक्सिने भए नेपालमा कविता त उहिल्यै लोप हुनुपर्ने ! तर हामी असल कविताको चेतना–परागले झन् बढ्दैछौं ,फैलँदै छौं । यसपाली कविता पनि सूचीमा पर्नुले कविता लेख्नेलाई उत्साहित बनाएको छ ।

तपाईंका कवितालाई ‘कोरा नारा’ वा ‘अकविता’को संज्ञा दिइयो । आफ्नो आलोचनालाई लिएर सामाजिक सन्जालमा तपाईंले दिएका अभिव्यक्ति अशोभनीय थिए भन्ने चर्चा चल्यो । त्यतिबेलाको र अहिले अर्थात मदन पुरस्कारका लागि मनोनयनमा पर्दाको आफ्नो अनुभूतिलाई तुलना गर्दा के पाउनुहुन्छ ?

खासमा यो प्रसङ्गमा म जान चाहन्नथें । तर प्रश्न आइसकेपछि उत्तर दिनैपर्यो । मेरो किताब सार्वजनिक हुँदा देशमा नाकाबन्दी चलिरहेको थियो । रमाइलो कुरा, यो किताबमाथि पनि नाकाबन्दीकै नियति दोहोर्याउन नाभिदेखिको प्रयत्न गरियो । त्यतिबेला के-के भनियो भन्दा पनि के-के भनिएन भनेर सोध्नुस न । मेरा कवितालाई ‘अकविता’ र ‘कोरा नारा’ उपाधि दिएर शुरु गरिएको यो ‘बुलिइङ’को रस्सी निकै लामो खिंचियो ।B1

केही समीक्षाहरू पनि प्रायः मेरो वैचारिक प्रतिबद्धता र पक्षधरताप्रति लक्षित भए कि जस्तो मलाई लाग्यो । मौनताको धर्म पुरा गर्ने नाममा कुनै पनि प्रकारको पाखण्ड पालना गर्न नसक्ने स्वभाव छ मेरो । समीक्षक लेखकसँग असहमत हुन पाएजस्तै लेखक पनि समीक्षकसँग असहमत हुन पाइन्छ भन्ने सामान्य निजी मान्यताको आधारमा फेसबुकमा आफ्नो विमति राखें । मैले गरेको ‘अशोभनीय हरकत’को फेहरिस्त यत्ति नै हो । यसबाट कतिपयले मलाई आलोचना सुन्न नसक्ने प्रसंशापूजकको रुपमा प्रचार गरे ।

एउटा प्रतिष्ठित राष्ट्रिय दैनिकको त्यतिबेलाका साहित्यिक पेज संयोजकले ‘यस्ता लेखक नि भुत्राको लेखक’ जस्ता अभद्र कमेन्ट लेखे । यसले त झन् एकथरी मानिसलाई मेरो पब्लिक बुलिईङ गर्न सजिलो निहुँ नै मिल्यो । बाटो-दोबाटोमा मलाई चेतावनी दिने त कति भए कति !

नसिहत दिने र धम्कीको भाषाले छिचोरापन देखाएर नग्न आलोचनामा उत्रनेको त कुरै नगरौं । कविता लेखेरै तालिबानी र आइएसआइको बिल्ला भिराइएको ‘बौद्धिक आतंकवादी’ पनि बनियो । त्यत्रो के नै गरेको हो र ? केही थान कविता न लेखेको हो । त्यसको बदलामा मेरा कलिला नानीको मनोविज्ञानमा समेत ठाडो असर पर्ने गरी मेरो मातृत्व र नारीत्वमाथि सार्वजनिक धावा बोलेर चितवनकै एकजना ‘वुद्दिजीवी’ले कविता नै लेखे । मेरो कविता संग्रहको शीर्षकलाई ‘घृणा कारखाना’ नामाकरण गरेर मेरो नाममा अन्टसन्ट लेखिएको कविता खुल्लमखुल्ला सामाजिक सन्जालमा पोस्ट गरियो लगभग २५ जनालाई ‘ट्याग’समेत गरेर ।

अहिले हाँसो लाग्छ- एउटा कविविरुद्ध, एउटा किताबविरुद्ध यसरी अभियान नै चलेको सम्झँदा । मान्छे यतिविधि मानसिक असुरक्षाबाट ग्रस्त भएको सम्झँदा । रातारात सामाजिक सञ्जालमा कविता र अकविताको भयंकर बहस गर्ने पण्डित प्रकट भएको सम्झँदा । तर यही ‘आतंकवादी’को ‘बौद्धिक आतङ्क’लाई देशको बौद्धिक सत्ताको एउटा बलियो केन्द्रले वर्षका उत्कृष्ट सात कृतिमा सूचीकृत गरेको छ । यही नै उहाँहरूका लागि जवाफ हो ।

सामाजिक सन्जालमार्फत ‘कविताको छाला ओढेर अकविता शहरमा आतङ्क मच्चाउँदै हिँडिरहेको’ भनेर शहरलाइ ‘अलर्ट’ गराएका सज्जनहरूकै कृपाले पनि मेरो किताबलाई सर्वत्र चासोको विषय बनाउन सघायो नै । म उहाँहरूलाई सादर धन्यवाद मात्रै भन्न चाहन्छु । त्यतिबेला र अहिलेको मेरो मानसिक अनुभूतिमा खास फरक केही छैन । म त्यतिबेला पनि हतास थिइन र अहिले धेरै फुर्किएकी पनि छैन । किनकि यी जम्मै कुराभन्दा माथि छ मेरो प्रतिबद्दता । मेरो काम लगातार आफ्नो ढङ्गले, आफूले ठम्याएको, ठहर गरेको सत्यलाई पछ्याउने हो । अहिले पनि म आफ्नो काममै ब्यस्त छु ।

प्रगतिशील लेखक मदन पुरस्कारको कटु आलोचना गर्छन् । प्रगतिशीलले यो पुरस्कार लिनु हुँदैन भन्छन् । तपाई आफैं प्रगतिशील लेखक संघको सचिव हुनुहुन्छ । प्रगतिशील लेखक साथीहरू वा तपाई आबद्ध संस्थाबाट यसबारेमा कुनै सुझाव (वा दवाव) आएको छ कि ?

हो, प्रगतिशील लेखक मदन पुरस्कारको आलोचना गर्दै आइरहेका छन् । पुरस्कारले मूल रुपमा संस्थापनाकै ज्ञान केन्द्रका रुपमा काम गर्दै आइरहेको छ भन्ने मान्यता आजसम्मका पुरस्कृत कृतिको रेकर्डको आधारमा पनि बनेको हो । तर पछिल्लो समय संघीयता र पहिचानको आन्दोलनको खुला पक्षपोषण गर्ने उपन्यासलाई पुरस्कृत गरिनुले मुद्दाकेन्द्रित लेखन पनि अब नजरबाट ओझेल परेको छैन भन्ने देखाउँछ ।

वर्षैभरि नियोजित आलोचना खाएर बसेको आफ्नै पुस्तक छनोटमा पर्दा मलाई तीन दिनसम्म आश्चर्यले रिँगटै लाग्यो । नढाँटी भन्दा यो खबरले मैले दिमागमा निकै शीतलता महसुस गरें पनि । अर्कोतिर, साथीहरू चाहिँ कुनै प्रतिक्रियासम्म गर्दैनन् ! माथि नै भनें एकादुईले चाहिँ ‘कति खुशी भएर न्युज शेयर गरेको ? तपाईंलाई दिने त होइन !’ सम्म पनि भने । पछि फाट्टफुट्ट बधाईका म्यासेज आए । केहीले मुद्दा स्थापित गर्ने राम्रो अवसर हो भने  । अहिलेसम्म पुरस्कार लिनुहुन्न भनेर कसैले कुनै दबाब चाहिं दिएको छैन ।

b5

मैले बुझेको छु, यो कुनै संस्थागत भन्दापनि लेखकको वैयक्तिक निर्णयको कुरा हो । यसका बारे राष्ट्रिय बहस भएर साझा धारणा बनाउन पाए सबै स्पष्ट हुने थिए भन्ने पनि लागेको हो मलाइ केहि वर्ष अघिदेखि नै । अर्कातिर यसले हामीले उठाएको विषय,  हाम्रा मुद्दालाई संज्ञान र विमर्शको तहमा उक्लिने अवसर दिएको छ भनेर सोच्ने हो भने मदन पुरस्कारको छनोटमा पर्नु नराम्रो होइन ।

यो उफ्रिँदै उत्तेजनामा नाच्नुपर्ने कुरा होइन, तर दुःखी भएर झोक्राउने कुरा पनि होइन । मनोनित भएकै कारणले मदन पुरस्कारको सम्पूर्ण शुद्दीकरणको जिम्मा कुनै अमुक लेखकले लिनुपर्छ भन्ने वा लिन सकिने कुरा पनि त होइन ।  त्यसैले म स्पष्ट छु । मैले पुरस्कारलाई अस्वीकार वा बहिष्कार गरेकी छैन ।

समाजका स्थापित मान्यतासँग महिलाको संघर्ष सँधै जारी छ । उता प्रगतिशील धारका लेखक पनि आफ्नो लेखनीमार्फत समाजका स्थापित मान्यतालाई चूनौति दिएको दावी गर्छन् । प्रगतिशील धारकै महिला लेखकको रुपमा तपाईलाई संघर्षको बोझ दोहोरो भएजस्तो लाग्दैन ?

प्रगतिशीलतालाई शब्दमा ग्रहण गर्ने कि लेखकको दृष्टिकोण, समाजबोध र अभ्यासमा ? मुख्य प्रश्न यहाँ छ । नेपालमा प्रगतिशील हुनु भनेको कुनै कम्युनिष्ट पार्टीको सदस्य बन्नु वा तिनको झण्डामुनि वफादार भएर बस्नुलाई बुझिन्छ । यो सोच सारै यान्त्रिक छ । बाँकी जम्मै कुरा यसैले बिगारेको छ । अमुक पार्टीको सिफारिस बोकेपछि वा त्यसको लेवल लगाएर हिँडेपछि जस्तोसुकै सामन्तवादी र पश्चगामी सोचको लेखक पनि प्रगतिशील हुन सक्ने भन्ने रीत चाहिं न्यायसंगत होइन ।

यसको असर सांस्कृतिक रुपले महिलालाई हेर्ने, महिलाको पक्षमा लेख्ने र तिनको संघर्ष, तिनका सपनामाथि न्याय गर्ने कुरामा पनि परेको छ । प्रगतिशील तप्काभित्रैका सबै पुरुष महिलाको पूर्ण मुक्तिको कामना राख्छन भनेर अपेक्षा गरिहाल्न सकिने स्थिति अहिले छैन । तर उदार र महिलामैत्री पुरुष साथी पनि नभएका चाहिँ होइनन् ।

सामाजिक र सांस्कृतिक रुपमा महिला–पुरुष मिलेर गर्नुपर्ने सामूहिक आन्दोलनको धारा बलियो नबनाई वा त्यसलाई एकीकृत मिसनको रुपमा विकास नगरी परिवर्तन सम्भव नदेख्ने साथीहरू छन् । यसमा सबै प्रकारका मुद्दा, प्रतिरोधका सबै धारा पर्छन् । यो देख्दा हौसला आउँछ ।B2

तर कार्यभारकै रुपमा भने पुरुषको तुलनामा हामी बढ्ता बोझिलो यात्रामा छौँ भन्ने मलाई पनि लाग्छ । ब्यक्तिगत रुपमा भनुँ  कहिलेकाँही त कुन मुद्दालाई प्राथमिक बनाउने भन्ने कुराले तनावै दिन्छ । महिलाको विषय मूल आन्दोलनबाट फरक कुनै अलग्गै कुरा त होइन, तर प्रासंगिकता र आवश्यकताले बढी फोकस यसैमा गर्नुपर्ने हुन्छ । यस्तोमा आफ्नै साथीहरूको शंकाको कोपमा पनि परिन्छ कहिलेकाहीं । मेरो ‘हे देवी’ कविताले यस्तै ‘मिसअण्डरस्टयाण्डिङ’ को सामना गर्नु पर्यो ।

वास्तवमा त्यो कविता आद्य समाजका शक्तिस्वरुपा महामाताहरू आजको पुँजीवादी युगसम्म आइपुग्दा सांस्कृतिक रुपले कसरी हीनतर बनाइए भन्ने समाजशास्त्रीय फ्रेममा लेखिएको कविता हो भनेर बुझाउनै गार्हो पर्यो मलाई । त्यसैले कहिलेकाहीं संघर्ष दोहोरो हो कि भनेजस्तो त लाग्छ नै ।

महिला भइकन लेखक हुनु कत्तिको गाह्रो वा सजिलो छ ? लेखनसँग महिला हुनुका संघर्ष वा चूनौति सम्बन्धित छन् कि छैनन ?

विकसित समाजमै हेरौं, आजभन्दा अढाई सय वर्ष अगाडिसम्म सार्वजनिक वृत्तमा महिलाको प्रवेश निषेधित जस्तै थियो । फ्रान्सेली राज्यक्रान्ति पछिका अनेकौं संघर्ष र उभारले पश्चिमी समाजका महिला धेरै अगाडि आए । हाम्रोमा देवी, सरस्वती, दुर्गा भनेर पुज्ने भएपनि यथार्थमा महिला कुण्ठित र पददलित नै रहे । आज जे जस्तो अवस्था छ, लेखन या कलाका अन्य विधामा जसरी महिला आइरहेका छन् यसमा मुख्य अवदान पश्चिमा आन्दोलनहरूकै छ ।

म पनि क्लारा जेट्किनहरूकै संघर्षका इतिहास पढेर आएकी हुँ । पारिजात र तसलिमा नसरिन पढेर आएकी हुँ । लिन्डा ब्रेन्ट, माया एन्जेलो र अरुन्धती रोय पढिरहेकी छु र मेरो समाज पनि । अत्यधिक सांस्कृतिक ढोंग भएको चरम पाखण्डी र अनुदार समाजमा बसेर लेखक बन्ने सपना पाल्नु कति खतरनाक कुरो रहेछ म पनि बल्ल बुझ्दै छु । जहिलेसम्म तपाईं आलङकारिक र उपरी तहका कुरा मात्र लेखिरहनु हुन्छ तपाईं सबैकी प्यारी ‘चेली’ बनिरहनुहुन्छ तर जब समाजको संरचनागत हिंसा र बिभेदको तह देख्ने गरी सचेत हुनुहुन्छ अनि देवी पुज्ने हातको असलियत बाहिर आउन थान्छ । तिनै हातले तपाईंलाई उभिण्डो पारेर आगो झोस्न थाल्छन् ।

लेखक भनेको ज्ञानको निर्माता हो । समाज ढुंगाको मुर्तिका रुपमा त महिलाको महिमामण्डन गर्छ, तर साकार महिलालाई ज्ञाननिर्माता भएको देख्नुमा उसलाई चरम हीनताबोध हुन्छ । यसमा ऊ आफ्नो पौरुष हारेको ठान्छस्वास्नीमान्छेलाई वेश्या बनाएर भोग्न एक सेकेण्ड नहिच्किचाउने, तर विदुषी भएर माला लगाएको सहन नसक्ने शासक सोचले ग्रस्त छ समाजको मूलधार । त्यही संरचनाभित्र तपाई स्थापित मान्यतालाई चूनौति दिन उभिनुहुन्छ भने बुझ्नुस् तपाईं अब धेरैका लागि खतरा बन्दै हुनुहुन्छ। तपाईंका बाउआमा, लोग्ने, सन्तान, इष्टमित्र, समाज, राज्यसत्ता सबैका लागि । अनि तपाईंका संघर्ष कति होलान् ? तपाईं को-कोसँग भिड्नुपर्ला ?

b4

म आफू बसेको समाज नै मलाई लेखक सकारेको म पाउँदिन । म समाजकै सरोकारले लेख्छु भन्दै चिच्याएर थाक्दिनँ तर मेरै छरछिमेक, समाजलाई म लेखक हुनुसँग रौंजति पनि सरोकार छैन । घर, जागिर, पढाई र लेखन एकैचोटी समेलेर काम गर्दा म कति ब्यस्त हुन्छु होला सोच्नुस् त ! तर चोकमा बसेर समय कटनी गर्ने दिदीबैनी अगाडिपछाडि सोच्दै नसोची भन्छन् ‘उ हिँडी, क्या मोज छ त्यसलाई ! हेर हेर !!’ त्यस्तो कुन चीज छ जसले आफ्नै वर्ग भनेका महिलालाई यस्तो डरलाग्दो ईर्ष्या पाल्ने बनाउँछ ?  हामीले काम गर्ने त यहाँनिर हो नि । र यो काम सजिलो त छँदै छैन ।

एकचोटी पस्नुस्, तीन लोकका अपार हविगत देखिन्छन् । बाफ रे ! यति धेरै चूनौति छन् । तर केही सोकल्ड ‘बुझक्कडहरू’ महिला भएर लेखक हुनुमा कुनै दुःख, कुनै संघर्ष नै देख्दैनन् । शायद हाम्रो युगको दुःख यही हो । समयले यो दुःख छिचोल्ने साहस हामीसँगै मागेको छ ।

लेखनमा लाग्न चाहने युवा पुस्ताका महिलालाई तपाईँको सन्देश ?

साथीहरू, समय हिजोको जस्तो छैन । लेख्ने बेला एक्लाएक्लै भए पनि हाम्रो गोल ‘कलेक्टिभ’ हो । तपाईँसँग लेखक बन्ने सपना र छातिभित्र अभिब्यक्तिको ताप छ भने मस्तले लेख्नुस् । अबको लेखक आवेगले मात्र होइन समाजबोधले दरिने छ । समयको आवाज सुन्नुस् बुझ्नुस् र मुटु दरो पारेर यात्रामा निस्कनुस् । हरेक युगले आफ्नो युगको लेखक आफ्नै प्रसवले जन्माउँछ । समय आएपछि त्यसले तपाईंलाई नजन्माई सुखै छैन । तपाईंलाई शुभकामना !

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: