विद्यालयमा छुट्टै शौचालय नहुँदा छात्रा र शिक्षिकालाई समस्या


प्रकाशित मिति :2016-08-03 12:25:46

 निरज सापकोटा
रामेछाप । जनजागृती उच्च माध्यमिक विद्यालय बेतालीको कक्षा १० मा अध्ययनरत छात्रा गंगा घिमिरे (नाम परिवर्तन) ले विद्यालयमा महिलाका लागि छुट्टै शौचालय नहुँदा समस्या हुने गरेको बताईन् । रामेछाप जिल्लाका अधिकांश माध्यमिक विद्यालयहरूमा शौचालय त छन्, तर ती  शौचालय महिला मैत्री नहुँदा छात्राले विद्यालयमा नियमित कक्षा लिन नसकेको बताए ।

‘विद्यालयमा छुट्टै शौचालय नहुँदा महिनावारीका समयमा विद्यालय जानै मन लाग्दैन’ घिमिरेले भनिन् ।  विद्यालयमा भएको शौचालयमा चुकुल समेत नहँदा छात्रा र शिक्षिकालाइृ झन समस्या पर्ने गरेको छ ।  घिमिरे भन्छिन् ‘अघिपछि पनि विद्यालयमा शौचालय जाँदा कम्तीमा एकैटक २ जना जानुपर्छ, पालैपालो शौचालयको ढोकामा पाले बस्नुपर्छ ।’

जिल्लामा रहेका ४२८ वटा विद्यालयमध्ये थोरैमामात्र महिलाका लागि छुट्टै शौचालय रहेको छ । अझै कतिपय विद्यालयमा त शौचालय बनेकै छैनन् जुनमा छन ती पनि छात्रामैत्री छैनन् । ‘विद्यालयमा महिनावारीका समयमा आवश्यक पर्ने सेनिटरी प्याड  उपलब्ध हुँदैन, भएपनि कहाँ गएर फेर्ने हो त्यसको समस्या झनै धेरै छ, प्याड फेर्नका लागि पनि पुरानो प्याड कहाँ लगेर फाल्ने त्यो ठाउँ नै हुँदैन’ रमा बरुवाल (नाम परिवर्तन)ले भनिन् ।

‘विद्यालय जाँदा सबैभन्दा तनाव हुने समय नै महिनावारी हुँदा हो, अघिपछि जसो तसो चल्ने गरेको छ’ छात्राले एकैस्वरमा भने । जनजागृती उ.मा.वि.कि घिमिरेले भनिन् ‘अघि पछि त जसो तसो विद्यलयमा साथीहरूलाई ढोकामा बस्न लगाएर भनेपनि शौचालयको प्रयोग गरिन्छ, तर महिनावारीको समयमा कहिलेकाँही धेरै  ब्लीडिङ भयो भने के गर्ने होला भनेर पहिल्यै डर लाग्छ अनि विद्यालय जाने आँट नै आउँदैन ।’

जनजागृती उच्च माध्यमिक विद्यालय बेतालीका निमित्त प्रधानाध्यापक प्रेम नारायण श्रेष्ठले महिला मैत्री शौचालय नहुँदा छात्रालाई मात्र होइन शिक्षिकालाई समेत समस्या हुने गरेको बताए । उनले भने – ‘जिल्लाका धेरैजसो विद्यालयमा महिलामैत्री शौचालय छैनन् । महिला मैत्रीको त कुरो नै नगरौं विद्यालयमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै शौचालय नै छैनन् ।’ महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय अत्यावश्यक भएको उनी बताउँछन् ।

उनले अगाडी भने ‘विद्यालयमा छुट्टाछुट्टै शौचालय नहुँदा हामी स्टाफहरूनै धेरै कुरा विचार गरेर शौचालय जानु पर्दछ । भित्र कोही छ कि भनेर पहिला बाहिरैबाट खोक्दै जानुपर्छ । अव त ट्वाइलेट जाँदा खोक्ने बानी नै भैसकेको छ ।’

यसवाहेक शिक्षिकालाई पनि महिनावारीका समयमा छुट्टै चेन्जिङ रुम चाहिने हो, तर त्यस्तो व्यवस्था  विद्यालयमा नभएको निमित्त प्रधानाध्यापक श्रेष्ठ वताउँछन् । यहाँमात्रै  होइन अन्य विद्यालयमा पनि यस्तो व्यवस्था नभएको उनको भनाइ छ ।

‘महिनावारीका समयमा सेनेटरी प्याड चेन्ज गरेपनि जतापायो त्यतै फाल्ने वा प्लाष्टिकमा पोको पारेर राख्ने  गरेको पाइन्छ, त्यो राम्रो होइन, राम्रो बनाउन केही गर्न पनि अहिले नै सकिएको छैन’ श्रेष्ठ भन्छन् ।

सदरमुकाम मन्थलीमा रहेको मन्थली उ.मा.वि.मा भने चेन्जिङ रुमसहित रहेको महिला शौचालय  छ । उ.मा.वि.का प्राचार्य टंक प्रसाद दाहालका अनुसार जिल्ला शिक्षा कार्यालयले एक पटकमा जिल्लाका ७८ वटा विद्यालयलाई शौचालय बनाउन बजेट दिएको र आफूहरूले त्यही अनुसार छात्रालाई चेन्जिङ रुमको सुविधा भएको शौचालय बनाइएको छ । तर अन्य विद्यालयमा के छ त्यो भने थाहा नभएको उनले बताए ।

जिल्लाका अधिकांश माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा शौचालय बनेको रामेछापका जिल्ला शिक्षा अधिकारी खुबिराम अधिकारी बताउँछन् ।

पटक–पटक  विद्यलायलाई महिलामैत्री शौचालय बनाउन  बजेट पठाएको उनको भनाइ छ ं । हाल भूकम्पपछि शौचालय भत्किएका विद्यालयमा भने अस्थायी शौचालय निर्माण भएका छन् । ती विद्यलायमा सबै सुविधा नहुन सक्छ । तर अब नयाँ बन्ने विद्यालयहरुमा भने छुट्टा छुट्टै पुरुष र महिला शौचालय बनाउने नक्शांकन सहित कार्य अघि बढेको छ । अब विस्तारै नयाँ बन्ने विद्यालयहरुमा महिला मैत्री शौचालय बन्नेमा आफू आशावादी रहेको अधिकारीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: