यमुना खनाल
सिरहा । बच्चा जन्माउन अस्पताल जानुपर्छ भन्ने चेतनाको विकास सिरहामा बढ्दै गएको पाइएको छ । सिरहामा सूचिकृत १८ वटा बर्थिङ सेन्टर छन् । यो वर्ष पाँच हजार आठ सय ५३ जना महिलाले यी बर्थिङ सेन्टर र अस्पतालमा बच्चा जन्माएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाकी आमा सुरक्षा शाखा प्रमुख रेणु राईले जानकारी दिइन् ।
ग्रामिण क्षेत्रसम्म बर्थिङ सेन्टर खुलेका कारण र शिक्षा र जनचेतनाको विकास भएसँगै घरमा बच्चा जन्माउँदा र आमा र बच्चाको स्वास्थ्यमा जोखिम हुने बुझे पछि महिलाहरू बच्चा जन्माउन अस्पताल जान थालेको उनले बताइन् ।
विगतमा गभ जाँच गराउन समेत नजाने महिला आजभोली नियमित जाँच गराउन स्वास्थ्य संस्थामा जाने गरेको राई बताउँछिन् । उनी भन्छिन् ‘ग्रामिण क्षेत्रमा जनचेतना नहँुदा तालिम समेत नलिएका महिलाले परम्परागत विधि प्रयोग गरेर गाउँमै बच्चा जन्माउने गर्थे, जसले गर्दा आमा र बच्चा दुबैको स्वास्थ्यमा जोखिम आउँथ्यो, पाठेघर खस्ने समस्या धेरै बढेर गएको थियो, तर त्यस्तो आनीबानीमा गाँउसम्म नै अहिले परिवर्तन आएको छ ।’
सिरहाका मिर्चैया , कल्याणपुर , औरही , लहान प्राथमिक स्वास्थ्य चौकीले प्रजनन् स्वास्थ्य सम्बन्धि नागरिकलाई सुसूचित गरेका कारण यी स्वास्थ्य चौकीले राम्रो काम गरेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले बताएको छ । यी स्वास्थ्य चौकीमा मासिक ८० देखि ९० वटा सम्म प्रसूति हुने गरेको कार्यालयले जनाएको छ ।
Comment Here!