महिला खबर
दोलखा। दोलखाको लापिलाङ गाविस वडामा रहेको जनज्योती माविका अधिकांश विद्यार्थी विरामी हुन थालेपछि विद्यालय बन्द गरिएको छ।
जिल्ला शिक्षा कार्यालय दोलखाको अनुमतिमा शुक्रवारसम्मको लागि विद्यालय बन्द गरिएको विद्यालयका शिक्षक गणेश कार्कीले जानकारी दिनुभयो।
कक्षा ६, ७ र ८ का अधिकांश विद्यार्थीलाई जरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, वान्ता हुने जस्ता समस्या देखिएर विद्यालय आउन नसक्ने अवस्था बनेपछि जिल्ला शिक्षा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी गराई विद्यालय बन्द गरिएको शिक्षक गणेश कार्कीले बताउनु भयो। करिब तीन सय ५० विद्यार्थी अध्ययन गर्ने विद्यालयका ६० प्रतिशत विद्यार्थी विरामी परेको पनि कार्कीले बताउनु भयो।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाका महामारी तथा रोग नियन्त्रण शाखाका प्रमुख जनस्वास्थ्य निरीक्षक केशव रिजालले पनि विद्यालयमा विद्यार्थी विरामी भएकोबारे जानकारी आएको उल्लेख गर्दै अहिलेको मौसमका कारण उनीहरूमा इन्फ्लुइन्जा डि भाईरसले समस्या बनाएको हुनसक्ने बताउनु भयो।
लापिलाङ गाविसमा रहेको सामुदायिक स्वास्थ्य इकाईमा पनि दैनिक ३०/४० जना त्यस्तै प्रकृतिको विरामी आउने गरेको जानकारी प्राप्त भएको र जिल्ला स्वास्थ्य कार्यालयको टोली थप औषधिसहित शुक्रवार प्रभावित क्षेत्रमा पुग्ने रिजालले बताउनुभयो। अहिले सामुदायिक स्वास्थ्य ईकाईमा रहेका अहेव र अनमीले उपचार गरिरहेको पनि रिजालले जानकारी दिनुभयो।
जिल्ला शिक्षा अधिकारी लोकबहुर लोप्चनले जनज्योती माविका विद्यार्थी विरामी भएको जानकारी प्राप्त भएको उल्लेख गर्नुहुदै विद्यालयले नै आवश्कता हेरी पाँच दिनसम्म विद्यालय बन्द गर्न सक्ने प्रावधान रहेकोले सोहि अनुसार गर्न अनुमति दिईएका बताउनु भयो। जिशिअ लोप्चनले विद्यार्थीहरुको उपचारको व्यवस्था मिलाउन जिल्ला स्वास्थ्य कार्यालयसंग समन्वय गरिएको पनि बताउनु भयो।
Comment Here!