जिल्लास्तर मै छैन राजनीतिमा महिला सहभागिता


पदाधिकारीमा शुन्य

प्रकाशित मिति :2016-08-04 13:25:36

पार्टीका जिल्लादेखि अन्य स्थानीय संरचनामा महिला सहभागिता र नेतृत्व नहुँदा केन्द्रमा  निर्णायक तहमा महिला पुग्न नसकेका हुन् ।  त्यसैले पार्टीका स्थानीय तहका संरचनादेखि नै महिलाको नेतृत्व विकास अत्यावश्यक देखिएको छ ।

निरज सापकोटा

flagरामेछाप  । रामेछापमा रहेका राजनीतिक दलमा महिलाको न्यूनतम सहभागिता पनि नरहेको पाइएको छ । देशमा रहेका प्रमुख राजनीतिक दलका जिल्ला तहमा महिलाको न्यूनतम सहभागिता नरहेको पाइएको हो ।  जिल्लामा रहेका प्रमुख दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रको जिल्ला कार्य समितिमा पदाधिकारीमा महिला सहभागिता त शुन्य नै छ ।

सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको वर्तमान जिल्ला कार्यसमिति २१ जनाको रहेको छ जसमा दलित महिला समेत गरी पाँच जना महिला सदस्य छन् । जिल्ला समितिका तीनजना पदाधिकारी सबै पुरुष छन् । ‘महिला सहभागिताको कुरा गर्दा हाम्रो पार्टीमा एकतिहाई पुग्न सकेको छैन । जिल्ला कार्यसमितिमा २१ जना रहेकोमा दलित महिलासहित पाँचजना महिला सदस्य छन्’ नेपाली काँग्रेसका जिल्ला सचिव लेख बहादुर कार्कीले भने ।  जिल्ला सभापतिले अलि मिलाएर मनोनित गर्नुभयो भने केही संख्या बढ्न सक्ने उनको भनाइ छ ।  अधिवेशन भर्खरै भएको हुँदा यो सम्भावना जिवितै रहेको उनले बताए ।

महिलाको सहभागिता न्यूनतम ३३ प्रतिशत नभएपनि विधानमा व्यवस्था भएअनुसार भने पुरा छ । कार्कीका अनुसार हाल रामेछापमा नेपाली काँग्रेसमा क्रियाशिल सदस्य ५ हजार ५ सय छन्, जसमा २ हजार १ सय जना महिला  छन् । यो संख्या झण्डै ३५ प्रतिशतको हाराहारीमा हुन्छ ।

यस्तै नेकपा एमालेका सचिव आनन्द श्रेष्ठले पनि आफ्नो जिल्ला कार्यसमितिमा ३३ प्रतिशत महिला सहभागिता नरहेको बताए । उनले भने ‘हाल जिल्ला कमिटी ७१ जनाको छ, जसमा सात जना महिला मात्र जिल्ला कमिटीमा छन्, तर पदाधिकारीमा महिला छैनन्, जिल्ला कमिटीका ४ जना पदाधिकारी सबै  पुरुष छन् ।’  तर, महिलाका लागि कोटा भने खाली नै राखेको उनी बताउँछन् ।  सक्षम र योग्य महिलालाई  कमिटीको नेतृत्वमा ल्याउँने उनको दावी छ ।

श्रेष्ठका अनुसार जिल्लामा हाल नेकपा एमालेका ५ हजार १ सय संगठित सदस्य  छन । यीमध्ये १ हजार महिला संगठित भएको जानकारी उनले दिए । एमाले जिल्ला कार्यालयमा महिलाको नेतृत्व विकास र परिचालनका लागि छुट्टै महिला विभाग भने रहेको छ । महिला विभागले महिलाका क्षेत्रमा छुट्टै  काम पनि गरिरहेको छ  ।

नेकपा माओवादी केन्द्रका सचिव सेवक कार्कीका अनुसार हाल पार्टीको जिल्ला कार्यसमिति ५१ जनाको रहेको छ । यसमा दशजना महिला  छन् । तर, कार्यसमिति पाँचजना पदाधिकारी  सबै पुरुष नै छन् । ‘भर्खरै एकिकरण भएकाले पार्टीको एकता भेला गरेर कमिटी पुर्नगठन हुन बाँकी नै छ’ कार्कीले भने । कार्कीका अनुसार हाल माओवादी केन्द्रमा ६ हजार संगठित सदस्य रहेका छन्, जसमध्ये महिलाको संख्या छुट्याइएको छैन ।

राजनीतिमा महिला  सहभागिताको विषयमा प्रमुख राजनीतिक दलका नेताको समान धारणा रहेको पाइएको छ । नेपाली समाजको बनोट र पुरुष प्रधान सोच नै राजनीतिमा न्यून महिला सहभागिता मुख्य कारण रहेको जिल्लाका नेताले बताए ।

नेपाली काँग्रेसका सचिव लेख बहादुर कार्की भन्छन् ‘राजनीतिमा महिला एक त प्रवेश गर्न नै चाहँदैनन्, प्रवेश गरिहाले पनि आफ्नो भविष्य सुरक्षित देख्दैनन् र विस्तारै निष्कृय हुन्छन् ।’ उनले महिलाको राजनीतिमा अधिकतम सहभागिता नहुनुको कारण खोतल्दै अगाडी भने ‘पढालेखा महिलाहरू संघसंस्था वा सरकारी जागिरमा प्रवेश गर्ने र योग्य महिलाको राजनीतिमा  सहभागिता नहुनु एउटा कारण हो ।

विद्यार्थी राजनीतिमा महिला उदाएपनि  विवाहपछि निष्कृय हुने उनको भनाइ छ । सामाजिक संरचनाका कारणले विवाहपछि महिला बाहिर सक्रिय हुननसकेको उनको ठम्याइ छ ।

 महिलालाई एक्लै बाहिर जाने कुरामा घर परिवारबाट खासै सहयोग नहुने उनी स्वीकार्छन् । सामाजिक संरचना र मुल्य मान्यताका कारण लैंगिक हिसावले र पारिवारिक हिसावले पनि यो कुरा अलि गाह्रो भएकोले राजनीतिमा महिलाको सहभागिता कम रहेको उनले बताए ।

‘आजभोली प्राय मानिसको प्राथमिकतामा रोजगारी परेको र राजनीतिमा आफ्नो भविष्य सुरक्षित हुन नसक्दा  महिला  वीचमै निराश भएको हुनसक्छ’ कार्की भन्छन् ।

समाजको संरचनाका कारण राजनीतिमा  महिलाको सहभागिता कम भएको  कुरामा एमाले जिल्ला सचिव आनन्द श्रेष्ठ पनि सहमत छन् । भावी राजनीतिका लागि यो चुनौतिको विषय रहेको उनको भनाइ छ ।

‘अब प्रत्येक स्थानीय निकाय तथा प्रादेशिक संरचनामा महिलाको अनिवार्य प्रतिनिधित्वको व्यवस्था संविधानमा छ । न्यूनतम पदाधिकारीमा पनि महिलाको संख्या पुग्नैपर्ने बाध्यात्मक अवस्था छ, अब यस्तो अवस्थामा महिलाका लागि राजनीतिमा अवसर र चूनौति दुवै छ, यद्यपी हामीले महिलाको प्रतिनिधित्व राजनीतिमा बढाउन सकेका छैनौं जुन अत्यावश्यक भएको छ’ उनी भन्छन् ।

 एमालेमा  न्यूनतम ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुन नसकेको उनले स्वीकारे । केही महिला सक्रिय भएपनि  घर व्यवहारका कारण यस क्षेत्रमा अगाडी बढ्न नसकेको उनले बताए ।  दलहरूमा  प्रतिबद्धता गरेबमोजिम महिला सहभागिता नहुनु दुखद कुरा हो, नेतृत्व तहमा महिला पुग्न राजनीतिमा लाग्ने महिलाको संख्या बढु्न जरुरी छ’ उनी भन्छन् ।

यस्तै माओवादी केन्द्रका सचिव सेवक कार्की  पनि ३३ प्रतिशत महिला सहभागिता पु¥याउन नसकिएको बताउँछन् । महिलाको विषय नै जटिल भएको उनको ठहर छ । समग्रमा सबै दलमा देखिएको प्रतिनिधित्वले समाजमा प्रष्ट प्रतिबिम्ब दिएको उनले बताए । ‘पुरुषप्रधान समाज  नै महिलाका लागि अवरोध हो’ उनले भने  ।

माओवादी केन्द्रलाई पनि अधिकतम समावेशी गराउन नसकिएको उनी स्वीकार गर्छन् । पार्टी पुर्नगठनपछि विधानमा टेकर पूर्णसमावेशी बनाउने निर्देशन पनि प्राप्त भएको जानकारी उनले दिए । यसपछि पार्टीमा महिला सहभागिता पूर्ण हुने उनको दावी छ । आगामी निर्वाचनहरूमा महिलाको अझै बढी सहभागिता हुनुपर्ने बाध्यात्मक अवस्थाले संख्या बढ्ने उनको विश्वास छ ।

मोहन बैद्यको नेकपा माओवादीका सेक्रेटरी तिर्थ कार्कीले पनि आफ्नो दलमा ३३ प्रतिशत महिला नरहेको बताए । उनले भने ‘नेकपा माओवादीमा १३ जनाको सचिवालय छ, जसले पार्टीको महत्वपूर्ण निर्णयहरू गर्न सक्छ, तर विडम्बना नै भन्नुपर्छ  १३ जनाको सचिवालयमा १ जनामात्र महिला छन् ।’

पार्टी नयाँ भएर महिला आबद्धता कम भएको उनको तर्क छ ।  पार्टीमा लागेरमात्र नहुने अवस्थाले पनि महिला सदस्य नबढेको हुनसक्ने उनले बताए । आफ्नो पार्टीमा कार्यकर्तामाझ संगठन विस्तारका लागि र अन्य कामका लागि अधिक खट्नुपर्ने भएकाले पनि महिला सहभागिता कम भएको उनको ठम्याइ छ । ‘आगामी दिनमा ४० प्रतिशत महिला सहभागिता पुर्‍याउने छौं’ उनले भने ।

यस बाहेक जिल्लामा क्रियाशिल साना राजनीतिक दलमा समेत महिला सहभागिता न्यून रहेको छ ।   राप्रपा नेपाल, राप्रपालगायतका साना राजनीतिक दलका कार्यसमितिमा पनि उल्लेख्य महिला सहभागिता नरहेको जिल्ला तहका नेताले बताए ।

‘राजनीतिक दलमा महिला सहभागिता अत्यन्त न्यून रहेको कुरा सत्य हो’ एमाले निकट अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष शान्ता पौडेलले भनिन् । एमालेमामात्र होइन जिल्लामा क्रियाशिल कुनै पनि दलमा महिला संख्या अपुग भएको उनी बताउँछिन् ।  पितृसतात्मक सोचका कारण पहिलादेखि नै महिला शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका अवसरबाट वञ्चित भएको उनको भनाइ छ ।

‘जुनसुकै क्षेत्रमा लागेका भएपनि महिलालाई फुत्त बाहिर निस्कन सक्ने अवस्था छैन, महिलाको काँधमा घर परिवारदेखि सम्पूर्ण व्यवहारको बोझ भएकाले चाहेर पनि महिला अगाडी आउन सकेका छैनन्’ उनी भन्छिन् । योग्यता क्षमता भएका महिला माथिल्लो निकायमा जान र नेतृत्व गर्न चाहेपनि व्यवहारमा पार्टीको नेतृत्व तहमा  त्यो नदेखिएको उनले बताइन् ।

राजनीतिमा महिला सहभागिता नहुने समस्या पहिला देखिकै भएको नेकपा माओवादी केन्द्रकी जिल्ला सदस्य कमला जि.सी बताउँछिन् ।  समाजमा महिलाले हरेक क्षेत्रमा अगाडी बढ्न घर व्यवहार सँगसँगै लैजानु पर्ने बाध्यता रहेको उनको भनाइ छ । पछिल्लो समय महिला राजनीतिमा मात्र नभइ हरेक क्षेत्रमा अगाडी बढेपनि घर व्यवहार सँगै जोडिएर आउने बाध्यताले प्रभावकारी भूमिका निभाउन नसकेको उनले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: