यमुना खनाल
सिरहा । सिरहाका गरिब, दलित बस्तीका स्कुले बालबालिका अहिले साहुको खेतमा धान रोपिरहेका भेटिन्छन् । विद्यालयमा वर्षे बिदा भएकाले उनीहरू यतिबेला मजदुरी गर्न खेतमा गएका हुन् ।
आफूसँगै स्कुल पढ्ने साथी छुट्टीमा घुमिरहेका र खेलीरहेका बेला हनुमान नगर मावि कक्षा नौमा पढ्ने सृजना चौधरी भने प्रचन्ड घाममा खेतमा धान रोपीरहेकी भेटिइन् । स्कुलको कापी,किताबलगायत खर्चको जोहो गर्न साहुको धान रोप्न आएको उनले बताइन् ।
स्कुल बिदा भएकाले किताब, कापी स्कुलको ड्रेस किन्ने खर्चको जोहो गर्न धान रोप्न आएको सृजना बताउँछिन् । घरको आर्थिक अवस्था कमजोर भएकाले विदाको समयमा काम गरेर पढाई खर्च जुटाउनपर्ने बाध्यता भएको सृजनाको भनाइ छ ।
विहान आठ वजेदेखि साँझ छ वजेसम्म खेत रोपेको उनले दुई सय पचास रुपैँया पाउँछिन् । त्यसैगरी माबि हनुमन नगरबाट निर्मला चौधरीले यो वर्ष एसएलसी पास गरिन् । तर उनलाई उच्च शिक्षा कसरी पूरा गर्ने भन्ने चिन्ता छ । निर्मला भन्छिन् ‘म सँगै एसएलसी पास गरेका साथीहरू उच्च शिक्षाका लागि काठमाडाैं, विराटनगर गए, हामीसँग त खर्च छैन, कसरी जुटाउने धेरै पैसा लाग्छ ज्यालादारी गरेर भएपनि खर्च जुटाउनै पर्छ ।’ उच्च शिक्षा पढ्ने उनको तिव्र चाहना छ । त्यसैले मजदुरी गरेरै भएपनि खर्च जुटाएर पढ्ने योजना उनले बनाएकी छन् ।
यहाँका विपन्न वर्गका परिवारले खेती लगाउने र थन्क्याउने समय असार र मंसिरमा ज्याला मजदुरी गरी केही महिनाका लागि खानेकुरा र खर्चको जोहो गर्छन् ।
विपन्न वर्गका परिवारले ज्यालादारी गरेरै दैनिकी चलाउँछन् । बाह्रै महिना काम नपाउने हुँदा उनीहरूका बालबालिकाले आर्थिक अभावकै कारण स्कुल समेत बीचमै छोड्ने गरेका छन् ।
Comment Here!