तराइका महिला घुम्टोभित्र अनुहारसँगै पीडा लुकाउन बाध्य छन् । यसको प्रमुख कारण अशिक्षा हो । जत्ति धेरै पढायो त्यत्ति धेरै दाईजो दिनुपर्छ भन्ने समस्याले मधेशका महिलाको जीवनलाई निकै जटिल बनाएको छ ।
नुनुता राई
ललितपुर । मानसिक समस्या कुनै रोग हो भनेर यस्को उपचार गराउने चलन छैन् । यस्तोमा झन् मधेशका महिलाले घुम्टोभित्र अनुहार मात्र हैन हिंसाका पीडा समेत लुकाउन बाध्य भएको मनोविमर्शकर्ता विपन साह बताउँछिन् । उनी सात वर्षदेखि मनोविमर्शकर्ताको रुपमा कार्यरत छिन् । मुस्किलले परामर्श लिन आएका विरामीलाई उनले डिप्रेसन हुनबाट बचाएकी छन् । पहिला उनी बहुसाँस्कृतिक मनोसामाजिक संस्था (Transcultural psycho social organization) मा मनोविमर्शकर्ताको रुपमा काम गर्थिन् । त्यहा विपनले सिराहा, सप्तरी, जनकपुरलगायतका तराई क्षेत्रका महिलाका समस्या सुनिन् ।
काम गर्ने सिलसिलामा अन्य ठाउँमा पनि पुरुषको भन्दा महिलाको समस्या बढी छ । तर तराईका महिलाको समस्या धेरै गम्भीर भएको उनी बताउँछिन् । त्यस क्षेत्रमा काम गर्दा उनीसम्म घुम्टो ओढेका महिला मनोविमर्श लिन एकदमै कम आउने उनको अनुभव छ । मधेशका महिलाले दाईजोका कारण भोगेका हिंसा देखिने हुन्छ । उजुरी गर्न जान पनि सजिलो मान्ने । माईती पक्षको साथ लिन पनि सहज हुने । तर बलात्कारमा परेका महिलाले उजुरी गर्न, अरुलाई समस्या भन्न नसकेर मानसिक रुपमा कमजोर हुने गरेको उनको तर्क छ । भन्छिन् ‘घुम्टो ओढेको महिला कमै आए, तर आएकाको समस्या सुन्न मलाई मुस्किल पथ्र्यो । ससुरा, देवर, जेठाजुको बलात्कार सहेका महिला आउँथे ।’ उनलाई ती अधिकांश महिलाले उनका श्रीमान रोजगारीको सिलसिलामा घर बाहिर भएको बताउँथे ।
महिलालाई हिंसाविरुद्घ साँचो बोल्न बन्देज छ । बोल्नुपर्छ भन्ने जनचेतना पनि छैन र बोली हाले घरबाट निस्कनुपर्छ जाने कुने ठाउँ छैन । उनी भन्छिन् ‘उनीहरूलाई हिंसाविरुद्घ बोले न्याय पाइन्छ भन्ने ज्ञान नै छैन, बोेलेका महिलाले पनि न्याय पाएका उदाहरण एकदम कम छन् ।’ उनको लामो अनुभवले त्यहाँका महिलाले न्याय पाउन पनि निकै गाह्रो भएको बताउँछ । त्यहाँको समाज महिलाप्रति निर्दयी छ ।
त्यहाँका महिला घुम्टोभित्र अनुहारसँगै पीडा लुकाउन बाध्य छन् । यसको प्रमुख कारण अशिक्षा हो । छोरीलाई पढाउनपर्छ भन्ने सोच नै छैन । जत्ति धेरै पढायो त्यत्ति नै धेरै दाईजो दिनुपर्छ भन्ने समस्याले मधेशका महिलाको जीवनलाई नै जटिल बनाएको छ । उनको बुझाईमा स्थान र समुदाय अनुसारको महिलाको समस्या पनि फरक–फरक रहेको छ ।
काम गरेको लामो अनुभवले महिलाको समस्या सुनेर साह्रै अत्यास लाग्ने र बेला–बेलामा उनलाई समेत मनमा नैराश्य छाउने गरेको बताउँछिन् । उनको काम गरेको अवधिभर महिलाको समस्या धेरै हुने गरेको पाईन् । उनी भन्छिन् ‘एक त हाम्रो समाज नै पितृसत्तात्मक भएर हो, अर्को महिला बढी भावानात्मक हुने, समस्या जटिल नभएसम्म सहने बानी छ ।’
उनको पेशा पीडितको समस्या सुन्ने हो । समस्यामा परेका व्यक्तिलाई मनोविमर्श दिनु हो । उनीहरूसँग बसेर समस्या सुन्छिन् उनी । कहिलेकाँही उनीहरूसँगै बसेर रुन्छिन् पनि । भन्छिन् ‘उनीहरूको पीडा सुनेर सँगसँगै रुन थाल्ने रैछु पत्तो पाउँदिन ।, थाहा पाएपछि आफूलाई संयमित बनाउँछु ।’
यसलाई उनी आफ्नो कमजोरी नभएर महिला हुनुको विशेषता हो भन्छिन् । पीडितले समस्या बताउँदा नरोई आफ्नो समस्या भन्नै सक्दैनन् । उनीहरूसँग रोइरहँदा पीडितले नकारात्मक नलिने बताउँछिन् विपन । उनीहरूले थप आत्मिय ठान्छन् । समस्या खुलेर बताउँछन् । भन्छिन् ‘बिहानदेखि बेलुकासम्म रुवाउने र मन दुख्ने दर्दनाक यथार्थ कहानी सुन्नुपर्छ, बेला–बेलामा त मलाई नै मनोविमर्शकर्ताको आवश्यकता पर्छ जस्तो लाग्छ ।’ यस्तो बेलामा केही समय बिदा लिएर घुम्न जाने गरेको र सिनेमा हेर्न गएर ताजगी भर्ने बताउँछिन् उनी ।
हाल उनी मानव बेचविखनमा कार्यरत संस्था शक्ति समूहमा मनोविमर्शकर्ताको रुपमा कार्यरत छिन् । आफ्नो काम गराईको अनुभवले महिलाको समस्या विविध कारणले थप जटिल बनाईरहेको बताउँछिन् । महिलालाई समस्या मुक्त बनाउनु चूनौतिपूर्ण छ । पढेलेखेको महिला पनि हिंसामा छन् । उनीहरू हिंसा भएको थाहा नपाएर होइन । हिंसालाई स्वीकार गरेर बसेका हुन्छन् । महिलाले आफूलाई भन्दा बढी परिवारलाई महत्व दिने हुनाले हिंसा सहन्छन् । भन्छिन् ‘जबसम्म महिलाले आफूलाई प्राथमिकता दिँदैन तबसम्म हिंसामा परिरहन्छन् ।’
Comment Here!