टहराको बसाइ : हिंसा झन् बढ्यो


प्रकाशित मिति :2016-08-06 11:00:46

भूकम्पपछि अस्थायी घर–टहरामा बसोबास गर्दै आएका महिला तथा किशोरीमाथि बलात्कारजस्तो जघन्य अपराध बढ्दै गएको छ । एक वर्षमा दोलखामा मात्रै १४ वटा यस्ता घटना भएका छन् ।

भवानी कार्की

दोलखा । अस्थायी टहरामा बस्दा बलात्कृत भएकी दोलखा चंखुकी २३ वर्षीया माया तामाङ (नाम परिवर्तन)ले भर्खरै मात्र बच्चा जन्माइन् । भूकम्पले घर भत्किएपछि अस्थायी टहरामा बस्दा उनी छिमेकी २८ वर्षीय कृष्ण तामाङबाट बलात्कृत भएकी थिइन् । असामान्य अवस्थाकी उनी गर्भवती भएको थाहा हुँदासम्म अठार हप्ता नाघिसकेकाले गर्भपतन गराउन सकिने अवस्था थिएन । घटना थाहा पाएपछि पीडितका बाबुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । पीडक तामाङलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । अहिले उनी जेलमा छन् ।

अस्थायी टहरामा बस्दा बलात्कृत १५ वर्षीया ललिता थामी (नाम परिवर्तन) गर्भवती भएको तीस हप्ता नाघिसक्यो । नचाहँदा पनि अहिले उनी सन्तान जन्माउने क्रममा छिन् । ललिता स्थानीय विद्यालयमा कक्षा ८ मा पढ्दै थिइन् । बलात्कार गर्ने पुरुष ४० वर्षीय तिलोत्तम थामी थुनामा छन् । पटक–पटक बलात्कारमा पर्दासमेत ललिताले धम्कीका कारण कसैलाई भन्न सकेकी थिइनन् । जबर्जस्ती गरेको ‘बाहिर भने तँ र तेरो परिवारलाई नै मारिदिन्छु’ भनेर बलात्कारीले धम्की दिएकाले ललिताले घटनाबारे कसैलाई भन्न सकेकी थिइनन् ।

भूकम्पले क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणमा सरकारले गरेको ढिलाइका कारण भूकम्प प्रभावित महिलाले यस्तो नियति भोग्नु परिरहेको छ । भूकम्प आएको एक वर्षभन्दा बढी हुँदासमेत स्थायी र सुरक्षित संरचना निर्माण हुन नसकेका कारण अस्थायी रूपमा बसोबास गर्दै आएका महिला तथा किशोरीमाथि बलात्कारजस्तो जघन्य अपराध बढ्दै गएको हो । सरकारले अहिलेसम्म सुरक्षित आवासको व्यवस्था गर्न नसक्दा भूकम्प प्रभावित महिला तथा बालिका दिनप्रतिदिन विभिन्न हिंसामा परिरहेका छन् ।

सुस्पाक्षमावतीकी १९ वर्षीया रमिला थामी (नाम परिवर्तन) पनि टहरामै बलात्कृत भइन् । भूकम्प गएदेखि नै समयसमयमा बेहोस हुने गरेकी उनी अचेत अवस्थामा बलात्कृत भएकी हुन् । घरका अरू सदस्य मेलापात गएको मौका छोपी पटकपटक बलात्कार गर्ने छिमेकी २३ वर्षीय अविरल थामी फरार छन् । लामो समयसम्म उनले आफू गर्भवती भएको थाहा नपाउँदा परिवारलाई पनि भन्न सकिनन् । एक्कासि उनको शारीरिक अवस्थामा परिवर्तन हुँदै गएपछि छिमेकीले रमिला गर्भवती भएको पत्तो पाए । परिवार र समाजमा इज्जत फालेको भन्दै अपराधीलाई सजाय दिलाउनुको साटो उनलाई घरनिकाला गरियो । परिवार र समाजबाट साथ नपाएपछि अहिले उनी न्यायका लागि सदरमुकाम चरिकोट आएकी छिन् ।

पोषिलो खानेकुरा खुवाएर परिवारको साथमा खुसी मनाउनुपर्ने अवस्थाका महिला तनाव र डरत्रास बोकेर न्यायको ढोका ढकढक्याउन बाध्य छन् । न्यायको झिनो आशा बोकेर उनीहरू यतिखेर प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, महिला तथा बालबालिका कार्यालय र विभिन्न सङ्घसंस्था धाइरहेका छन् ।

भूकम्प प्रभावित धेरै महिला तथा बालिका अस्थायी टहरामा विभिन्न किसिमका हिंसामा परेको आवाज दोलखाकी घटना व्यवस्थापक दुर्गा केसीले बताइन् । भूकम्पपछि अहिलेसम्म विभिन्न हिंसामा परेको भनेर झन्डै दुई सयभन्दा बढीको सङ्ख्यामा महिला तथा बालिका न्यायको खोजी गर्दै आवाज नेपाल दोलखाको सम्पर्कमा आएका छन् । आवाज नेपालका अनुसार यो अवधिमा दोलखामा मात्रै बलात्कार १५, बलात्कार प्रयास पाँच, घरेलु हिंसा २९, समाजबाट बहिष्कार पाँच, मनोसामाजिक उपचारको अभाव ३६ लगायतका उजुरी परेका छन् ।

महिला तथा बालबालिका कार्यालय दोलखा र आवाज नेपाल दोलखाले पीडित किशोरीलाई आवास सुविधासहित संरक्षण दिएको महिला तथा बालबालिका कार्यालय दोलखाकी प्रमुख लक्ष्मी ढकालले बताइन् । ढकालका भनाइमा, ‘पीडितप्रति परिवार र समाजको हेराइ परिवर्तन हुनुुपर्छ । यस्ता जघन्य अपराधलाई नियन्त्रण गर्नुु सभ्य समाजको दायित्व हो ।’ उनका अनुसार तीन वर्षकी बालिकादेखि ४५ वर्षसम्मका आर्थिक, सामाजिक अवस्था कमजोर, सीमान्तकृत, दलित, जनजाति, शारीरिक अवस्था कमजोर भएका र विपन्न महिला बढी हिंसाको सिकार भएका छन् । महिला तथा बालबालिका कार्यालय दोलखाका अनुसार एक लाख ४२ हजार ८० भूकम्पबाट प्रभावित महिला विभिन्न किसिमका हिंसामा परेका छन् ।

आवाज नेपाल दोलखाकी अध्यक्ष तथा महिला अधिकारकर्मी सिर्जना कार्की महिला र बालबालिकामाथि बढी हिंसा भएको समाजमा प्राकृतिक विपत्ति र युद्धमा उनीहरूको संरक्षण र सुरक्षामा झन् बढी ध्यान दिनुपर्ने बताउँछिन् । अध्यक्ष कार्कीका अनुसार घरपरिवार र समाजले थाहा पाएर घरनिकाला र बहिष्कार गरेका, साथीभाइ, सङ्घसंस्थाको सहयोगमा, न्यायको खोजीमा सचेत भएर आफैँ आएकाबाहेकका हिंसामा परेका दोलखाका कतिपय महिला काठमाडांैलगायतका स्थानमा गएर बसेका छन् । बलात्कारमा परेका थुप्रै महिला डरधम्कीका कारण हिंसा सहेर बसेका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी बेलबहादुर पाण्डेका अनुसार प्रहरीमा दर्ता भएका अधिकांश मुद्दा भूकम्प प्रभावित महिला टहरामा बस्दा विभिन्न बहानामा छिमेकी र आफन्तबाटै बलात्कृत भएका छन् । उनले भने– भूकम्पबाट सर्वस्व गुमाएर अभाव र पीडामा परेका अशक्त, पिछडिएका, जनजाति किशोरी तथा बालिकालाई सुरुमा ललाइफकाइ बलात्कार गर्ने, नमाने धम्क्याएर बलात्कार गरेका उजुरी छन् । डीएसपी पाण्डेका अनुसार जिल्ला प्रहरी कार्यालय दोलखामा २०७२ साउनयता १४ वटा जबर्जस्ती करणीको जाहेरी दर्ता भएका छन् । १५ जना पक्राउ परी थुनामा र तीनजना फरार अभियुक्तको खोजी भइरहेको छ ।

नेपाल बार एसोसिएसन दोलखाका अध्यक्ष अधिवक्ता कृष्ण बस्नेत भन्छन्, ‘महिलाको अस्मितासँग जोडिएको यस मामिलामा न्याय दिन राज्यले बलात्कारविरुद्ध सशक्त कानुन बनाउन सके मात्र घटना न्यूनीकरण हुनसक्छ ।’
(सञ्चारिका फिचर सेवा)
(भवानी, भक्तपुरकी पत्रकार हुन् ।)
 

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: