सर्मिला बुढाथोकी
दोलखा । जनताको समस्या, अप्ठ्यारो र आवश्यकताको पहिचान गरी सम्बन्धित निकायसम्म पुर्याउन दोलखाका दुई नगरपालिका र ४८ गाविसमा ६४ जना सामाजिक परिचालक खटिएका छन् । उनीहरू सबै महिला छन् ।
जिल्लामा अहिले राष्ट्रिय अभियानको सम्पूर्ण क्रियाकलापमा सामाजिक परिचालकको भूमिका महत्वपुर्ण हुने गरेको छ । भूकम्पपछिको पुननिर्माण, पिछडिएका बर्ग, महिला, बालबालिका, दलित, अपाङ्ग, एकल महिला, बृद्धबृदा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी, उपझोक्ता गठन, अनुगमन, राज्यले बनाएका नियमको कार्यान्वयन गराउनेलगायतका विषयमा जानकारी दिनुलिनु उनीहरूको दिनचर्या हो । सामाजिक परिचालक समाजलाई परिचालन गर्न हरेक गतिविधिमा सहभागी हुने गरेका छन् ।
‘महिला भएकै कारण शुरु शुरुमा हाम्रो कुरा कसैले सुन्दैनथे, तर अहिले भने सबैले एकदमै सम्मानपूर्वक व्यवहार गर्न थालेका छन्’ भिमेश्वर नगरपालिकाकी तारा चौंलागाईले भनिन् । सामाजिक परिचालक बारे ताराको रोचक विश्लेषण छ । उनी भन्छिन्– ‘सामाजिक परिचालक भनेको आलु जस्तै हो । आलु जुन तरकारीमा पनि मिल्छ , हामीपनि जुनसुकै विषयमा पनि ठिक्क हुनुपर्ने ।’
सामाजिक परिचालकको अनुगमन र रिर्पाेटिङका आधारमा राज्यलाई नीति बनाउन सजिलो हुने भीनपाकी सामाजिक परिचालक कल्पना बुडाथोकीको भनाई छ । ‘हाम्रो काम चूनौतिपूर्ण, रमाईलो र महत्वपूर्ण पनि छ, आफ्नो गाविसमा रहेर सबै कुराको जानकारी गराउन र लिन पाउँदा आनन्द लाग्छ’ बुढाथोकी भन्छिन् ।
जिल्ला विकास समिति स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रम (एलजिसिडीपी) अन्र्तगत राखिएका महिला सामाजिक परिचालकमा काम गर्ने प्रतिवद्धता र ग्रामीण जनतालाई सहज ढङ्गले आफ्नो कुरा राख्न सक्ने क्षमता बढी भएको जिल्ला विकास समिति दोलखाको सामाजिक विकास अधिकृत नारायण सेढाइले बताए । उनले महिलामा यस्तो क्षमता बढी हुने भएकाले महिलालाईमात्र सामाजिक परिचालक राख्ने व्यवस्था भएको सेढाईको भनाइ छ । तर पहिलदेखि नै काम गरिरहेका छन् भने पुरुष सामाजिक परिचालक पनि हुन सक्ने सेढाई बताउँछन् ।
दोलखाको भीमेश्वर नगरपालिकामा १३ जना सामाजिक परिचालक र जिरी नगरपालिकामा ३ जना सामाजिक परिचालक छन् । जिल्लाको ४८ गाविसमा ४८ जना सामाजिक परिचालक रहेको जानकारी सेढाईले दिए । निर्देशिका अनुसार सामाजिक परिचालकका लागि गाविसको हकमा सम्बन्धित गाविस र नगरपालिकाको हकमा सम्बन्धित वडाको २१ बर्ष पुरा भै १२ पास भएको विवाहित महिलालाई प्राथमिकता दिईने छ ।
Comment Here!