महिला खबर
कपिलवस्तु । राष्ट्रिय महिला अधिकारमञ्च कपिलवस्तुले लैंगिक हिंसा पीडितका लागि मल्हम पट्टी लगाउने काम सुरु गर्ने भएको छ । सोमवार जितपुरमा वसेको मञ्चको वैठकले उक्त कुराको निर्णय गरेको हो । मञ्चका अध्यक्ष राधा पौडेलको अध्यक्षतामा बसेको वैठकले लैंगिक हिंसा अन्त्यका लागि दैनिक खुत्रुके रकम संकलन गर्ने निर्णय गरेको छ । हिंसा न्युनिकरणका लागि दिनको एक रुपैयाँ मञ्चका सदस्यले जम्मा गर्ने भएका छन् । उक्त रकम खुत्रेकेमा जम्मा गरिने छ । पैसा जम्मा गर्न ३ वटा खुत्रुके सोमबारबाटै राखिएको छ । यसमा जो कोहीले दैनिक एक रुपैयाँ खसाल्न सक्ने छन् ।
‘एक थुकी सुकी , हजार थुकी नदी’ भने झै एक रुपैयाँको शुरुवातले महिला हिंसा न्युनिकरणका लागि ठुलो आर्थिक सहयोग हुने अपेक्षा मञ्चले गरेको छ । खुत्रुके अभियान अन्तरगत संकलित रकम मञ्चकै अगुवाईमा लैंगिक हिंसा पीडितलाई सहयोग गरिने छ । वैठकले आउँदो भदौ १२ गते जिल्लामा सरोकारवाला निकाय, संघ संस्था, संचारकर्मी सवैलाई राखी अभियानलाई थप तिव्रता दिने निर्णय पनि गरेको छ ।
Comment Here!