कालो कोट लगाउने चाहना बढ्दै


प्रकाशित मिति :2016-08-09 14:17:11

नुनुता राई
lawललितपुर । सुरक्षा श्रेष्ठ १२ कक्षापछि डाक्टर पढ्न चाहन्थिन् । तर डाक्टर पढ्न एक वर्ष तयारी गरेर बस्न मन थिएन । उनी तुरुन्तै प्रवेश परिक्षा दिएर पढाइलाई निरन्तरता दिन चाहन्थिन् । उनको पहिलो रोजाई डाक्टर नै थियो । उनलाई पढ्नका लागि भनेर विदेश जान मन लागेन । बरु नेपालमा राम्रो विषय पढेर राम्रो ठाउँमा जागीर खाने रहर जाग्यो । हातमा प्रमाणपत्र लिएर बेरोजगार बस्न नपरोस भन्ने उनको चाहना हो । उनले एनजिओ र आइएनजीओतिर कुन विषयको बढी माग हुन्छ भनेर बुझन थालिन् । बुझदै जाँदा सबैतिर कानुनी सल्लाहाकारको रुपमा वकिल राख्ने प्रचलन रहेको बुझिन् । उनलाई कानुन पढे बेरोजगार बस्न नपर्ने रहेछ भन्ने लाग्यो ।

त्यसपछि कानुन विषय पढ्न थालिन् । आजभोलीका युवा पुस्ताले खाली पढ्ने मात्र होइन पढाइलाई सदुपयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने बुझन जरुरी रहेको बताउँछिन् उनी । भनिन् ‘नेपालमा पढाइको प्रमाणपत्र हातमा भएर पनि बेरोजगार भएका धेरै छन् ।, मलाई लाग्छ त्यो सर्टिफिकेट अहिलेको बजारमा खुलेको रोजगार सुहाउँदो छैन ।’ सुरक्षा जस्तै धेरै किशोरी फरक पेशामा जान रुचाउँछन् । त्यो मध्ये एक हो वकालत । यो पेशा नेपालको कानूनी व्यवस्था बुझ्न, महिलाको हक, अधिकार, कर्तव्य बुझ्न र बुझाउने माध्यम मान्छन् किशोरी । यसैको फलस्वरुप कानून विषयमा छात्राको संख्या बढ्दो छ । उनीहरू अब महिलाको अवस्था सुधार्न चाहन्छन् । जुन उनीहरू कानुनबाट सम्भव भएको दावी गर्छन् ।

परिवारले माने ठिक छ नमाने ढाँटेर भएपनि कानुन पढ्छन् विद्यार्थी । ती मध्येकी एक हुन् अस्मिता सुवेदी । उनले भनिन ‘पहिला कस्तो हुन्छ भन्ने जिज्ञासासँगै टाइमपास गर्न क्लास लिन आएँ, रमाईलो लाग्यो यही विषय पढ्न थालेँ ।’ उनी नेश्नल कलेज अफ लको पहिलो वर्षकी विद्यार्थी हुन् । उनी १२ कक्षा  पास गरेपछि डाक्टरको तयारी गरिरहेकी थिईन् । तयारीका क्रममा साथीमार्फत कानुन विषयको तयारी कक्षाको बारेमा सुनेपछि उनी पढ्न आएकी हुन् । पहिलो कक्षामै उनलाई पढाई रमाईलो लाग्यो । उनले कानुन विषयको तयारी कक्षा लिईरहेको घरमा कसैलाई भनेकी थिइनन् । तर लगातार कक्षा लिन भने छुटाईनन् । भर्नाका लागि परिक्षा दिन एक दिन बाँकी हुँदामात्र उनले घरपरिवारलाई भनेकी थिईन् । परिवार पनि एकछिन त अचम्म माने । परिवारले डाक्टर पढ्न नै सुझाए पनि उनी कानुन नै पढ्न थालेको बताउँछिन् । भनिन् ‘कानुन  विषयमा पढिरहँदा यस्तो रमाईलो लाग्छ झन्डै छुटाएछु ।, म कत्ति धेरै कुरामा अनभिज्ञ रहेछु ।’ उनको मनपर्ने विषय वायोलोजी भएपनि अहिले कानुन विषय मन पर्न थालेको छ । उनी समाजलाई सचेत र उत्तरदायी बनाउन पनि कानुन बुझ्न जरुरी रहेको बताउँछिन् ।

अनु राई नेपाल ल क्याम्पसमा तेस्रो वर्षमा अध्ययनरत छात्रा हुन् । उनलाई पहिला समाजशास्त्र र अंग्रेजीमा स्नातकोत्तर गर्ने इच्छा थियो । उनको बुवाले उनलाई कानुन विषय पढ्न दबाव दिए । उनी बुवाको बचन काट्न नसकेर एल.एल.बि पढ्न थालिन् । पहिलो एक वर्ष त पढेको धेरै कुरा बुझिनन् । तर दोस्रो वर्षसँगै बुझन थालेपछि रमाईलो लाग्न थालेको बताउँछिन् उनी । भन्छिन् ‘कानुन विषय पढ्न थालेपछि अधिकार र कर्तव्यको बारेमा सचेत भएकी छु ।, जुन पढ्न भन्दा पहिला ध्यान दिन जरुरी ठानेकी थिईनँ ।’ उनको भनाई अनुसार महिला अन्यायमा पर्नुको कारण हक, अधिकारको विषयमा कानुनी प्रकृया नबुझनु हो । उनी भन्छिन् ‘हिंसामा परेर न्याय प्राप्तिका लागि जाँदा कानुनी प्रकृया नबुझेर थप अन्यायमा परेका धेरै महिला छन् ।, उनीहरूलाई निःशुल्क कानुनी परामर्श दिन महिलाले नै पहल गर्नु जरुरी छ ।’ उनी समाजलाई महिला कम हुन्नन् भन्ने देखाउन चाहन्छिन् ।

law 1

पुनम लामिछानेका आमाबुवाले छोरी डाक्टर भएको हेर्न चाहान्थे । उनको पनि रुची यही थियो । उनका दाई इन्जिनियर र दिदी डाक्टर पढे । उनी पनि डाक्टरका लागि भनेर एक वर्ष तयारी कक्षा पढिन् । परीक्षा दिईन सोचेजस्तो परीक्षाफल आएन । त्यसपछि अर्को विषय के पढ्ने भनेर बुझ्दा कानुन पनि राम्रो विषय हो जस्तो लाग्यो ।  भनिन् ‘यो विषय पढेपछि बेरोजगार बस्न पर्दैन । अरु संस्थामा जागिर नखाए पनि व्यक्तिगत ल फर्म खोल्न पाईन्छ, जुन सबै भन्दा राम्रो पक्ष हो ।’

नेश्नल ल कलेज बि.ए.एल.एल.बी.की संयोजक शारदा तिमिल्सिनाले अहिले कानून पढ्ने महिला बढेको बताईन् । भनिन ‘पहिला ज्यादै न्युन हुन्थे कानुन विषय पढने महिला, विस्तारै धारणा परिवर्तन हुँदै गएको उपज हो ।’ पहिला वकिल वा अभिवक्ता भनेको पुरुष हो भन्ने मानसिकता थियो । अहिले परिवर्तन भएको छ । शारदाका अनुसार अहिले किशोरी पनि सचेत छन् । के पढ्ने भनेर आफैँ निर्णय गरेर परिवारलाई बुझाउँछन् । उनीहरू अरुको कमाईमा भर पर्न चाँहदैनन् । पढेपछि बेरोजगार नहुनका अहिलेको बजारलाई नियालेर मात्र पढ्ने गर्छन् । भविष्यसम्म सुरक्षित हुने किसिमको शिक्षा पढ्न चाहने महिला बढ्दै छन् । विद्यार्थी तत्काल रोजगार मिल्ने पढाई खोज्छन् । तिमिल्सिना भन्छिन ‘कानुन पढेका विद्यार्थीले बेरोजगार बस्न नपर्ने कारण पनि छात्राको आकर्षण बढेको हो ।’ उनले भनिन् ‘हाम्रो कलेजमा गत २ वर्षदेखि यता पढन आउने छात्राको संख्या बढेको छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: