सुमित्रा कोईराला
उदयपुर । थोत्रो घर, मक्किएका बाँसका भाटाले बारबेर गरेपनि जताततै भ्वाङ, त्यही घरको बाहिर छेउमा रहेको पुरानो खाट, त्यसमाथि दुवै हात बाँसको टाटीमा बाँधिएर राखिएकी एक गर्भवती महिला । गर्भवती अवस्थामा मानसिक रुपमा स्वस्थ र तन्दुरुस्त, नियमित व्यायाम, स्याहार सुसार र खानपिनमा विशेष आहारको आवश्यकता पर्छ । तर उदयपुरको त्रियुगा नगरपालिकाकी एक गर्भवती महिलालाई भने महिनादेखि घरमै बाँधेर राखिएको छ ।
मानसिक रोगले पीडित त्रियुगा नगरपालिका भातिखर्ककी २२ वर्षीया सृजना कार्की (खड्का)लाई उपचार नगरी बाँधेर राखिएको छ । उनी गर्भवती छन्, श्रीमानले समेत घरमै छाडेर हिडेपछि उनी विचल्लीमा परेकी छन् । गर्भ रहेको दुई महिनापछि छोराले समेत छाडेर हिँडे, बृद्ध सासु ससुरालाई बिरामी बुहारीको बोझ थपिएको ससुरा भिम बहादुर खड्काले बताए । उनले भने ‘छोरा कहाँ गयो गयो अत्तो पत्तो छैन विरामी बुहारीको हामी बुढाबुुढीले कसरी स्याहार गरौं ?’
सिन्धुलीको लदाभिर गाविसबाट २०७० फागुनमा विवाह भई गाईघाट आएकी खड्काको माईती समेत विरामी भएपछि हेर्न नआएको ससुराले गुनासो गर्दै भने ‘बुहारी विरामी भएको यत्रो दिन भयो, तर जन्म दिने बुबा, आमा त भेट्न आउनु पर्ने हो उनीहरू पनि आएका छैनन् ।’
‘७१ जेठमा पाटन अस्पताल गएर चेक जाँच गराएकोमा नियमित चिकित्सकको निगरानीमा औषधी सेवन गर्नु भनेको थियो, तर आर्थिक अभाव भएकाले पुनः अस्पताल लैजान सकिएको छैन’ निन्याउरो मुख लगाउँदै खड्काले गुनासो गरे । ‘एक त मानसिक रोगी त्यसमाथि खुट्टामा घाउ भएर फ्यात्तै पाकेको छ उपचार गर्न पैसा छैन’ भिमबहादुरले भक्कानिँदै भने ।
गर्भवती महिला उपचार अभाव भएकै कारण बाँधिएर बस्नु दुखद भएको महिला अधिकारकर्मी महेश्वरी राईले बताईन् । गैर सरकारी संस्था महासंघ उदयपुरको अध्यक्ष समेत रहेकी राईले भनिन् ‘हामी अधिकारकर्मीको पहलमा बैठक बसेर के सहयोग गर्न सकिन्छ भनेर छलफल गर्नेछौ ।’
Comment Here!