बादी महिला : अर्को आन्दोलनको तयारीमा


प्रकाशित मिति :2016-08-10 11:05:06

सरकारले आफूसँग गरेको सम्झौता र संसदीय समितिका प्रतिवेदनहरू कार्यान्वयनमा नआएपछि बादी महिला अर्को आन्दोलनको तयारीमा छन् ।

सुशील दर्नाल
काठमाडौं । सुर्खेतकी तुलसादेवी बादीले देहव्यापार छाडेको आठ वर्ष भयो । सरकारले ०६५ सालमा बादी समुदायका महिलालाई यौनशोषणबाट मुक्त र पुनस्र्थापना गर्ने घोषण गरेसँगै उनले देहव्यापार छाडेकी हुन् । तर, अहिलेसम्म पनि उनको पुनस्र्थापना हुन सकेको छैन । राजधानी काठमाडौंमा सिलाइबुनाइको काम गर्दै आएकी तुलसादेवीले भनिन्, ‘उतिबेला बादी महिलाको आन्दोलन तुहाउन सरकारले यौनशोषणमुक्त र पुनस्र्थापनाको घोषणा गर्‍यो, तर अहिलेसम्म कुनै कार्यक्रम ल्याएको छैन ।’

सरकारले प्रभावकारी कार्यक्रम नल्याएकोमा बादी महिला असन्तुष्ट छन् । बादी समुदाय उत्थान विकास समितिकी निर्वतमान सञ्चालक समिति सदस्य रुकमणि बादी भन्छिन्, ‘अहिले संस्थागत वा खुलेआम रूपमा त देहव्यापार छैन । तैपनि कतिपय बादी महिला जीविका चलाउन भारत गएर देहव्यापार गरिरहेका छन् र कतिपयचाहिँ नेपालमै पनि छुकिछिपी पेसा चलाइरहेका छन् ।’ उनका भनाइमा सहरी विकास मन्त्रालयले घर आवास कार्यक्रमअन्तर्गत पुनस्र्थापनाको कार्यक्रम ल्याए पनि त्यसले सबैलाई समेट्न सकेको छैन ।

बादी समुदायका महिलाले ०६४ भदौ १ गतेदेखि ४८ दिनसम्म अधिकारका लागि सिंहदरबार पश्चिमढोकाअगाडि अर्धनग्न जुलुस निकालेर सङ्घर्ष गरेका थिए । ०६५ पुस २३ गतेको मन्त्रिपरिषद्को निर्णयले बादी महिलालाई यौनशोषणमुक्त र पुनस्र्थापना गर्ने घोषणा गरेको थियो । अहिलेसम्म त्यो घोषणामै सीमित छ ।

जातीय रूपमा चरम छुवाछूत र विभेद भोगिरेहको बादी समुदायलाई दलित समुदायभित्र समावेश गरिएको छ । दलित समुदायभित्र पनि उनीहरू सबैभन्दा बहिष्करणमा पर्दै आएका छन् । दाङ, कैलाली, सल्यान, रोल्पा, बर्दिया, सुर्खेत, बाँकेलगायतका जिल्लामा रहेको बादी समुदायको उत्थानका लागि राज्यबाट सबैभन्दा पहिला ०३६ सालमा प्रयास भएको देखिन्छ । बादी समुदाय उत्थान विकास समितिका निवर्तमान उपाध्यक्ष पुष्प बादी भन्छन्, ‘बादी महिलामा यौन पेसाजस्तो काम गर्नुहुँदैन भन्ने चेतना अहिले आएको छ । तैपनि बिहान–बेलुकाको छाक टार्न उनीहरू यो पेसा गर्न बाध्य छन् ।’

०६४ मा अधिकारका लागि सिंहदरबार पश्चिमढोकाअगाडि अर्धनग्न जुलुस निकालेर चर्चामा आएकी थिइन् राष्ट्रिय बादी अधिकार सङ्घर्ष समितिकी अध्यक्ष उमादेवी बादी । उनी सरकारले पुनस्र्थापना नगरे पनि जीविकोपार्जनका लागि पछिल्लोपटक बादी समुदायका महिला आफैँ पनि विभिन्न आयआर्जनका काम गरेर आत्मनिर्भर बन्दै आएको बताउँछिन् । नाचगानबाट जीविकोपार्जन गर्दै घुमन्ते जीवन बिताउने बादी समुदाय बिस्तारै जीविकोपार्जनका लागि अन्य कार्यहरू गर्न सङ्घर्षरत छ । उनीहरूले मादल बनाउने, सुल्पा, हुक्का, चिलिम, माटाका भाँडा बनाउनुका साथै माछा मार्ने कामसमेत गर्दै आएका छन् ।

७५ वटै जिल्लामा छरिएर रहेको बादी समुदायलाई बादी, नेपाली, पातर, दमाईं, वैराग, सिंह, कुमाल, दास, गन्धर्व र गाइने आदि थरबाट सम्बोधन गरिँदै आएको छ । ०६८ को जनगणनाअनुसार बादी समुदायको जनसङ्ख्या ३८ हजार ६ सय ३ रहेको छ । पुरुषको सङ्ख्या १८ हजार दुई सय ९८ र महिलाको सङ्ख्या २० हजार तीन सय पाँच रहेको छ । बादी समुदाय अधिकांश ग्रामीण क्षेत्रमा बसोबास गर्छ । कुल ३० हजार आठ सय ८२ को गाउँमा बसोबास छ भने सहरमा सात हजार सात सय २१ जना बसोबास गर्छन् ।

बादी समुदायको उत्थानको निम्ति ०६८ वैशाख २३ गते स्थापना गरिएको बादी समुदाय उत्थान विकास समितिले ०७१ मा तयार पारेको ‘बादी विकास तथा उत्थान रणनीति, २०७१’ मा समावेश नमुना घरधुरी सर्वेक्षणलाई हेर्दा बादी समुदायको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक अवस्था अत्यन्त दयनीय रहेको देखिन्छ ।

समितिले तयार गरेको प्रतिवेदनअनुसार अहिलेसम्म बादी समुदायबाट स्नातकोत्तर उत्तीर्ण हुने व्यक्ति दुईजना मात्र छन् । प्रतिवेदनले बादीहरूको सशक्तीकरणमार्फत उनीहरूलाई राज्यको मूलधारमा ल्याई साधनस्रोतको पहुँच र नियन्त्रण अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । समितिका अनुसार करिब ४० प्रतिशत बादी परिवार घरवारविहीन छन् र बाँकी ६० प्रतिशत ऐलानी, प्रति र सरकारी जमिनमा बसोबास गर्दै आएका छन् ।

समग्रमा २० प्रतिशत बादीहरूको मात्र जमिनमाथिको स्वामित्व छ भने ८० प्रतिशत बादी समुदाय अझै पनि ओडार र गोठमा बस्दै आएका छन् । बादी समुदायको प्रशासनिक संयन्त्रमा सहभागिताको अवस्थालाई हेर्दा विकास समितिमा उपाध्यक्ष, कार्यकारी निर्देशक र बोर्ड सदस्य, दलित विकास समितिमा एकजना बोर्ड सदस्यबाहेक अन्य कुनै पनि निकायमा उनीहरूको सहभागिता पाइँदैन ।

बादी समुदायमा यौन व्यवसायबाट जन्मिएका बालबालिकाले बाबुको ठेगान नभएका कारण अहिले पनि जन्मदर्ता र नागरिकताको समस्या झेल्दै आएका छन् । बादी समुदायको उत्थानको निम्ति स्थापना गरिएको बादी समुदाय उत्थान विकास समिति यस्ता समस्या समाधानका लागि राज्यसँग पहल गर्नुभन्दा पनि विभिन्न गोष्ठी र तालिममै सीमित भएको देखिन्छ ।

अधिकारकर्मी गोपाल बादी समाजको सबैभन्दा पिँधमा पारिएको समुदायको उत्थानको निम्ति सरकार आपैmँले गरेको पुनस्र्थापना घोषणा कार्यान्वयन नहुनु दुःखको कुरा भएको बताउँछन् । सरकारले आर्थिक वर्ष ०७३/७४ मा बादी समुदायको पुनस्र्थापनाका लागि छुट्याएको दश लाख रुपैयाँ बादी समुदायको बारेमा अध्ययन/अनुसन्धान गर्नमै मात्रै खर्च हुने अधिकारकर्मी भरत नेपालीको भनाइ छ ।

व्यवस्थापिका–संसद् महिला, बालबालिका र समाज कल्याण समितिअन्तर्गत ‘बादी समुदायका महिलाको समस्या र अवस्था’ सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन २०६८, भूमिसुधार तथा व्यवस्था मन्त्रालय ‘बादी समुदायको अध्ययन कार्यदलको प्रतिवेदन २०६५’ ले दिएका सुझाब र सरकारसँग पटकपटक भएका सहमति कार्यान्वयन हुने हो भने पनि बादी समुदायका अधिकांश समस्या समाधान हुने देखिन्छ । संसदीय उपसमितिले दिएको प्रतिवेदनलाई लागू गर्ने हो भने मात्रै पनि बादी समुदायको आर्थिक, सामाजिक र राजनीतिक समस्या समाधान हुने उपसमितिका पूर्वसंयोजक तथा पूर्वसभासद् विनोद पहाडीको भनाइ छ ।

उपसमितिले भूमिहीन बादी समुदायलाई भूमिसहित आवासको व्यवस्था गर्नुपर्ने, दीर्घकालीन सुरक्षित बासको प्रबन्ध मिलाउनुपर्ने र उत्पादन गरेर खान पुग्ने जग्गाजमिनको वितरण गर्नुपर्नेलगायत राजनीतिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, सांस्कृतिक समस्या समाधान गर्न सुझाब दिएको छ । ०६४ को बादी आन्दोलनका अगुवासमेत रहेका पहाडीले बादी समुदाय र सरकारबीच पटकपटक भएका सहमति कार्यान्वयन गराउनका सम्पूर्ण बादी समुदाय एकजुट भएर फेरि आन्दोलन गर्ने तयारी भइरहेको बताए ।

(सञ्चारिका फिचर सेवा)
(सुशील, काठमाडौंका पत्रकार हुन् ।)         

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: