सुमित्रा के सी
रुकुम । रक्सी नदिएको र परिवारले जातिय भेदभाव गरेको बदला लिन किशोरीको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका तीन जना अभियुक्तलाई अदालतले सफाइ दिएको छ । रुकुमको खोलागाँउ गाविसकी १८ वर्षीया किशोरी सुिस्मता शाहको २०७२ फागुनमा हत्या गरेको स्वीकार गर्ने खोलागाउँका २५ वर्षीय यामबहादुर नेपाली, १६ वर्षीय ज्ञानेन्द्र राणा र सोही ठाउँकै १५ वर्षीय प्रेम खडकालाई जिल्ला अदालत रुकुमले सफाइ दिएको हो ।
स्थानीय प्रेम बहादुर शाहकी छोरी सुिस्मताको घर नजिकै रहेको स्थानिय सामुदायिक वनमा दाउरा काटेर घर फर्कंदै गर्दा बाटोमा शव फेला परेको थियो । सुस्मिताको शरीरमाचोट लागेको थियो । जताततै कोतरिएको र मुखमा रगत लतपतिएको अवस्थामा शव फेला परेको थियो । मृतक भित्री वस्त्रमा मात्रै भेटिएकी थिइन् ।
मृतकको पोष्टमार्टम जिल्ला अस्पताल जाजरकोटमा गरिएको थियो । लामो समयसम्म हत्यारा पक्राउ नपरेपछि जिल्लास्थित महिला अधिकारकर्मीले घटनाको निष्पक्ष छानविनसहित हत्यारालाई पक्राउ गर्न दवाव दिँदै आन्दोलन गरेका थिए । घटना भएको डेढ महिनापछि प्रहरील यी तीनजनालाई हत्याको आरोपमा पक्राउ गर्यो । आरोपितलाई प्रहरीले पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरेको थियो ।
उधारोमा रक्सी नदिएको र मृतकको परिवारले जातिय भेदभाव गरेको बदला लिन उनको हत्या गरेको अभियुक्तहरूले बयान दिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरिक्षक रुपेश खडकाले जानकारी दिनुभएको थियो । अभियुक्त तीनै जनाविरुद्घ कर्तव्य ज्यान मुद्दा जिल्ला अदालतमा दर्ता गरियो । मुद्दा दर्ता गरेको पाँचमहिनापछि अदालतले सो मुद्दाको अन्तिम सुनुवाई गर्दै निर्दोष रहेको भन्दै उनीहरूलाई सफाई दिएको छ ।
Comment Here!