इन्दिरा खनाल
रुपन्देही । बुटवलमा एकजना महिलाको हत्या भएको छ । तिलोत्तमा नगरपालिका–८ गोरकट्टा घर भई केही समय देखि बुटवल –१३ कालिकानगरमा भाडामा बस्दै आएकी अन्दाजी ४० वर्षीया कमला न्यौपानेको हत्या भएको हो ।
न्यौपानेको विद्युतीय मल्टीप्लगको तारले घाटी कसेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्या गरि पलङभित्र राखेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक राजु कार्कीले बताए ।
उनि केहि समयदेखि परिवारसहित बुटवलमा भाडामा बस्दै आएकी थिइन । उनले केही वर्षयता विभिन्न समूहमा ढुकुडी खेलाउदै आएकी थिइन । विहीबार पनि दिनभर बजारमा ढुकुडी किस्ता उठाउदै हिडेको र साझ ६ बजेतिर कोठामा फर्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको कार्कीले जानकारी दिए ।
बुटवलमा जुत्तापसल संचालन गर्दै आएका कमलाका श्रीमान नित्यानन्द न्यौपाने विहीबार बिहानै सामान खरिद गर्न काठमाडौं गएका थिए । कोठामा अरु कोहि नभएको अवस्थामा उनको हत्या भएको प्रहरीले जनाएको छ । कोठामा कमला एक्लै भएकोले साथी दिन गएका उनका दाजुका छोरा रेबिक पाण्डेले दिदी भन्दै सबै कोठामा खोजेको र खोज्दै जाँदा कमला सुत्ने कोठाको पलङभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
हत्याको खबर पाएपछि तत्काल घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक राजु कार्कीले घटनाको थप अनुसन्धान सुरु गरिएकोे जानकारी दिए । कमलाको शव पोष्टमार्टमको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ ।
Comment Here!