पुनर्निर्माणमा महिला झनै उपेक्षित


प्रकाशित मिति :2016-08-13 10:00:42

‘९५ जनाको सहभागिता रहेको पुनर्निर्माण प्राधिकरणको परामर्श समितिमा दुईजना महिला राख्नु पुनर्निर्माण प्रक्रियामा महिला सहभागिता आवश्यक नठान्नुजस्तै हो ।’

सुजाता ढुङ्गाना

काभ्रे । काभे्रकी भवानी घोरसाइनेका श्रीमान वैदेशिक रोजगारीमा छन् । भूकम्पले भत्किएको घर बनाउने जग्गाको लालपुर्जासमेत उनको नाममा छैन । अरूको नाममा भएको लालपुर्जामा घर बनाउन मञ्जुरीनामा चाहिन्छ । विदेशमा रहेका श्रीमानबाट कसरी मञ्जुरीनामा

झिकाउने भन्ने पनि उनलाई थाहा छैन । भवानी भन्छिन्, ‘श्रीमानले मञ्जुरीनामा कसरी पठाइदिन्छन् र मैले पाउँछु, कसैले बताइदिए हुने !’
काभ्रेकै सुनिता तामाङको विवाह भएको तीन वर्ष भयो । उनको विवाहदर्ता भएको छैन । परिवारसँग छुट्टै बसेकी सुनिताका श्रीमान वैदेशिक रोजगारीमा गएका छन् । भूकम्पपश्चात् घर आएका श्रीमान् राहत कार्ड बनाएर हतारहतार विदेश फर्किए । भूकम्पपीडितको राहत कार्ड श्रीमानको नाममा छ । कार्ड उनीसँगै भए पनि मान्छे र विवाहदर्ता नहुँदा अनुदानबापतको राहत रकमको प्रक्रिया अड्किरहेको छ ।

भूकम्पबाट प्रभावित काभ्रेका धेरै युवा वैदेशिक रोजगारीका लागि विदेशमा छन् भने घर सम्हालेर महिला बसेका छन् । लालपुर्जा श्रीमानको नाममा हुनु, तर घरमूलीका रूपमा महिला हुँदा पुनर्निर्माण प्राधिकरणले दिने भनेको अनुदान सम्झौता गर्न महिलालाई सास्ती छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव कालीप्रसाद रिजाल भन्छन्, ‘विदेशबाट श्रीमानले मञ्जुरीनामा पठाइदिए मात्र प्राधिकरणले श्रीमतीसँग अनुदान रकम सम्झौता गर्न सक्छ ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसम्बन्धी ऐन तथा नियमले पुनर्निर्माण प्रक्रियालाई लैङ्गिकमैत्री बनाउने भनेको छ । तर, कार्यान्वयन तहमा यसको हदैसम्म उपेक्षा भएको देखिन्छ । उदाहरणका लागि राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद्मा ९५ जना सदस्यमध्ये दुईजना मात्र महिला छन् । मुख्य काम गर्ने निर्देशक समितिमा ११ सदस्य र कार्यकारी समितिमा सातजना सदस्य छन् त्यहाँ कुनै महिला छैनन् । भूकम्प पुनर्निर्माण प्राधिकरणका सहसचिव रिजाल भन्छन्, ‘केही पुरुष सदस्य हटाएर महिलाविज्ञ सदस्य थप्ने अभ्यास हामी गरिरहेका छौँ । सकेसम्म छिटो प्राधिकरणका सदस्य हेरफेर गर्ने तयारी गर्दै छौँ ।’ तर, प्राधिकरणको सदस्य हेरफेर हुन सक्ने पत्याउन नसकिने कुरा हो भन्छन् अधिवक्ता सविन श्रेष्ठ । महिलालाई पीडित तथा प्रभावित मात्र नभएर पुनर्निर्माण प्रक्रियामा सहभागी गराइनुपर्छ भन्नेमा हाम्रा राजनीतिक दल गम्भीर छैनन् ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. विमला राई पौड्याल भन्छिन्, ‘पुनर्निर्माण प्राधिकरणको महत्वपूर्ण तहमा महिलाको शून्य सहभागिता दुःखद् पक्ष हो ।’ विमलाका भनाइमा सरकार र प्रमुख राजनीतिक दलहरूलाई पुनस्र्थापनाको निर्णय प्रक्रियामा महिलाको नगन्य प्रतिनिधित्व र सहभागिता हुनु राजनीतिक दलहरूले अझै पनि महिला सहभागिता आवश्यक छ भनेर महसुस गर्न सकेका छैनन् भन्ने हो ।
पुनर्निर्माण प्रक्रियामा महिलामैत्री विधेयकको मस्यौदा बनाएकी डा. विमला राई पौड्याल सरकारले पुनर्निर्माण प्राधिकरण गठन प्रक्रियादेखि नै महिलालाई सहभागी नगराएकोमा आश्चर्यमा छिन् । उनी भन्छिन्, ‘९५ जनाको सहभागिता रहेको परामर्श समितिमा जम्मा दुईजना मात्रमहिला राख्नु प्राधिकरणमा महिला सहभागिता आवश्यक नठान्नुजस्तै हो ।’

अधिवक्ता सविन श्रेष्ठ भन्छन्, ‘प्राधिकरणले सक्दो समावेशी र लैङ्गिकमैत्री बनाउने व्यवस्था गरेको छ, तर व्यवहारमा त्यो शून्य देखिन्छ। केन्द्रदेखि जिल्लासम्मको पुनर्निर्माण प्रक्रियामा महिलाको सङ्ख्या ज्यादै न्यून छ । अझ जिल्लामा हुने समिति, उपसमितिमा अधिकांश पद पदेन राख्ने व्यवस्था गरिएको छ जहाँ स्वतः पुरुषको बाहुल्य हुन्छ । महिलालाई ध्यान दिने हो भने महिला तथा बालबालिकाको कार्यालयलाई समावेश गर्न सकिन्थ्यो, तर प्राधिकरणले त्यसतर्फ नसोचेको श्रेष्ठको भनाइ छ ।

यसको प्रत्यक्ष असर गाउँगाउँमा परिरहेको छ । महिलाका नामका लालपुर्जा नहुने, पुरुष विदेशमा हुने र यसले समग्र पुनर्निर्माण प्रक्रिया प्रभावित हुँदा पनि प्राधिकरणले यसमा बाधा अड्काउ फुकाउ गर्न सकेको छैन । नीति–निर्माण तहमा महिला उपस्थिति नहुनु देख्न सकिने उदाहरण हो ।

भूकम्पबाट भत्किएका घर तथा भौतिक संरचनाको पुनर्निर्माण र विस्थापित भएका व्यक्तिलाई पुनस्र्थापना गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरिएको हो । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी आठ हजार सात सय ९० ले ज्यान गुमाएको भूकम्पपछिको आवश्यकता आँकलन प्रतिवेदनले जनाएको छ । भूकम्पमा परी घाइते हुनेको सङ्ख्या २२ हजार तीन सय छ । सो प्रतिवेदनअनुसार चार लाख ९८ हजार आठ सय ५२ निजी घर, दुई हजार ६ सय ५६ सरकारी भवन र विद्यालयका १९ हजारभन्दा बढी कक्षाकोठा पूर्ण रूपमा क्षति भएका थिए ।

(संचारिका फिचर सेवा)
(सुजता, काठमाडौंकी पत्रकार हुन् ।)     
 

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: