निरज सापकोटा
रामेछाप । जिल्ला जनस्वास्थ्य कार्यालयको लक्ष्य अनुसार स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसकेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । १ बर्षमा ५ हजार महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी गराउने लक्ष्य लिएको जिल्ला स्वास्थ्य कार्यालयले १ हजार ४ सय महिलाको मात्र स्वास्थ्य संस्थामा सुत्केरी गराउन सकेको जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा रामेछापमा १ हजार ४ सय महिलाले स्वास्थ्य संस्थामा सुत्केरी गराएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. प्रकाश प्रसाद शाहका अनुसार जिल्लामा महिला प्रत्येक पटक नियमित गर्भ जाँचका लागि स्वास्थ्य संस्थामा हिँडेर जाने, तर स्वास्थ्य स्ंस्था टाढा भएका कारण सुत्केरी गराउन आफैँ जान नसकेका कारण स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या स्वास्थ्य जाँच गराउन आउँदाको भन्दा कम छ । भन्छन् ‘गर्भ नियमित स्वास्थ्य जाँच गर्न आफै हिँडेर आउँछन्, तर बेथा लागेपछि त्यो सम्भव हुँदैन र जिल्लाका सबै ठाउँमा बर्थिङ सेन्टर पनि छैन । त्यसैले स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउने महिलाको संख्या तथ्याङ्कमा कम देखिएको हो ।’
डा. शाहका अनुसार हाल जिल्लामा ३० वटा बर्थिङ सेन्टर छन् । जिल्ला जनस्वास्थ्यले आगामी आर्थिक वर्षमा २५ वटा स्वास्थ्य संस्थामा नयाँ भवन बनाउन सिफारिस गरेको छ । भौतिक संरचना तयार भएपछि बर्थिङ सेन्टर नभएका स्वास्थ्य संस्थामा थप बर्थिङ सेन्टर खोल्ने र आगामी वर्षसम्ममा रिक्त रहेका अनमी तथा नर्सको पनि दरबन्दी पूर्ण हुने बताए ।
हाल सुरक्षित सुत्केरी हुन गाह्रो हुने डरले कोही काठमाडौं जाने र कोही छिमेकी जिल्लाका अस्पतालमा जाने गरेका छन् । त्यसैले जिल्लामा गर्भवती महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने संख्या न्यून देखिएको हो । डा. शाहले एउटा स्वास्थ्य चौकीमा २ जना अ.न.मी.को दरबन्दी भएपनि अहिले धेरैजसो स्वास्थ्य संस्थामा पदपूर्ती नभएको बताए ।
१ वर्षभित्र ५ वर्ष मुनिका १७ जना वालवालिकाले ज्यान गुमाए जिल्लामा एकवर्षमा पाँचवर्ष मुनिका १७ जना बालबालिकाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७२/७३ मा ती वालवालिकाले ज्यान गुमाएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाश प्रसाद शाहले जानकारी दिए ।
ज्यान गुमाएकामध्ये जन्मेको २८ दिनमा नै ज्यान गुमाउने ३ जना रहेका छन् । यस्तै ६ महिनादेखि ५ वर्ष मुनिका ज्यान गुमाउने वालवालिकाको संख्या १४ रहेको पनि डा. शाहले जानकारी दिए ।
Comment Here!