महिला खबर
सुनसरी । भरौलका १४ वर्षीय सुजन वस्नेतलाई आफ्नो भन्दा कम उमेरका वालवालिकाको विवाह भएको सुन्दा र देख्दा अचम्म लाग्थ्यो । पढनका लागि स्कुल जानुपर्ने वालवालिका विवाह वन्धनमा बाधिँदा हुने विभिन्न समस्या वारे उनी जानकार थिए । अपरिपक्व उमेरमा भएको विवाहले स्वास्थ्यमा पार्ने प्रभावका वारेमा सुजनलाई राम्ररी थाहा थियो । त्यसैले सुनसरीका बिभिन्न ठाँउमा वालविवाह भएको सुन्दा उनी पिरोलिन्थे ।
उनले वालविवाहका वारेमा राष्ट्रब्यापी नारा लेखन प्रतियोगिता हुँदैछ भन्ने सुने । उनलाई नारा फुराउन गाह्रो परेन । लेखे ‘वालवालिकाको इच्छा, विवाह होइन शिक्षा’ । जति वेला उनले थाहा पाए उनले लेखेको नारा उत्कृष्ट भयो,उनको खुशीको सिमा नै रहेन । देशभरवाट आएका ५ सय ११ जनाको नारालाई उछिन्दै उनको नारा उत्कृष्ट भएको हो । सुनसरी भरौलको जडेज उच्च माविमा नौ कक्षामा पढने सुजन वस्नेतलाई इटहरीमा एक कार्यक्रममा पुरस्कार समेत प्रदान गरिएको छ । उनी रेष्टलेस डेभलपमेन्ट नेपाल नामक संस्थाले आयोजना गरेको राष्ट्रब्यापी नारा लेखन अभियानमा उत्कृष्ट भएका हुन् । सुनसरी जिल्लामा वालविवाह अन्त्यका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम भइरहे पनि वालविवाह गर्ने क्रम जारी रहेको अभियानकर्मी रविन घिमिरेले वताउनुभयो ।
Comment Here!