सञ्जु पौडेल
गाँस, बास र कपासको जोहो गर्नकै लागि शुरु गरिएको बाख्रा पालन तथा तरकारी खेतीले विपन्न परिवारकी रुपा हितंगा मदनपोखरा गा.वि.स. तथा आसपासका अन्य गाँउले दिदीबहिनीका लागि प्रेरणाको स्रोत बनेकी छन् ।
निम्न आर्थिक अवस्थाकी रुपा हितंगा मदनपोखरा, पाल्पाकी वासिन्दा हुन् । उनी ८ वर्ष अगाडीसम्म अर्काको खेतबारीमा मेलापात तथा ज्याला मजदुरी गरेर परिवारको गुजरा चलाउने गर्दथिन् । एकातिर चरम गरिबी, तथा दलित परिवारको सदस्य, अनि अर्कोतिर श्रीमानले सँधै रक्सी खाएर दुःख दिने । यही कारण आफ्नै समुदायका मानिसले पनि रुपालाई अन्यको तुलनामा भेदभाव गर्ने गर्दथे । समुदायको त्यस्तो व्यवहारले रुपालाई भित्रभित्रै दुःखी बनाउथ्यो । त्यसैले पनि उनले आत्मनिर्भर बन्न केही गरेर देखाउने दृढ संकल्प लिईन् ।
दुई सन्तानकी आमा ३३ वर्षीया रुपालाई पारिवारीक जिम्मेवारी भएता पनि श्रीमानको व्यवहारमा कुनै परिवर्तन आएको थिएन । ज्यालामजदुरी गरेर घर खर्च टार्नु कम्ती मुश्किल थिएन । त्यसैले सानोतिनो आफ्नै उद्यम गरेर स्वरोजगार हुने उद्देश्यले उनले बाख्रापालन शुरु गरिन् ।
एक हजार रुपैयाँमा सानो पाठी किनेर सुरुभयो उनको व्यवसाय । रुपाले अहिलेसम्म दुई लाख रुपैयाँ जतिको आय आर्जन गरिसकेकी छिन् ।
कडा मेहनत र लगनशिलतासहित उनले बाख्रा पालन व्यवसायमा रातदिन जोडेर परिश्रम गरिन् । त्यही अनुसारको परिणाम पनि आउन थाल्यो । सो व्यवसायबाट राम्रै आम्दानी भएतापनि महंगीका कारण घरखर्च अपुग हुन थाल्यो । उनलाई यति गरेरमात्रै बस्न मन पनि लागेन । रुपाले मौसमी तथा बेमौसमी तरकारी व्यवसाय पनि गर्न शुरु गरिन् । सो व्यवसायका लागि उनले स्थानीय संगम टोल आमा समूह मदनपोखराबाट २० हजार रुपैयाँ ऋण लिइन् । उक्त रकमबाट उनले ४ रोपनी जमिन भाडाँमा लिनुको साथै आवश्यक बिउ, बिजन तथा मल खरिद गरिन् । रुपाले व्यवसायिक तरकारी खेतीबाट प्रत्येक वर्ष ७० हजार रुपैयाँ जतिको आम्दानी गर्दै आइरहेको बताइन् । अहिले उनी व्यवसायका कारण अन्य महिलाका लागि पे्ररणाको स्रोत बनेकी छिन् । रुपा कै सिको गरेर स्थानिय तथा अन्य आसपासका धेरै महिलाले पनि फुर्सदको समयलाई सदुपयोग गर्दै व्यवसायिक तरकारी खेती गरेको देख्दा रुपा खुशी छन् ।
रातदिन रक्सी सेवन गरेर दुःख दिने उनका श्रीमान ताराले समेत उनको व्यवसायमा सहयोग गर्न थाले । काम नहुँदा खाली समयमा नराम्रो लतमा लागेका उनको खेतबारीमा व्यस्त हुँदा रक्सी खाने बानी छुटेका श्रीमती रुपा बताउँछिन् । मदिरा सेवनको नराम्ररी लत बसेका तारालाई श्रीमती रुपाको साथ र सहयोगले मदिरालाई चटक्कै छाड्नका लागि ठूलो सहयोग पुगेको थियो । बिस्तारै आर्थिक अवस्थामा सुधार आयो । उनले उत्पादन गरेको तरकारी तथा खसी, बोका तानसेन बजारमै खपत हुने गर्दछ । घरसम्म पनि खरिद गर्न आउने गरेको उनी बताउँछिन् ।
रुपा एक्लैले पाँचवर्षदेखि पुरै घर व्यवहारसहित व्यवसायलाई चलाईरहेकी छन् । उनका श्रीमान तारा बैदेशिक रोजगारीको शिलशिलामा कतारमा छन् । रुपाको कमाईले उनीहरूको परिवारको खर्च राम्ररी चलिरहेको छ । बचत पनि भइरहेको छ । उनले श्रीमानले बिदेशबाट पठाएको रकममा आफूले गरेको बचत पनि थपेर बुटवलमा घडेरी समेत जोडेकी छिन् । रुपा भनिछन्, ‘आफ्नै कमाईले छोराछोरीलाई गुणस्तरिय शिक्षा पनि दिन सकेकी छु ।’ स्थानीय विद्यालयमा छोरी ८ कक्षा र छोरा ४ कक्षामा पढ्छन ।
रुपाले आफ्नो बाख्रा पालन तथा व्यावसायीक तरकारी खेतीलाई अझ व्यवस्थित गरेर बिस्तार गर्ने योजनामा छन् । कुनै समयमा मदनपोखरा गाविस भरिकै दुःखी परिवार भनेर चिनिने रुपाको परिवार अहिले सबै भन्दा सुखी परिवार भनेर चिनिएको छ ।
Comment Here!