घरधन्दाबाटै आम्दानी गर्दै महिला


प्रकाशित मिति :2016-08-17 17:03:00

झुप्रोमा आएर कसले खान्छ र को वास बस्छ भनेर पत्याउन नसकेको महिलाले अहिले होमस्टेबाट राम्रो आम्दानी गरेर आत्मसम्मानसहितको जीवन जिउन थालेका छन् ।  

सागर चन्द

  tharu women dalla
केही वर्षअघिसम्म दिनभरी अर्काको खेतबारीमा काम गर्ने बर्दिया तारा गाउँ विकास समिती सुर्यपटुवाकी पन्छी योगीलाई  अचेल आफ्नै गाउँको होमस्टे र घरको काम गर्न भ्याइ नभ्याइ छ । ‘पाहुनाको स्वागत,सत्कार र गाउँ घुमाएरै दिन बित्छ कसरी अर्काकोमा काम गर्न जानु’ ४७ वर्षीया योगीले भनिन् ।

२०५४ सालमा स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङले पदयात्रा गर्ने पर्यटकलाई लक्षित गरेर स्याङ्जा जिल्लाको सिरुबारीबाट सुरु गरेको होमस्टे (घरबास) अभियान अहिले देशैभरीका मुख्य पर्यटकीय स्थलमामात्र नभई पिछडिएका बस्ति र समुदायमा समेत लोकप्रिय बन्दै गइरहेको छ । घरवास कार्यक्रमले धेरै महिलाको अवस्थामा सुधार गरेको छ ।

२०६७ साल असोजमा पश्चिम नेपालको बर्दिया जिल्ला तारा गाउँ विकास समितिको थारुको बाहुल्यता रहेको सुर्यपटुवामा स्थापना भएको हो जैविक मार्ग सामुदायिक होमस्टे (यो होमस्टे डल्ला होमस्टेका नामले समेत परिचित छ) ।

 होमस्टे सञ्चालक समितिकी उपाध्यक्ष समेत रहेकी पन्छी योगीले अहिले अर्काको खेतबारीमा गएर काम गर्नु परेको छैन् । ‘पहिला त  हामी सबै अर्काको खेत र घरमा गएर काम गथ्र्यौ, तर अचेल कोही जादैँनन् होमस्टेबाटै खान लाउन पुगेको छ’ योगीले भनिन् । पुर्खौंदेखि अर्काको घरम कम्लरी र कामदारको रुपमा काम गर्दै आएका बर्दिया तारा गा.वि.स सुर्यपटुवाका थारु महिलालाई होमस्टेको स्थापनाले आफ्नै घरको काम गरेर आत्मसम्मानसहितको जिवन दिएको छ । ‘अरुको घरमा काम गर्दा सधै  टाउको निहुर्‍याउनु पथ्र्यो, मालिकको गाली सहनु पथ्र्यो’ योगीले विगत सम्झदै भनिन् । होमस्टेले योगी जस्तै सुर्यपटुवाका २२ घरका महिलाको जिवनमा नाटकीय रुपमा सकारात्मक परिवर्तन ल्याएको छ । अलिकति पैसा र दुईछाक खानको लागि दिनरात अरुको घर र खेतबारीमा पसिना बगाउने थारु महिलाले आफैँ पैसा कमाएर बचत समेत गर्न सकिन्छ भन्ने सोचेकै थिएनन् ।

‘अर्काकै खेतबारीमा काम गरेर अन्न ल्याउँथ्यौँ, पैसा त कसले दिनु ? पुरुषले  नेपालगञ्ज गएर मजदुरी गरेर कमाउँथे’ योगीले सुनाइन् । थारुको माटोको झुप्रोमा मान्छे आएर बास बस्छन् भनेर सुरुमा आफूहरूलाई विश्वासै नलागेका उनीहरू बताउँछन् ।

उनीसहित ३ जना महिला र एक जना पुरुषले आठ वर्षअघि  काठमाडौंमा  होमस्टे सम्बन्धि कार्यशालामा सहभागी भए । त्यसपछि पन्छीमा पनि होमस्टे चलाउन सकिन्छ भन्ने विश्वास बढेर आयो अनि सुरु गरे ।

panauti

होमस्टेले थारु महिलाको आर्थिकस्तर निकै उकासेको छ । पहिला आर्थिक रुपमा पुरुषमा निर्भर महिला आजभोली आफैँ आर्थिक हिसाब किताब राखेर कारोबार गर्न थालेका छन् । पन्छी योगी भन्छिन् ‘पहिला चार पैसाका लागि श्रीमानको भर पर्नुपथ्र्यो, तैपनि पुरुषहरूसँग पनि पैसा हुँदैनथ्यो ।’

घरमा कोही बिरामी पर्दा औषधी किन्ने समेत पैसा हुँदैनथ्यो,  कति बच्चा त उपचार खर्चको अभावमा औषधी नपाएर कालको मुखमा गएको उनी सम्झिन्छिन् ।

होमस्टेकै कमाइले योगीले दुई छोरा र एक छोरीलाई बोर्डिङ स्कुलमा पढाउन थालेको बताइन् । छोराछोरीलाई पढाउन भन्दा घर धन्दा र काममा लगाउने सुर्यपटुवाका थारु समुदाय अचेल सन्तानलाई पढाउनुपर्छ भन्ने कुरा तर्फ सचेत भएका छन् । सुर्यपटुवाका २१ ओटा थारु र एउटा कुमालको घरमा सञ्चालित होमस्टेमा विदेशीलाई एक रात र ३ छाक खानाको तेह्रसय र नेपालीलाई एघार सय रुपैयाँ लिने गरिएको योगीले बताइन् ।

आर्थिक रुपमा पुरुषमा निर्भर रहने महिलामाथि आजभोली पुरुष  निर्भर हुन थालेका छन् ।  ‘होमस्टेको आम्दानी र खर्चको सबै विवरण महिलालेनै राख्ने गर्छौ र आवश्यकता अनुसार परिवारको लागि खर्च गर्ने गरेका छौं, केही रकम आपतकालिन अवस्थाको लागि स्थापना गरेको कोषमा जम्मा समेत गरेका छौं’ योगीले भनिन् ।

होमस्टले  महिलालाई आत्मनिर्भरमात्रै बनाएको छैन सीप सिक्न पनि प्रोत्साहित गरेको छ । उनीहरूले पाहुनालाई स्वागत सत्कार गर्ने, खाना पकाउने र सजावटको तालिम लिएका छन् । ओझेलमा पर्दै गएको थारु संस्कृितले समेत जीवन पाएको छ ।  पहिला सामान्य मेला पर्वहरूमा मात्रै देखाइने थारु नृत्य उनीहरूले दैनिक रुपमा पाहुनालाई देखाउँदै आएका छन् ।  होमस्टेमा महिलाले झुम्रा, मजिरा र लठ्ठी नाच प्रस्तुत गर्ने गरेका छन् ।  थारुहरूको लोक परिकार गंगटा,मुसाको सेकुवा र घोँगी जस्ता परिकार पाहुनाले मन पराएको योगीले बताइन् ।

२०६७ सालमा ३१ ओटा जिल्लाका २९० होमस्टे मध्ये उत्कृष्ट  घोषणा भएर एक लाख पुरस्कार समेत पाएको डल्ला होमस्टेलाई उत्कृष्ट बनाउन  महिला कै योगदान महत्वपुर्ण रहेको स्विकार्छन् राष्ट्रिय होमस्टे एशोएिशनका उपाध्यक्ष एवंम डल्ला होमस्टे संञ्चालक समिति संयोजक परशुराम चौधरी । चौधरी भन्छन् ‘पुरुष त बाहिर देखिने मात्रै हुन्, घरमा पाहुनाको स्वागत सत्कारदेखि लिएर खाना पकाउने, खुवाउने र पाहुनालाई मनोरञ्जन प्रदान गर्ने जस्ता महत्वपुर्ण काममा महिलाले नै गर्दै आएका छन् ।’

panauti newari culter

अंग्रेजी बोल्न नजानेका कारण थारु महिलाले गतवर्ष  डल्ला पुगेका बेलायती राजकुमार ह्यारीसँग सिधै कुरा गर्न पाएनन्  । तर कमसेकम त्यत्रो ठूलो मान्छे आफ्नो घर आगनमा आउनु नै ठूलो उपलब्धि ठानेका छन्  ।

नेपाली राम्रोसँग बोल्न नजान्ने उनीहरू आजभोली फरर नेपाली बोल्न सक्ने भएका छन् । होमस्टे सुरु भएको साढे चारवर्षको अवधिमा स्वदेशी र विदेशी गरी करिब १६ हजार पाहुना आएको बताउँछिन् योगी ।

सरसफाईमा त्यति ध्यान नदिने थारु महिला होमस्टे सञ्चालनमा आएपछि सफा सुग्घर बन्न थालेका छन् ।    औपचारीक शिक्षा र पैसाकोअभावमा सँधै अरुको काम गर्दै आएका थारु महिलाका लागि होमस्टे  वरदान सावित भएको योगीको धारणा छ ।

काभ्रे जिल्ला पनौती नगरपालिकाकी काैिशला मैनालीको दिनचर्या  पनि यतिखेर फेरिएको छ । बिहान बेलुका खाना  पकाउने र दिनभरी घरमा टेलीभिजन हेरेर समय बिताउने मैनाली आजभोली हो¬मस्टेमा आउने पाहुनासँग अंग्रेजीमा कुरा गर्न व्यस्त हुन्छिन् ।

पनौती नगरपालिकामा  छ वर्षअघि स्थापना भएको पनौती कम्युनिटी होमस्टेकी अध्यक्ष समेत रहेकी मैनाली भन्छिन् ‘पहिला विना काम घरमा बसेर दिन बिताउथ्यौँ, आजभोली व्यस्त छौं,दुई चार पैसा आम्दानी पनि भएको छ ।’

नेवार समुदायको रहेको सात वटा वडाका १५ वटा घरमा सञ्चालित पनौती कम्युनिटी होमस्टे स्थानिय महिलाकै अग्रसरतामा स्थापना भएको हो । ‘महिलाले घरमा बसेर लोग्नेको कमाइमा मात्र निर्भर रहनु हुँदैन भन्ने सोचले होमस्टे सञ्चालन गरेका हौं’ मैनाली भन्छिन् ।

‘आफैँ कमाउन थालेपछि अरुको  भर पर्नु परेको छैन, तिज, दशैं जस्ता चाडपर्वमा इच्छा अनुसारले खर्च गर्न सकेका छौं’ मैनालीले सुनाइन् । महिलाले आम्दानी गर्न थालेपछि परिवारका सदस्य पनि खुसी भएका छन् । ‘मेरो कमाइले घर खर्च र छोराछोरीको स्कुल खर्च चलाउछौं, श्रीमानको कमाई बचत गर्ने गरेका छौं’ मैनाली भन्छिन् ।

घरमा बस्ने र खुलेर कुरा गर्न लजाउने त्यहाँका महिला आजभोली खुलेर आफ्ना विचार राख्न सक्ने भएका छन् ।  होमस्टेमा आउने पाहुनालाई वरपरका ठाँउको वर्णन गर्दै घुमाउन सक्ने भएका छन् । होमस्टेमा विदेशी पाहुना आउने भएकाले गत जेठमा होमस्टेले ३५ जना महिलालाई अंग्रेजी भाषाको तालिम दिएको मैनालीले बताइन् ।

अंगे्रजी भाषा सिकेपछि विदेशीसँग संवाद गर्न सहज भएको छ ।  विदेशी पाहुना आउँदा अंग्रेजी भाषा जान्ने मान्छे खोज्नु पथ्र्यो, उसलाई छुट्टै पैसा दिनुपर्ने बाध्यता थियो, आफैँले भाषा सिकेपछि सजिलो भएको छ’ मैनाली भन्छिन् ।

पाहुनाबाट होमस्टेले विदेशीलाई  दुई हजार रुपैयाँ र स्वदेशीलाई एक हजार रुपैयाँ लिने गरेको छ । ६ वर्षको अवधिमा नौ सय  विदेशी र पैँतिस जना स्वदेशी पाहुना होमस्टेमा आएका छन् ।

होमस्टेमा आउने पाहुनालाई उनीहरूले स्थानीय स्वादको खाना खुवाउने  नेवारी संस्कृति प्रदर्शन गर्ने गरेका छन् ।पनौती कम्युनिटी होमस्टेले महिलालाई सामाजिक काममा लाग्न समेत उत्प्रेरित गरेको छ । होमस्टेबाट आर्जन गरेको केही रकमले उनीहरूले भूकम्प पीडित परिवारलाई  सिमेन्ट सहयोग गरे ।  होमस्टेले महिलाको आर्थिक उन्नतिमा सहयोग पुर्‍याएसँगै सामाजिक उत्तरदायित्व समेत बढाएको उनी बताउँछिन् ।

१३ औँ शताब्दिको शहरका रुपमा परिचित पनौतीमा होमस्टे सञ्चालन हुनुअघि स्तरीय होटल नहुँदा पर्यटकहरू बास बस्न धुलिखेल वा काठमाडौं आउने गर्थे, तर अहिले  होमस्टेमै बस्न रुचाउँछन् । मैनालीको बुझाइमा पारिवारीक वातावरण र स्थानिय खानाको स्वादको लागि होमस्टे उपयुक्त भएकाले पर्यटकहरू आर्कषित भएका हुन् ।

 राष्ट्रिय होमस्टे एशोसिएशन अफ नेपालका अनुसार हाल देशभरी ३१ ओटा जिल्लामा संस्थागत, सामुदायिक र नीजि गरेर कुल २९० ओटा होम–स्टे संञ्चालनमा छन् ।   एशोसिएशनका केन्द्रिय कोषाध्यक्ष तथा सचिवालय प्रमुख सुरज बास्तोला भन्छन् ‘होमस्टेले महिलालाई स्वावलम्वी बन्न सहयोग गरेको छ, महिलाको सीप र श्रमको उचित मूल्याङकन भएको छ भने सामाजिक रुपमा महिलामाथि हुने हिसांका घटनामा समेत कमी ल्याएको छ ।’

। सरकारले २०६७ सालमा होमस्टेको विकास विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । त्यसैको फलस्वरुप २०६७ सालमै नेशनल होमस्टे एशोसिएशन  स्थापना  भएको हो ।

स्थानिय पर्यटनको स्तरोन्नती गर्दै सामाजलार्ई महिलामैत्री बनाउन होमस्टेको योगदान अतुलनीय रहेको पर्यटन  व्यवसायीहरूको धारणा  छ   ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: