यमुना खनाल
सिराह। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने राखी (रक्षाबन्धन) एवम् जनै पूर्णिमा आज देशभर आ— आफ्नै परम्परा अनुसार मनाइँदैछ।
तराईमा भने यो पर्व दाजु भाई र दिदी बहिनीबीचको आत्मियता र भातृत्व प्रेमको पर्व राखी (रक्षाबन्धन) को रुपमा विशेष हर्षउल्लासका साथ मनाईन्छ। विवाह गरेर पराई घर गएका आजका दिन छोरीचेलीहरू माईती घरमा आई आफ्ना दाजु भाईलाई हातमा राखी बाँधी दिएर मिठाइ, फलफूल खान दिने चलन छ। यसरी दिदी बहिनीले दाजुभाईको हातमा राखी बाँधिदिए पछि दाजु भाईले पनि दिदी बहिनीलाई दक्षिणा र उपहार दिने गर्दछन्। आजका दिन विवाह गरेर टाढा टाढा गएका दिदी बहिनी र काम विशेषले घर बाहिर गएका दाजुभाई दिदी बहिनी समेत घरमा आउने गर्दछन्।
आजको दिन दिदी बहिनीले दाजुभाईको सुस्वास्थ्य ,दिर्घायु, शान्ति तथा प्रगतिको कामना गरी राखी बाँधि दिने गर्दछन्। विशेष गरेर तराईमा राखीका दिन रंगीचंगी ,फूल, मोती पथ्थर र धातुले बनेका आकर्षक राखी बजारमा किन्न पाईन्छ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरीेे अत्यन्त बलशाली दानवराज बली बाँधिए, भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा चलेको शास्त्रहरूमा उल्लेख छ। बैदिक परम्परा अनुसार तराई मधेश, काठमाडौं उपत्यका, बौद्ध धर्मावलम्बीहरूले आफ्नै परम्परा अनुासर मनाउने चलन छ।
तराईमा राखी (रक्षाबन्धन) पर्वको महत्व एकातिर छोरीचेली र माईको पुनर्मिलनको पर्वको रुपमा मनाईन्छ। अर्कोतिर महिलाले यो दिन बढी प्रयोग हुने राखी र मिठाई बिक्री गरेर राम्रो आम्दानी लिने गर्दछन्। राखी पर्बको दिन यहाँ बिभिन्न परिकारका मिठाई लड्डु , पान खाने र खुवाउने चलन भएकाले आजका दिनसडक किनारमा मिठाई र राखी बिक्री गर्न महिलाहरुलाई भ्याई नभ्याई छ। राखी पर्व आउने एक हप्ता अगाडी देखि महिला मिठाई र राखी बेच्ने गर्दछन्।
Comment Here!