सर्मिला बुढाथोकी
दोलखा । दोलखा जिरी नगरपालिका मालीकी डोमा शेर्पालाई सँधै अँध्यारोले तर्साउँथ्यो । साँझ ढल्केर रात पर्दै गएपछि रक्सी खाएर आउने बाबुको व्यवहारमा परिर्वतन हुन्थ्यो र आमासँग झगडा सुरु हुन्थ्यो । अनि घरमा सँधै अशान्ति । बाबु आमाको झगडा सुरु भएपछि उनीहरू कुनामा लुक्न जान्थे ।
‘यो रक्सी कस्तो अनौठो चिज, जब पेटमा पर्छ मानिसको स्वभावै परिर्वतन गरिदिने ? अरुबेला असाध्य जाति मेरो बुबा रात परेपछि रक्सीको सुरमा आमासँग झगडा गर्नुहुन्थ्यो जसले परिवारमा विखण्डनको अवस्था बनाएको थियो’ पन्ध्र वर्षीया डोमाले विगत सम्झँदै भनिन् ।
डोमाको घरमा अहिले भने शान्ति आएको छ, त्यो पनि उनकै कारणले । कसरी त ? डोमा भन्छिन् – मैले रेडियोमा छोराछोरी समान हुन्, विभेद गर्नुहुँदैन, छोरी मानिस चाहीँ काममात्र गर्ने अनि छोरा मानिस सँधै रक्सी खाएर हल्लिदै हिँड्ने भनेर बोलें, यो कुरा मेरो बुवाले रेडियोमा सुन्नुभएछ, मेरो कुराले उहाँलाई छोएछ । त्यसपछि उहाँले रक्सी छोडनुभयो ।’
आफूले रेडियोमा बोलेकोे सुनेपछि आजभोली बुबा रक्सी खान छोडेर आमालाई काममा सघाउन तम्सिनुहुन्छ । डोमाले दोलखाको रेडियो शैलुङबाट प्रशारण हुने जीवन रक्षा बाल सुरक्षा नामक कार्यक्रममा आफ्नो समस्या राखेकी थिइन् ।
डोमा भन्छिन् – अहिले रेडियोबाट विभेद अन्त्य र रक्सी खाने बानीलगायतका खराब लत त्याग्न सबैलाई आग्रह गर्न थालेपछि मेरा आमाबुबाले मात्र होइन छिमेकीले समेत ध्यान दिएर सुन्ने गरेको र सबैलाई खराब आचरण त्याग्न प्रोत्साहित गर्ने गरेका छन् ।
दोलखा गैरीमुदीकी पन्ध्र वर्षीया सुमिता तमाङ्को पनि बाबुकै कारण परिवारमा अशान्ति हुन्थ्यो । सँधैजसो झगडा कुटपीटका कारण घरमा न पढ्ने वातवरण थियो, न खुशी नै । सुमिताले आफूले भोगेको अतित सम्झँदै भनिन् ‘बुवाले रक्सी खाएर सँधै आमालाई भकुर्नु हुन्थ्यो, छिमेकीको विषयलाई लिएर सँधै घरमा झगडा गर्नुहुन्थ्यो, तर अहिले बुबाको आनीबानीमा आएको सकरात्मक परिवर्तनले निक्कै खुशी भएकी छु ।’
दोलखा सदरमुकाम चरिकोटबाट प्रशारण हुँदै आएको रेडियो शैलुङको कार्यक्रम जीवन रक्षा बाल सुरक्षामा सुमिताले बाबुले गरेको व्यवहारले आफूलाई पढ्न मन नलाग्ने, घरमा बस्न मन नलाग्ने, सबैले हेपेको महशुस हुने जस्ता पीडा सुनाएकी थिईन् ।
उक्त कार्यक्रम सुमिताको बुबाले पनि सुनेका थिए । कार्यक्रम सुनेपछि बुबाको व्यवहारमा सकरात्मक परिवर्तन आएको उनले बताइन् । उनी भन्छिन् ‘हाम्रो परिवारको खुशीको बाधक रक्सीलाई बुबाले त्याग्नु भएको छ, त्यसैले म निकै खुशी छु ।’
बुबाले रक्सी खान खोजे रेडियोमा फेरि भनिदिन्छु भनेर तर्साउने गरेको सुमिताले बताईन् । ‘घरमा रक्सी खाएर झगडा गर्नु भयो भने सबै कुरा रेडियोबाट भन्छु भनेपछि मेरो बुबा समझदार बन्नु भएको छ’ सुमिताले भनिन् ।
गैरिमुदी कै आरती तमाङले पनि रक्सीको नकरात्मक असरबारे रेडियो मार्फत आफन्तलाई सचेत गराएको बताईन् । रेडियोमा बोलेको सुन्नेहरूले सकरात्मक व्यवहार गर्न थालेपछि निकै गर्व लागेको उनको भनाई छ ।
वल्र्ड भिजन इन्टरनेशनलको सहकार्य र सामुदायिक सूचना नेटवर्कको समन्वयमा रेडियो शैलुङबाट प्रशारण हुने जीवन रक्षा बाल सुरक्षा कार्यक्रमले समाजमा भएका विकृति अन्त्य गर्दै बालबालिकाले सामाजिक तथा पारिवारीक रुपमा भोग्नु परेको पीडा हटाउन निकै टेवा पुगेको कार्यक्रम सञ्चालक विनिता शिवाकोटीको भनाई छ । कार्यक्रमको लागि गाउँ गाउँमा सामुदायिक पत्रकार बनाईएको शिवाकोटीले बताईन । समुुदायमा अन्र्तक्रिया गराउने र आफ्नो समस्याको पहिचान बालबालिका स्वयंले गर्न सकुन् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको सिवाकोटीको भनाइ छ । कार्यक्रम सुरु गरेपछि धेरै अभिभावक बालबालिका प्रति सकारात्मक भएको प्रतिकृया प्राप्त भएको पनि शिवाकोटीले बताईन् ।
Comment Here!